बजेट निर्माणमा बिचौलिया प्रयोगबारे ओलीले मागे संसदीय छानबिन

असार २०, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणमा बिचौलिया प्रयोग गरिरएको घटना छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका छन् । प्रतिनिधि सभामा सोमबार सम्बोधन गर्दै उनले बजेट निर्माणमा बाहिरिया व्यक्ति प्रवेश गरेको भन्ने विषयसँग सम्बन्धित सीसीटीभी फुटेजसमेत सार्वजनिक गर्न माग गरेका छन् ।

अर्थ मन्त्रालयले सीसीटीभी फुटेज नै नरहेको भन्ने सार्वजनिक गरिरहेको र अर्थमन्त्रीले एमालेले भन्दैमा फुटेज देखाइन्न भनिरहेका बेला एमाले अध्यक्ष ओलीले यस्ता अभिव्यक्ति गैरजिम्मेवार खालको भएको टिप्पणी गरे । 

'यस विषयमा संसदीय छानबिन समिति बनाउँ । यसमा छानबिन हुनैपर्छ । यसरी बाहिरका बिचौलिया प्रयोग गरेर बजेट बनाउने कुरा कल्पना गर्न पनि सकिँदैन‚' प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ‌ओलीले भने,' योभन्दा बढी राष्ट्रको अर्थतन्त्र ध्वस्त पार्ने तमासा के हुन्छ ?'

उनले मन्त्रीहरूले अनेक गर्दा पनि प्रधानमन्त्री निरीह भएर बसिरहेको आरोप लगाए । उनले कुनै अधिकारीले जिम्मेवारी नलिए प्रधानमन्त्रीय प्रणाालीमा प्रधानमन्त्री नै जिम्मेवार हुने उल्लेख गरे । 

'अहिले मेरो नेतृत्वको सरकार र मन्त्रीले जे पनि गर्न पाउँछन् भनेर  प्रधानमन्त्री बस्न मिल्दैन‚' ओलीले भने, 'संसदीय प्रणालीमा यसको प्रमुख प्रधानमन्त्री हुन्छ । यस्ता कुरामा अरु जवाफदेही भएनन् भने प्रधानमन्त्री जवाफदेही हुनुपर्छ ।

उनले बजेटमा सेटिङ गरेर करको दर बढाउने-घटाउने गरिएको बताए ।

अर्थमन्त्री शर्मा प्रकरण

कान्तिपुर

Link copied successfully