कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

महिला हत्या आरोपमा वडाध्यक्ष र वडाध्यक्ष उम्मेदवारसहित ३ जना पक्राउ 

हरि गौतम

रुकुम पूर्व — रुकुम पूर्वमा महिलाको हत्या आरोपमा वडाध्यक्ष, वडाध्यक्षका उम्मेदवारसहित ३ जना पक्राउ परेका छन् । पुथाउत्तरंगा गाउँपालिका–११, का वडाध्यक्ष जयकुमार बुढा, नेकपा माओवादी केन्द्रको तर्फका वडाध्यक्षका उम्मेदवार कुमार सिंह र अर्का एक युवा अर्जुन बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

महिला हत्या आरोपमा वडाध्यक्ष र वडाध्यक्ष उम्मेदवारसहित ३ जना पक्राउ 

३९ वर्षीया दुथी भनिने जुनमाया बुढाको हत्याको आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

वैशाख २६ गते नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मंगलबार रुकुमकोट जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार पहाडीले जानकारी दिए । महिला हत्या आरोपमा किटानी जाहेरीपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक पहाडीले बताए ।

रोल्पाको थवाङ गाउँपालिका–१, घर भई माइतमै बस्दै आएकी दुथी १९ गते रातिदेखि हराएकी थिइन् । १९ गते राति हराएकी उनको शव २६ गते बिहान साढे ९ बजेतिर स्थानीय जंगलमा भेटिएको थियो । महिलाको शव भेटिएलगत्तै प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

चुनाव प्रचार–प्रसारका क्रममा वडा नम्बर ११ को तल्लोसेरामा एमाले र माओवादी कार्यकर्ताबीच १९ गते राति झडप भएको थियो । झडपको केही समयपछि नै ती महिला बेपत्ता भएको बताइएको छ । २० गते परिवारले प्रहरीका बेपत्ता भएको भन्दै खबर गरेका थिए । खोजतलासकै क्रममा २६ गते बिहान महिलाको शव भेटिएको थियो ।

महिलाको हातखुट्टामा चोट देखिएको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा रहेका चिकित्सकले पोस्टमार्टम गर्न नमानेपछि शव बुटवल पठाएर पोस्टमार्टम गरिएको थियो । बुधबार प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायतको टोली घटनास्थलतर्फ गएको छ । नेकपा एमालेले माओवादी कार्यकर्ताले महिलाको हत्या गरेको आरोप लगाएको छ । त्यस्तै माओवादीले भने झडपका क्रममा एमाले र कांग्रेस कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि कुटपिट गरी महिलालाई बेपत्ता बनाएको आरोप लगाएको छ ।

माओवादीका कार्यकर्ताले बलत्कार गरेर महिलाको हत्या गरेको दावी गर्दै आएको छ । एकअर्कालाई आरोप लगाउँदै एमाले जिल्ला अध्यक्ष टोपबहादुर वली र माओवादी केन्द्रका जिल्ला इन्चार्ज तेजबहादुर वलीले विज्ञप्ति जारी गरेका छन् ।

हेर्नुहोस् नेकपा एमालेको प्रेस विज्ञप्ति

हेर्नुहोस् नेकपा माओवादी केन्द्रको प्रेस विज्ञप्ति

प्रकाशित : वैशाख २८, २०७९ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?