कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
स्थानीय तह निर्वाचन २०७९

देशभर कहाँ–कहाँ उठे विद्रोही ?

प्रधानमन्त्री देउवाको गृह जिल्ला डडेलधुराका सातै पालिकामा कांग्रेस कार्यकर्ताको विद्रोह
एमालेसँग तालमेल गरेपछि पार्टीका पूर्वसभापति कर्णबहादुर मल्ल कांग्रेसबाट निष्कासित

काठमाडौँ — स्थानीय तहको उम्मेदवारी छनोटमा प्रदेश मात्र होइन, सिधै केन्द्रीय नेतृत्वले हस्तक्षेप गरेपछि कार्यकर्ता बागी बनेका छन् । धेरैजसो बागी सत्तारूढ कांग्रेसका छन् भने एमाले र माओवादीका कार्यकर्ताले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टी र गठबन्धनविरुद्ध उम्मेदवारी दिनेलाई दलले कारबाही प्रक्रिया पनि अघि बढाएका छन् ।

देशभर कहाँ–कहाँ उठे विद्रोही ?

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका सातैवटा पालिकामा बागवत भएको छ । असन्तुष्ट समूहले कांग्रेस (बीपी) को चिह्न करुवाबाट चुनाव लड्ने गरी उम्मेदवारी दर्ता गराएका छन् । यो समूहले सत्ता गठबन्धनलाई नै चुनौती दिँदै प्रतिपक्षी एमालेसँग सहकार्यको घोषणा गरेको छ ।

सभापतिकै गृहजिल्लामा कांग्रेसका नेताहरू सामूहिक विद्रोहमा उत्रिएपछि आधिकारिक उम्मेदवारहरू मात्र होइन, शीर्षस्थ नेतृत्व नै दबाबमा परेको छ । विद्रोहको नेतृत्व गरेको भन्दै पार्टीले डडेलधुराका निवर्तमान कांग्रेस सभापति कर्णबहादुर मल्लमाथि कारबाहीको हतियार चलाएको छ । विधानविपरीत गतिविधि गरेको हुनाले उनलाई कांग्रेसको सदस्यसमेत नरहने गरी हटाइएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । मल्ल सुदूरपश्चिम प्रदेशसभा सदस्य पनि हुन् ।

त्यसो त डडेलधुरा कांग्रेसभित्र विद्रोह नौलो होइन । अघिल्लो स्थानीय निर्वाचनमा पनि मल्लको नेतृत्वमा स्थानीय कांग्रेस नेताहरूले एमाले उम्मेदवारलाई सघाएका थिए । परिणामतः अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकामा कांग्रेस २ सयभन्दा कम मतले पराजित भएको थियो ।

यसअघिको स्थानीय निर्वाचनमा डडेलुधराका सातमध्ये चार स्थानीय तहमा कांग्रेसले जितेको थियो । तर यसपालि संगठित विद्रोह भएपछि सदरमुकामको अमरगढी नगरपलिका, परशुराम नगरपालिका, देउवाको गृहपालिका गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा पनि कांग्रेसलाई चुनौती थपिएको छ । अमरगढी, नवदुर्गा र गन्यापधुरामा मल्ल पक्षले उम्मेदवारी दिएको छ भने अन्य चार स्थानीय तहमा प्रमुखमा एमालेलाई सघाउने गरी गठबन्धन गरेको छ । परशुराम नगरपालिकामा सत्तारूढ गठबन्धनबीच सहमति जुट्न नसकेपछि कांग्रेस एक्लैले भरत जोशी बडायरलाई मेयर पदमा उठाएको छ । मल्ल पक्षको विद्रोहको सबैभन्दा ठूलो असर यही नगरपालिकामा पर्ने देखिन्छ ।

गठबन्धनकै अर्का नेता पुष्पकमल दाहालकी छोरी रेनु उम्मेदवार बनेको भरतपुरमा कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । २०४९ का उपमेयर पौडेल उम्मेदवारी दर्ताका क्रममा कांग्रेसको झन्डा बोकेर आएका थिए । उनलाई कांग्रेस चितवनका पूर्वसभापति कृष्णलाल सापकोटाको पनि समर्थन छ । स्थानीय नेतृत्वको इच्छाविपरीत सभापति देउवाले भरतपुरको मेयर माओवादीलाई दिएपछि जिल्लाभित्र असन्तुष्टि चर्किएको हो ।

