अयोध्याबारे ओलीको फेरियो बोली- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अयोध्याबारे ओलीको फेरियो बोली

कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले राम जन्मभूमि अयोध्याको बारेमा आफूले गर्दै आएको दाबीलाई शास्त्र र तथ्यले अन्यथा भन्छ भने स्वीकार्न तयार रहेको बताएका छन् । उनले अयोध्याको विषय आफूले पोलिटिकल स्टन्टका लागि नउठाएको भन्दै इतिहासको यथार्थलाई उजागर गरेको बताए ।

‘राम जन्मेकै अयोध्या (माडी) मा हो, डेढ सय वर्षअघि मात्रै अंग्रेजहरूले त्यहाँका हिन्दु र मुसलमानलाई खुसी पार्नका लागि एकातर्फ फैजावाद र अर्कोतर्फ अयोध्या भने,’ उनले भने, ‘यो सत्यतथ्यलाई मैले खाली उजागर गरेको हुँ । यदि शास्त्र र तथ्यले अर्को भन्छ भने म त्यस विषयमा ओपन नै छु । मेरो कुनै आग्रह होइन, इतिहासलाई यथार्थ ढंगले चलाउनुपर्‍यो । यो प्रश्न पोलिटिकल स्टन्टसँग जोडिएको प्रश्न होइन । इतिहास र सभ्यतासँग जोडिएको प्रश्न हो ।’

ओलीले यसअघि राम नेपालमा जन्मिएको र अयोध्या चितवनको माडी क्षेत्रमा रहेको दाबी गर्दै आएका थिए । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का नेताहरूले ओलीको भनाइप्रति असन्तुष्टि जनाउँदै आएका छन् । राम जन्मभूमिको विषय भारतीय राजनीतिको प्रमुख मुद्दा बन्दै आएको छ । ओली प्रधानमन्त्री हुँदा माडी क्षेत्रका लागि विशेष बजेटसमेत छुट्याएका थिए ।

कार्यक्रममा अध्यक्ष ओलीले अहिलेको सरकार भारतले अतिक्रमण गरेको आफ्नो भूभाग फिर्ता ल्याउने विषयमा पनि गम्भीर नभएको आरोप लगाएका थिए । ‘गुमेको भूभाग समेटेर मैले आफ्नो नक्सामा सार्वजनिक गरें, त्यो भूभाग ६० वर्षअघि गुमेको हो । अहिले गुमेको होइन नि । मैले नक्सा बनाएर, संविधान संशोधन गरेर आफ्नो भूभागको रूपमा स्थापित गरें,’ उनले भने, ‘भारतसँग हामीले कुरा गर्नुपर्छ तर अहिलेको सरकार त्यस विषयमा बोल्ने पनि हिम्मत गर्दैन । त्यो भूभाग हाम्रो होइन भने होइन भन्नुपर्‍यो, हो भने वार्ता गर्न सक्नुपर्‍यो । भारत सरकारलाई पत्र लेख्नुपर्‍यो, हामी कुरा गर्छौं भन्नुपर्‍यो । के हो अहिलेको सरकारको दृष्टिकोण ? मौनधारण किन ?’

प्रकाशित : भाद्र २७, २०७९ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्

म्याथ्युजले विराटनगर र हफिजले पोखराबाट खेल्ने

दाजुभाइ आरिफ र आसिफ शेख एकै टोलीमा
कान्तिपुर संवाददाता

काठमाडौँ — श्रीलंका र पाकिस्तानका पूर्वकप्तान क्रमशः एन्जेलो म्याथ्युज र मोहम्मद हफिजले नेपाल टी–२० लिग खेल्ने भएका छन् । आइतबार भएको ड्राफ्टमा दुवै विदेशी खेलाडी ‘ए’ समूहबाट छनोट भएका हुन् ।

भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग साझेदार गर्दै सेप्टेम्बर २४ देखि अक्टोबर २२ सम्म आयोजना गर्न लागेको नेपालको प्रमुख ट्वान्टी–२० प्रतियोगितामा हफिजलाई पोखरा एभेन्जर्स र म्याथ्युजलाई विराटनगर सुपर किंग्सले लिएको हो । विदेशी खेलाडीको ‘ए’ समूहमा पर्नेको पारिश्रमिक ४० हजार डलर रहेको छ ।

