एम. अधिकारी खोजे हुन्छ, म टर्चको ब्याट्री किनिदिन्छु : ओली- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एम. अधिकारी खोजे हुन्छ, म टर्चको ब्याट्री किनिदिन्छु : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले  न्यायाधीश, संवैधानिक आयोगका पदाधिकारीदेखि गभर्नरसम्म राजनीतिक दलमा आबद्ध व्यक्ति राख्ने गरिएको स्वीकार गरेका छन् । उनले एमाले अर्थ तथा योजना विभागको सदस्य एम. अधिकारी को हो भन्ने खोज्नका लागि चुनौती पनि दिएका छन् । 

आइतबार कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित तेस्रो कान्तिपुर कन्क्लेभको दोस्रो दिनको समापन सत्र ‘नीति, थिति र राजनीति’ विषयमा बोल्दै ओलीले अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरेको अनियमिततालाई लुकाउनका लागि एमालेको अर्थ विभागका एम. अधिकारीको प्रसंग सत्तापक्षले झिकेको पनि आरोप लगाए ।

'खोजे हुन्छ; एम. अधिकारी कहाँ छ ? म टर्चको ब्याट्री किनिदिन्छु । एम. अधिकारी को हो म पनि जान्दिनँ,' उनले आफ्नै अर्थ तथा योजना विभागको सदस्य नचिन्ने पनि बताए ।

एमाले केन्द्रीय विभागमा एम. अधिकारी सदस्य भएको सार्वजनिक भएको थियो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै एम. अधिकारी भएको सार्वजनिक बहसमा आएको थियो । २०७३ सालमा महाप्रसाद अधिकारी एमालेको उक्त विभागको सदस्यमा थिए ।

खोटाङका अधिकारी छोटकरी नाम उल्लेख गरेर पार्टीको केन्द्रीय विमागमा बसेको भनेर आलोचना भएको थियो । एमाले अध्यक्ष ओलीले भने आफूले पनि एम. अधिकारीलाई नचिन्ने भन्दै खोज्ने भए टर्चको ब्याट्री किनिदिने भन्ने जवाफ दिनुका साथै विगतमा र अन्य निकायमा पनि त्यस्ता व्यक्ति रहेको उल्लेख गरेका छन् ।

ओलीले अहिलेसम्मका गभर्नरहरू, मानवधिकार आयोगका आयुक्तहरू, न्यायाधीशहरू राजनीतिक दलमा आबद्ध व्यक्ति भएको बताए । उनले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, राष्ट्रिय सभा अध्यक्ष पनि राजनीतिक दलका भएकाले त्यस्तो भूमिका निर्वाह हुन नसेकको बताए ।

एउटा पार्टीको केन्द्रीय विभागमा रहेको व्यक्ति सोझै न्यायाधीश सिफारिस गरिएको भन्दै उनले एम. अधिकारीबारे अनावश्यक चर्चा भएको बताए । उनले सर्वोच्च अदालतको न्यायाधीश कुन-कुन राजनीतिक पृष्ठभूमिका छन् भन्ने कुरा स्पष्ट रहेको पनि बताए ।

प्रकाशित : भाद्र २६, २०७९ १८:११
प्रतिक्रिया
पठाउनुहोस्

मञ्जुश्री पेट्रोल पम्पमा ललितपुर महानगरको सिल

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुर महानगरपालिकाले लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्पमा सिल लगाएको छ । आइतबार ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जन, प्रशासकीय प्रमुख गणेश अर्याल, वडा नम्बर १२ का वडाध्यक्ष नारायण अवालेलगायतको उपस्थितिमा नगर प्रहरीले पेट्रोल पम्पमा सिल लगाएको हो ।

पम्पको छाना भत्काएर तारजालीसमेत लगाएको छ । मञ्जुश्री पेट्रोल पम्प पञ्चायतकालदेखि नै सार्वजनिक जग्गामा सञ्चालनमा आएको र हटाउन प्रक्रियागत रुपमा पटकपटक पत्राचार गरेको भए पनि अटेर गरेपछि सिल लगाउन बाध्य भएको ललितपुर महानगरप्रमुख महर्जनले जानकारी दिए ।

‘अघिल्लो कार्यकाल (तीन वर्षअघि) मा नै उक्त पेट्रोल हटाउने प्रक्रिया थालेको हो,’ महानगरप्रमुख महर्जनले भने, ‘पछिल्लोपल्ट १० दिनको म्याद राखेर पेट्रोल पम्म हटाउन पत्राचार गर्यौं, अटेर गरेपछि फिल्डमा उत्रिन बाध्य भयौं ।’ महानगरले ६ महिनादेखि भाडासमेत नलिएको महर्जनले बताए ।

ललितपुर महानगरले दसैंपछि महानगरभित्र बनेका अनधिकृत संरचना प्रक्रियागत रुपमा हटाउने जनाएको छ । ‘अनधिकृत संरचनाको विवरण संकलन भइरहेको छ,’ महानगरप्रमुख महर्जनले भने,‘दसैं लगत्तै प्रक्रियागत रुपमा मापदण्ड विपरीतका संरचना हटाउने अभियान थाल्छौं, महानगरले हतारमा निर्णय नगरी प्रक्रियागत रुपमा अघि बढ्नेछ ।’

प्रकाशित : भाद्र २६, २०७९ १८:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×