भरतपुरकै जस्तो अवस्था छ, मकवानपुरको हेटौंडामा पनि । यहाँका तीन स्थानीय तहमा कांग्रेसका नेताहरूले बागी उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा क्षेत्रीय सभापतिमा पराजित शंकर न्यौपानेले मनहरी गाउँपालिकाको अध्यक्षमा बागी उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसबाट टिकट नपाएपछि उनी कांग्रेस (बीपी) कोतर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । यही गाउँपालिकामा कांग्रेस नेत्री जानुकी लामाले पनि कांग्रेस (बीपी) कै उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छन् ।

मकवानुपरको वाग्मती गाउँपालिका अध्यक्षमा पनि कांग्रेस नेता शंकर पराजुलीले अध्यक्ष र शेरबहादुर लामाले उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यी दुवै स्थानीय तहमा कांग्रेसका सक्रिय नेता हुन् । पार्टीले टिकट वितरणमा विभेद गरेका भन्दै उनीहरू बागी बनेका हुन् ।

हेटौंडा उपमहानगरपालिका–२ मा कांग्रेसका सुदीप राजबाहकले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनी यसअघि वडा सदस्य थिए । त्यस्तै हेटौंडा उपमहानगरपालिका–९ मा कांग्रेस नेता सुशील सिग्देलले वडाध्यक्षमा बागी उम्मेदवारी दिएका छन् । गठबन्धनको भागबन्डामा वडाध्यक्षको उम्मेदवारी एकीकृत समाजवादीले पाएपछि असन्तुष्ट सिग्देल स्वतन्त्र उम्मेदवार बनेका हुन् ।

सिन्धुपाल्चोकमा भने गठबन्धनका दुवै घटक कांग्रेस र माओवादीका उम्मेदवारविरुद्ध बागी उठेका छन् । सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिकामा गठबन्धनले माओवादीका कृष्णप्रसाद सापकोटालाई मेयरको आधिकारिक टिकट दिएको थियो । त्यसका विरुद्ध माओवादीकै बहालवाला मेयर कमानसिंह तामाङले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी भोटेकोसी गाउँपालिकाको अध्यक्षमा माओवादीका आधिकारिक उम्मेदवार राजकुमार पौडेलविरुद्ध गत स्थानीय तहको निर्वाचनमा सोही पार्टीबाट वडाध्यक्ष जितेका दीपेन्द्र श्रेष्ठले उम्मेदवारी दिएका छन् । दीपेन्द्रले माओवादीका गाउँपालिका उपाध्यक्ष दाबुटी शेर्पाको समेत समर्थन पाएका छन् ।

हेलम्बु गाउँपालिकाको अध्यक्षमा कांग्रेसका आधिकारिक उम्मेदवार निमा ग्याल्जेन शेर्पाविरुद्ध कांग्रेसकै दुई जनाले उम्मेदवारी दिएका छन् । कांग्रेस महाधिवेशन प्रतिनिधि जिमी लामा र कांग्रेसबाटै २०५४ को स्थानीय निर्वाचनमा साविक हेलम्बु गाविस अध्यक्ष पदमा निर्वाचित पासाङ लामाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । सोही गाउँपालिकामा उपाध्यक्षका आधिकारिक उम्मेदवार अप्सरा लामिछानेविरुद्ध कांग्रेसकै शुभद्रा लामिछानेले बागी उम्मेदवारी दर्ता गराएकी छन् । बाह्रबिसे नगरपालिकामा कांग्रेसका आधिकारिक उपमेयर पदकी मन्जु तामाङविरुद्ध कांग्रेसकै पुराना कार्यकर्ता नेत्रबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

ओखलढुंगामा पनि कांग्रेसका आधिकारिकविरुद्ध उम्मेदवारी परेको छ । गुटबन्दीका कारण टिकट वितरणमा विभेद भएको भन्दै खिजिदेम्वा गाउँपालिका र अन्य केही वडामा बागी उम्मेदवारी दर्ता भएको हो । खिजिदेम्वाको अध्यक्षमा पार्टीले भूपेन्द्र बस्नेतलाई उम्मेदवार बनाएपछि महाधिवेशन प्रतिनिधिसमेत रहेका महेश कोर्मोचाले उम्मेदवारी दर्ता गराएका हुन् ।

