नेपालमा प्रधानमन्त्री कहाँबाट बन्छ थाहै हुँदैन : ओली- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमा प्रधानमन्त्री कहाँबाट बन्छ थाहै हुँदैन : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रधानमन्त्री कहिले कहाँबाट बन्छ भनेर थाहै नहुने गरेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित तेस्रो कान्तिपुर कन्क्लेभको दोस्रो दिन आइतबार ‘नीति, थिति र राजनीति’ विषयक समापन सत्रमा बोल्दै अध्यक्ष ओलीले नेपाली राजनीतिमा राजनीतिक थिति र संस्कृतिको विकास हुन नसकेको बताए ।

उनले विकसित मुलुक अमेरिकाको राजनीतिसँग तुलना गर्दै थिति भएको राजनीतिसँग बेथितियुक्त मुलुकको राजनीतिको तुलना नहुने बताए । ‘अमेरिकामा एउटा सिस्टम छ, त्यहाँ एक पटक राष्ट्रपति भएको व्यक्ति आठ वर्षसम्म रहन्छ । तर, हामी कहाँ थिति छैन । यहाँ शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री हुनुभयो, तर चार वर्ष पनि चलाउनुभएको छैन होला,’ ओलीले भने, ‘त्यसको अर्थ के हो भने यहाँ सिस्टम छैन । यहाँ धक्कम् धक्का छ; मुक्कम् मुक्का छ । यहाँ परमादेश छ । अमेरिकामा परमादेशबाट राष्ट्रपति बनेको छैन; चुनावबाट आएको छ । तर हामी कहाँ कार्यकारी प्रधानमन्त्री कहिले कहाँबाट बन्छ ? थाहै हुँदैन ।’

उनले नेपाली राजनीतिमा राजनीतिक व्यवस्थाभित्रको व्यवस्थापन विकसित हुन नसकेको बताए । ‘हाम्रो मुलुकमा एउटा संस्कारको राजनीति, देश र जनताप्रति समर्पित राजनीतिको थिति बसाउन सकिएन, जुन एकदमै आवश्यक छ,’ उनले भने ।

प्रकाशित : भाद्र २६, २०७९ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्

भावनाले होइन, सुझबुझपूर्ण कुराहरूले देश बन्छ : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्रका नाममा मुलुकमा भावनात्मक कुराले प्रचार पाइरहेको बताएका छन् । उनले भावनात्मक कुराले भन्दा पनि सुझबुझपूर्ण रूपमा देशको नेतृत्व गर्नुपर्ने धारणा राखे । 

कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित तेस्रो कान्तिपुर कन्क्लेभको दोस्रो दिन आइतबार ‘नीति, थिति र राजनीति’ विषयमा बोल्दै ओलीले मुलुकको समग्र प्रतिनिधित्व स्वतन्त्र व्यक्तिहरूले नगर्ने भएकाले राजनीतिक दलको आवश्यकता पर्ने तर्क गरे ।

'कतिपय कुराहरू अहिले नेपालमा भावनात्मक ढंगले चलिरहेको छ । भावनात्मक कुराले देश बन्दैन, सुझबुझपूर्ण कुराहरूले देश बन्छ । युवाहरूलाई अगाडि बढाउनुपर्छ; महिला अगाडि बढाउन अवसर बढाउनुपर्छ । शिक्षाको तहदेखि अवसरसम्म पुग्ने व्यावहारिक रूपमा अवसरमा पुग्ने वातावरण दिनुपर्छ । प्रतिस्पर्धी क्षमताको विकास गर्नुपर्छ । यो उठाएको, बोकेको भरमा पुग्दैन । जगदेखि त्यसको समय लाग्छ,' उनले भने ।

समग्र देशको समस्या हेर्न सक्ने, समस्या बुझ्नसक्ने नेतृत्वका लागि दलीय व्यवस्था चाहिएको ओलीको भनाइ थियो । एकाध स्वतन्त्र व्यक्तिले निर्वाचन जित्दैमा मुलुकको समग्र प्रतिनिधित्व हुन नसक्ने उनले बताए ।

स्वतन्त्रले मुलुकको समग्र राजनीतिक नेतृत्व हुन नसक्ने उनले भने । 'स्वतन्त्रले अपवाद रुपमा जितेका हुन् । चुनावमा यस्तो कुरा भइरहन्छ । सिंगो देशका सबै पक्षलाई समट्नेका लागि दलीय व्यवस्था ल्याएको हुन्छ । दल सबै क्षेत्रलाई समेट्नका लागि चाहिन्छ,' उनले भने, 'स्वतन्त्र व्यक्तिलाई जित्न सक्छन् ।'

प्रकाशित : भाद्र २६, २०७९ १७:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×