कान्तिपुर कन्क्लेभ शनिबारदेखि

भाद्र २४, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले आयोजना गरेको ‘कान्तिपुर कन्क्लेभ’को तेस्रो संस्करण शनिबारबाट सुरु हुँदै छ । देशको आर्थिक र सामाजिक उन्नति तथा रूपान्तरणका विविध विषयमा देशभित्र र बाहिरका विज्ञहरूबीच सघन विमर्श हुनेछ ।

‘बियोन्ड एक्सपेक्टेसन्स : बियोन्ड बाउन्ड्रिज’ अवधारणामा दुई दिन सञ्चालन हुने कन्क्लेभमा नेपाल, दक्षिण एसिया, दक्षिण–पूर्वी एसिया र युरोपका ५३ जना प्रबुद्ध व्यक्तिहरू वक्ताका रूपमा सहभागी छन् । यो मञ्चमा राजनीति, भूराजनीति तथा अर्थ कूटनीति, अन्तरदेशीय ऊर्जा प्रसारण तथा व्यापार, जलवायु परिवर्तन, अर्थतन्त्रको उपचार, गीत–संगीतसम्बन्धी १२ सत्रमा संवाद हुँदै छ ।

कार्यक्रमको उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, भारतका तत्कालीन प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन र निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेल मुख्य वक्ता छन् । उद्घाटन समारोहपछि जलवायु परिवर्तन, डिजिटल रूपान्तरण, अन्तर्देशीय ऊर्जा प्रसारण तथा व्यापार, नेपाल र विश्व तथा विश्व समुदायमा नेपालको ‘सफ्ट पावर’ विषयमा बहस हुनेछन् । विदेशी वक्ताहरू पनि सहभागी हुने भएकाले पहिलो दिनका सबै सत्र अंग्रेजी भाषामा सञ्चालन हुनेछन् ।

दोस्रो दिनका सबैजसो सत्र नेपाली भाषामा हुनेछन्, जसको उद्घाटन सत्रमा विकास अर्थशास्त्री महेन्द्र पी लामा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले भूराजनीति तथा आर्थिक कूटनीतिको विषयमा बहस गर्नेछन् । त्यसपछि सार्वजनिक संवादको शैली, अर्थतन्त्रको उपचार : आयात निषेध कि निर्यात वृद्धि ?, संगीतको सिमाना, नेतृत्वमा महिला, अब पहिलालगायत  शीर्षकहरूमाथि बहस हुनेछ । अन्तिम तथा समापन सत्रमा पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली सहभागी हुनेछन् । ‘यी सबै सत्रमा समस्याका पृष्ठभूमि मात्र होइन, समाधानका मार्गचित्रबारे पनि छलफल हुनेछ,’ केएमजीले भनेको छ ।

सन् २०१९ मा सुरु भएको यो ‘इभेन्ट’को दोस्रो संस्करण २०२० मा भएको थियो । महामारीले स्थगन भएको तेस्रो संस्करण बृहत् र थप प्रभावकारीरूपमा हुने केएमजीले जनाएको छ । ‘नेपाल र नेपालीलाई विश्व समुदायसँग जोड्ने उद्देश्यले कान्तिपुर कन्क्लेभ सुरु गरिएको हो,’ केएमजी व्यवस्थापनले भनेको छ । 

कार्यक्रम केएमजीअन्तर्गतका सञ्चारमाध्यमहरू कान्तिपुर दैनिक, काठमान्डु पोस्ट, नारी, ई–कान्तिपुर, कान्तिपुर टेलिभिजन र रेडियो कान्तिपुरबाट प्रकाशन तथा प्रसारण हुनेछ ।

कान्तिपुर कन्क्लेभ २०२२

कान्तिपुर

Link copied successfully