एसपीपीबारे सत्यतथ्य पत्ता लगाउन समिति बन्नुपर्छ : पोखरेल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसपीपीबारे सत्यतथ्य पत्ता लगाउन समिति बन्नुपर्छ : पोखरेल

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेका वरिष्ठ अध्यक्ष तथा सांसद ईश्वर पोखरेलले एसपीपीबारे सत्यतथ्य पत्ता लगाउन समिति गठनको माग गरेका छन् । प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा पूर्वउपप्रधान तथा रक्षामन्त्री पोखरेलले एसपीपीबारे कुन मितिमा कसले के गरेका थिए भन्नेबारे स्पष्ट पार्न समिति गठनको माग गरेका हुन् ।

एमाले सांसद भीम रावल र कांग्रेस सचेतक पुष्पा भुसालले सन् २०१९ मा नेपाल एसपीपीमा सहभागी भएको र त्यतिबेला प्रधानमन्त्री र रक्षामन्त्रीको जिम्मेवारीमा को थियो भन्ने प्रश्नको जवाफमा पोखरेलले उक्त माग गरेका हुन् । 'आउने दिनमा यस्तो तलवितल नहोस् भनेर समिति बन्नुपर्छ । कसको पालामा के भएको थियो भन्ने जान्न समिति बन्नु जरुरी छ,' समिति सभापति पवित्रा निरौला खरेलसँग पोखरेलको माग थियो ।

एसपीपीबारे कुन सरकार र मन्त्रीका पालामा के काम तथा पत्राचार भएका थिए भन्ने समयक्रम स्पष्ट पार्नुपर्ने पोखरेलको भनाइ थियो । 'एसपीपीको क्रोनोलोजीबारे समितिले थाहा पाउनुपर्छ र एसपीपीबारे थाहा पाउनुपर्छ । समितिमा जे मनमा लाग्यो त्यही भनिएको छ र,' उनले भने ।

पोखरेलले १० सेप्टेम्बर २०१५ मा जंगी अड्डाले रक्षा मन्त्रालयलाई एसपीपी सहभागिताका लागि पत्र पठाएको त्यसको २० दिनपछि तत्कालीन प्रधानमन्त्री तथा रक्षामन्त्री सुशील कोइरालाले स्वीकृति दिएको र सोही आधारमा ओली नेतृत्वमा सरकार बनेपछि सेनाले अमेरिकी दूतावासलाई पत्र लेखेको दाबी गरे ।

सन् २०१९ मा एसपीपीलाई आईपीएस सैन्य गठबन्धनमा जोडेपछि सचिवकै नेतृत्वमा समिति गठन गरेको र संलग्न नहुने बताए ।

प्रकाशित : असार ३, २०७९ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्

मर्स्याङ्दी-काठमाडौं प्रसारण लाइन आयाेजना सम्पन्न

काठमाडौं उपत्यकामा विद्युत् प्रवाहका लागि लाइफ लाइन आयोजना : प्राधिकरण 
कान्तिपुर संवाददाता

काठमाडौँ — मर्स्याङ्दी  नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौ उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन सम्पन्न भएको छ । तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट काठमाडौंको मातातीर्थसम्मको ८२ किलोमिटर प्रसारण लाइनलाई बिहीबारबाट १३२ केभीमा विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लाइन निर्माण सम्पन्न भएसँगै काठमाडौं उपत्यकामा थप विद्युत् प्रवाहका लागि विश्वसनीय प्रसारण सञ्जाल तयार भएको बताए । ‘हाल चालु रहेको मर्स्याङ्दी–स्यूचाटार १३२ केभी सिंगल सर्किट मात्रै थियो, जुन लाइनबाट करिब एक सय मेगावाटभन्दा बढी विद्युत् प्रवाह हुन सक्दैन थियो । मर्स्याङ्दी–काठमाडौंलाई तत्कालका लागि १३२ केभीमा सञ्चालन ल्याएसँगै अब थप करिब २ सय मेगावाटसम्म विद्युत् काठमाडौं उपत्यकामा प्रवाह हुन सक्छ’, कार्यकारी निर्देशक घिसिङले भने । भरतपुर–हेटौंडा १३२ केभी सिंगल सर्किट मात्रै भएकोले त्यहाा पनि विद्युत प्रवाहका लागि समस्या थियो । ‘कुलेखानी नचलेको बेलामा मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइनमार्फत विद्युतलाई काठमाडौं हुँदै हेटौंडातर्फ र हेटौंडाबाट काठमाडौंतर्फ थप विद्युत् प्रवाह गराउन सकिन्छ, यो लाइन काठमाडौं उपत्यकामा विद्युत् प्रवाहका लागि लाइफलाइन हो’ उनले भने ।

मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी टाटा प्रोजेक्टसँग १६ असारमा १ करोड ३ लाख अमेरिकी डलर र ७६ करोड ६३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । आयोजना निर्माण २०७३ भदौबाट सुरु भएको थियो । तनहुँ, गोरखा, चितवन, धादिङ र काठमाडौं जिल्लामा पर्ने प्रसारण लाइनमा २३३ टावर रहेका छन् । प्रसारण लाइनको परामर्शदाता सेवा पावर ग्रिड कर्पोरेसन अफ इन्डिया र नेपालको जेड कन्सल्टले दिएका थिए ।

प्रसारण लाइनको रुटको विभिन्न ठाउँमा स्थानीयको अवरोधका कारण निर्माणमा केही ढिलाइ भएको हो । आयोजना अन्तर्गत काठमाडौंको मातातीर्थ र तनहुँको मार्किचोकमा २२०/१३२/३३ केभी, ३२० एमभीए क्षमताको सबस्टेसनहरु निर्माणाधीन छन् । सबस्टेसनहरुको निर्माण सम्पन्न भएपछि प्रसारण लाइन २२० केभीमा सञ्चालनमा ल्याइने छ । नेपाल सरकारको लगानी र नर्वे सरकार तथा एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा आयोजना निर्माण गरिएको हो ।

प्रकाशित : असार ३, २०७९ १२:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×