संवैधानिक आयोगमा मैले कार्यकर्ता भर्ती गरेको होइन : ओली- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संवैधानिक आयोगमा मैले कार्यकर्ता भर्ती गरेको होइन : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगमा आफ्ना पार्टीका कार्यकर्ता भर्ती गरेको आरोप गलत भएको दाबी गरेका छन् ।

आइतबार कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित तेस्रो कान्तिपुर कन्क्लेभको दोस्रो दिनको समापन सत्रको ‘नीति, थिति र राजनीति’ शीर्षकमा बोल्दै अध्यक्ष ओलीले आफूले संवैधानिक आयोगमा नियुक्त भएका ५२ जना सबैलाई आफूले नचिनेको समेत दाबी गरे ।

‘मैले संवैधानिक आयोगहरूमा राजनीतिक पार्टीका क्याडरलाई भर्ती गरेको होइन, म त त्यहाँ नियुक्त भएका मान्छे चिनेको पनि होइनन् । अरु सरकारले जे सुकै गरे पनि ठिक हुने; मेरो नेतृत्वको सरकारले जे गरे पनि गलत हुने कसरी हुन्छ ?,’ उनले भने, ‘मेरो सरकारले ५२ जना गरेछ; त्यो रिक्त भएर त गरेको होला, कसैलाई जबरजस्ती हटाएर गरेको पनि होइन । त्यो सम्मानित सर्वोच्च अदालतले पनि बुझ्नुपर्ने कुरा हो ।’

उनले आवश्यकताको सिद्धान्तमा आधारित भएर त्यो बेला सरकारले संवैधानिक आयोगहरूमा रिक्त पदहरूमा नियुक्ति गरेको दाबी गरे ।

उनले आफूले ल्याएको अध्यादेशमा समेत त्यस्तै व्यवहार भएको बताए । ‘केपी ओलीको नेतृत्वको सरकारले ल्याएको अध्यादेश गलत हुने, फेरि अर्को सरकारले ल्याएको अध्यादेश गलत नहुने ? यस्तो कसरी हुन्छ ? त्यो अध्यादेश संविधानसम्मत हो कि होइन ? त्यो अध्यादेश ल्याउँदाको परिस्थिति खडा गरिएको परिस्थिति हो कि समाधान गर्न ल्याइएको हो भनेर हेरिन्छ कि हेरिँदैन ?’ उनले भने ।

प्रकाशित : भाद्र २६, २०७९ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्

एम. अधिकारी खोजे हुन्छ, म टर्चको ब्याट्री किनिदिन्छु : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले  न्यायाधीश, संवैधानिक आयोगका पदाधिकारीदेखि गभर्नरसम्म राजनीतिक दलमा आबद्ध व्यक्ति राख्ने गरिएको स्वीकार गरेका छन् । उनले एमाले अर्थ तथा योजना विभागको सदस्य एम. अधिकारी को हो भन्ने खोज्नका लागि चुनौती पनि दिएका छन् । 

आइतबार कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित तेस्रो कान्तिपुर कन्क्लेभको दोस्रो दिनको समापन सत्र ‘नीति, थिति र राजनीति’ विषयमा बोल्दै ओलीले अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरेको अनियमिततालाई लुकाउनका लागि एमालेको अर्थ विभागका एम. अधिकारीको प्रसंग सत्तापक्षले झिकेको पनि आरोप लगाए ।

'खोजे हुन्छ; एम. अधिकारी कहाँ छ ? म टर्चको ब्याट्री किनिदिन्छु । एम. अधिकारी को हो म पनि जान्दिनँ,' उनले आफ्नै अर्थ तथा योजना विभागको सदस्य नचिन्ने पनि बताए ।

एमाले केन्द्रीय विभागमा एम. अधिकारी सदस्य भएको सार्वजनिक भएको थियो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै एम. अधिकारी भएको सार्वजनिक बहसमा आएको थियो । २०७३ सालमा महाप्रसाद अधिकारी एमालेको उक्त विभागको सदस्यमा थिए ।

खोटाङका अधिकारी छोटकरी नाम उल्लेख गरेर पार्टीको केन्द्रीय विमागमा बसेको भनेर आलोचना भएको थियो । एमाले अध्यक्ष ओलीले भने आफूले पनि एम. अधिकारीलाई नचिन्ने भन्दै खोज्ने भए टर्चको ब्याट्री किनिदिने भन्ने जवाफ दिनुका साथै विगतमा र अन्य निकायमा पनि त्यस्ता व्यक्ति रहेको उल्लेख गरेका छन् ।

ओलीले अहिलेसम्मका गभर्नरहरू, मानवधिकार आयोगका आयुक्तहरू, न्यायाधीशहरू राजनीतिक दलमा आबद्ध व्यक्ति भएको बताए । उनले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, राष्ट्रिय सभा अध्यक्ष पनि राजनीतिक दलका भएकाले त्यस्तो भूमिका निर्वाह हुन नसेकको बताए ।

एउटा पार्टीको केन्द्रीय विभागमा रहेको व्यक्ति सोझै न्यायाधीश सिफारिस गरिएको भन्दै उनले एम. अधिकारीबारे अनावश्यक चर्चा भएको बताए । उनले सर्वोच्च अदालतको न्यायाधीश कुन-कुन राजनीतिक पृष्ठभूमिका छन् भन्ने कुरा स्पष्ट रहेको पनि बताए ।

प्रकाशित : भाद्र २६, २०७९ १८:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×