सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोपमा जाहेरी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोपमा जाहेरी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध एक किशोरीले जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । पीडितका तर्फबाट क्रिकेटर लामिछानेविरुद्ध मंगलबार काठमाडौं प्रहरी परिसरमा जाहेरी परेको हो ।

फाइल तस्बिर

नेपाली टोलीको नेतृत्व गर्दै लामिछाने केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङखला खेल्न भदौ ६ गते राजधानी नैरोबीतर्फ प्रस्थान गरेका थिए । त्यसको अघिल्लो रात लामिछानेले आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी हुन् । लामिछानेविरुद्ध उजुरी परेको प्रहरी उच्च स्रोतले पुष्टि गर्‍यो ।

‘लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा पीडितका तर्फबाट उजुरी दर्ता भएको छ, उजुरीमाथि प्रहरीले अनुसन्धान अघि बढाइसकेको र यस विषयमा अहिले बाहिर केही उल्लेख गर्न मिल्दैन,’ प्रहरीका एक उच्च अधिकारीले भने ।

तर, यो विषय प्रारम्भिक अनुसन्धान भइरहेको भन्दै प्रहरीका कुनै पनि अधिकारी औपचारिक रूपमा बोल्न मानेनन् । आफूले स्न्याप च्याटमार्फत एक प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको र त्यसकै आधारमा भेट्न बोलाएर भदौ ५ मा नगरकोट घुमाउन लागेको पनि पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छन् ।

नगरकोटबाट त्यही रात फर्किएर तिलगंगा क्षेत्रको एक होटलमा लगेर आफूलाई लामिछानेले जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । लामिछाने हाल क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् ।

उनी केन्यासँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङखलापछि क्यारेबियन प्रिमियर लिग खेल्न त्यसतर्फ लागेका थिए । उनले केन्यासँगको एकदिवसीय शृङखला भने खेलेका थिएनन् ।

इन्डियन प्रिमियर लिग, बिग ब्यास लिगजस्ता फ्रेन्चाइज प्रतियोगिता खेलेर ग्लोबल स्टार बनेका लामिछाने जनवरीयता नेपाली राष्ट्रिय टोलीका कप्तान छन् । उनी सन् २०१६ देखि नेपाली टोलीबाट लगातार खेल्दै आएका छन् ।

प्रकाशित : भाद्र २२, २०७९ ०१:१०
प्रतिक्रिया
पठाउनुहोस्

श्रीलंकाले भारतलाई ६ विकेटले हरायो

भारत लगभग 'बाहिरियो'
कान्तिपुर संवाददाता

काठमाडौँ — एसिया कप क्रिकेटको सुपर फोर प्रतियोगितामा भारतले आफ्नो दोस्रो खेलमा पनि हार बेहोरेको छ । मंगलबार भएको खेलमा भारतलाई श्रीलंकाले ६ विकेटले हराएको हो। यो हारसँगै भारतलाई फाइनल पुग्न निकै कठिन हुने भएको छ । 

भारतले दिएको १७४ रनको लक्ष्य श्रीलंकाले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक ५७ रन बनाए । त्यस्तै पथुम निसंकाले ५२ रनको योगदान गरे । त्यसैगरी दासुन शनाका र भानुका राजापक्षले नटआउट रहँदै क्रमश: ३३ र २५ रन बनाए । भारतका लागि युजवेन्द्र चहलले ३ र रविचन्द्रन अश्वीनले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ७२ रन बनाए । ४१ बलमा उनले ५ चौका र ४ छक्काको मद्दतमा उक्त योगफल बनाएका हुन् ।

त्यस्तै सूर्यकुमार यादवले ३४ रन बनाउँदा ऋषभ पन्त र हार्दिक पाण्डयाले भने १७/१७ रन बनाए । पूर्वकप्तान विराट कोहली भने शून्यमै पेभेलियन फर्किएका थिए ।

श्रीलंकाका लागि दिलशान मदुशंकाले सर्वाधिक ३ विकेट लिए । त्यस्तै चमिका करुणारत्ने र दासुन शनाकाले २/२ विकेट लिए भने महेश थीक्सानाको नाममा १ विकेट रह्यो ।

भारत यसअघि सुपर फोरको आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । समूह चरणको खेलमा भने भारतले पाकिस्तानलाई ५ विकेटले नै हराएको थियो ।

सुपर ४ अन्तर्गत शीर्ष २ स्थानमा रहने टिमले फाइनल खेल्नेछन् । भारतले अब बिहीबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै पाकिस्तानले बुधबार अफगानिस्तान र शुक्रबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

सुपर ४ मा श्रीलंका २ खेल जित्दै ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै पाकिस्तान २ अंकसहित दोस्रो स्थानमा छ । अफगानिस्तान पनि सुपर फोरको आफ्नो पहिलो खेलमा श्रीलंकासँग पराजित भएको थियो ।

पाकिस्तान र अफगानिस्तानबीचको नतिजाले नै भारत बाहिरिने वा नबाहिरिने टुंगो लाग्नेछ । यदि उक्त खेल पाकिस्तानले जितेमा भारतलाई झिनो आशा बाँकी रहनेछ । यदि पाकिस्तानले जितेमा भारत बाहिरिनेछ । त्यस्तै श्रीलंकाले पनि पाकिस्तानलाई हराएको अवस्था र भारतले अफगानिस्तानलाई जितेको अवस्थामा मात्रै उसको फाइनल पुग्ने सम्भावना रहन्छ ।

प्रकाशित : भाद्र २१, २०७९ २३:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×