आइतबारको ड्राफ्टबाट कुल ३३ खेलाडी छनोट भएका छन् । विदेशी खेलाडीको समूह ‘बी’ मा पर्नेले २० हजार र ‘सी’ मा पर्नेले १२ हजार ५ सय डलर पाउने प्रावधान थियो । विदेशी खेलाडीका लागि सबै ६ फ्रेन्चाइज टोलीले १ लाख १० हजार डलरसम्म खर्च गरेका छन् । काठमाडौं गोर्खाजले विदेशी प्रमुख खेलाडीमा श्रीलंकाका थिसारा परेरा, सन्डुन विराकोडी र धनञ्जय विराकोडीलाई लिएको छ ।

नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल मार्की खेलाडी रहेको काठमाडौंमा लोकेश बम, अविनाश बोहरा, कमलसिंह ऐरी, बसिर अहमद, सौरभ खनाल, अनिल खरेल, सन्दीप रजाइली, सन्तोष कार्की, सुनाम गौतम र गौतम केसी छन् । त्यस्तै मलेसियाका वीरनदीप सिंहले पनि काठमाडौंबाट खेल्ने छन् ।

पोखरा एभेन्जर्सले शरद भेषावकर, कुशल मल्ल, प्रतिश जीसी, आरिफ शेख, तुलबहादुर थापा, विशालविक्रम केसी, कृष्ण कार्की, विपिन खत्री, सुमित महर्जनलाई लिएको छ । टोलीको मार्की खेलाडीमा आसिफ शेख छन् । रोहित पौडेल मार्की खेलाडी रहेको विराटनगर सुपर किंग्समा अर्जुन साउद, नन्दन यादव, विवेककुमार यादव, साहब आलम अमरसिंह रौटेला, नारायण जोशी, सूर्य तामाङ, प्रदीपसिंह ऐरी, पृथु बाँस्कोटा, रिजन ढकाल रहेका छन् ।

दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको दीपेन्द्रसिंह ऐरी मार्की लुम्बिनी अलस्टारमा, अनिलकुमार शाह, कुशल भुर्तेल, गुल्सनकुमार झा, सागर ढकाल, योगेन्द्रसिंह कार्की, किशोर महतो, तिलकराज भण्डारी, सुनिल धमला, आकाश चन्द, इशान पाण्डे छन् ।

ट्वान्टी–२० का हटकेट मोहम्मद आदिल अलाम जनकपुर रोयल्सबाट खेल्ने छन् । सोमपाल कामी मार्की खेलाडी रहेको जनकपुरमा सन्दीप जोरा, दिलिप नाथ, ललित राजवंशी, सुसन भारी, सागर पुन, पवन सर्राफ, जितेन्द्र मुखिया, खडक बोहरा, राजेश पुलामी छनोट भएका छन् ।

फार वेस्टर्न युनाइटेडमा करण केसी (मार्की) , विनोद भण्डारी, भीम सार्की, देव खनाल, रसिद खान, दुर्गेस गुप्ता, हरिशंकर शाह, शेर मल्ल, वसन्त कार्की, प्रकाश जैशी, हसिम अन्सारी छन् ।

नेपाली खेलाडी तर्फ पोखरा बाहेक सबैले ‘ए’ समूहबाट १, ‘बी’ समूहबाट ४ र ‘सी’ बाट ६ खेलाडी लिएका थिए । समूह ‘ए’ मा रहनेले १५, समूह ‘बी’ मा रहनेले १० र समूह ‘सी’ मा रहनेले ५ लाख पाउने छन् । आसिफलाई मार्की खेलाडी बनाएको पोखराले अघिल्लो दिन नै समूह ‘ए’ बाटै शरद भेषावकरलाई उठाएको थियो । रााष्ट्रिय टोलीका विकेटकिपर सुवास खकुरेललाई ड्राफ्टमा कसैले लिएनन् । उनी ड्राफ्टको ‘ए’ समूहमा थिए ।

प्रकाशित : भाद्र २७, २०७९ ०७:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×