पूर्वी नवलपरासीका कांग्रेस नेताहरू पालिका प्रमुखमा बागी बनेका छन् । कांग्रेसका निवर्तमान जिल्ला समन्वय समिति प्रमुख चेसराम आले बुलिङटार गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र रूपमा उठेका छन् । पार्टीले यसअघिकै गाउँपालिका अध्यक्ष शशिकिरण बास्ताकोटीलाई मौका दिएपछि आले स्वतन्त्र बनेका हुन् । २०७४ को निर्वाचनमा बुलिङटार गाउँपालिकाका सबै ३२ सिट कांग्रेसले एक्लै जितेको थियो ।

कावासोती नगरपालिकाको मेयरमा कांग्रेसका महेन्द्र पोख्रेलविरुद्ध तीन जना विद्रोही उठेका छन् । उम्मेदवारी छनोटमा असन्तुष्ट कमलराज गुरउ, नारायण पन्त र बालकृष्ण पाण्डेले बागी उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै बौदीकाली गाउँपालिकाको अध्यक्षमा कांग्रेसका डिल्लीराम रानाले बागी उम्मेदवारी दर्ता गराएका छन् । यहाँ कांग्रेसका आधिकारिक उम्मेदवार केवी राना हुन् । त्यस्तै, त्रिवेणी गाउँपालिका अध्यक्षमा कांग्रेसबाट अध्यक्षमा डम्बर जिसीले उम्मेदवारी दर्ता गराएका छन् । उनीविरुद्ध विष्णु ढकालले उम्मेदवारी दिएकी छन् । त्यस्तै कांग्रेसले उपाध्यक्ष पदमा कला भुजेललाई आधिकारिक उम्मेदवार बनाएकामा मीना राना बागी बनेकी छन् ।

सिरहाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका र गोलबजार नगरपालिकामा माओवादीका बागी खडा भएका छन् । कर्जन्हामा माओवादीले गंगा पासवानलाई उम्मेदवार बनाएको छ भने पार्टीकै एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्षसमेत रहेका युगेश्वर राउतले बागी उम्मेदवारी दिएका छन् । साथै कल्याणी ढुंगानाले उपमेयरमा स्वतन्त्र बागी उम्मेदवारी दिएका छन् । गोलबजार नगरपालिकामा रामचन्द्र महतो मेयर पदमा र बासना मोक्तानले उपमेयरमा स्वतन्त्र रूपमा बागी उम्मेदवारी दिएका छन् ।

गुल्मीका दुई पालिका प्रमुख र तीन वडा प्रमुखमा बागी उम्मेदवार खडा भएका छन् । मदाने गाउँपालिकामा सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेसका महेन्द्र कँॅवरले अध्यक्षमा उम्मेदवारी दिएका छन्, तर उनीविरुद्ध कांग्रेसकै काशीबहादुर बोहरा उम्मेदवार बनेका छन् । मदाने ७ को वडा अध्यक्षबाट राजीनामा दिएर बोहोरा बागी बनेका हुन् ।

त्यस्तै, सत्यवती गाउँपालिकामा अध्यक्षमा भने एमालेका ठगप्रसाद शर्माले स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेबाट टीकाराम पाण्डेले टिकट पाएका छन् । गुल्मी क्षेत्र नम्बर–२ का सहसचिव कृष्ण पाण्डेले रेसुंगा नगरपालिका ४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । आफूले लामो समय काम गरे पनि पार्टीले मूल्यांकन नगरेकाले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएको बताए । रेसुंगा नगरपालिका ५ को वडाध्यक्षका देवी कुँवरले पनि स्वतन्त्र उम्मेदवारी दिएकी छन् । २०७४ को निर्वाचनमा कांग्रेसबाट वडा सदस्यका निर्वाचित कुँवरले स्वतन्त्र उम्मेदवारी दिएकी हुन् । एमाले नेता एवं रुरुक्षेत्र गाउँपालिका १ का वडाध्यक्ष रामलाल विकले सोही पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

बागीको बिगबिगी प्रदेश १ का विभिन्न जिल्लामा पनि देखिएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा माओवादी केन्द्रकी जुनु लावतीले बागी उम्मेदवारी दिएकी छन् । यहाँ कांग्रेस र माओवादीको गठबन्धनबाट सन्तोष लावतीको उम्मेदवारी दर्ता भएको छ । फिदिम नगरपालिका १, ६ र ८ मा पनि गठबन्धनविरुद्ध बागी उम्मेदवारी परेको छ ।

एमालेका जिल्ला सचिव उमेश गुरुङले इलामको सन्दकपुर गाउँपालिकामा बागी उम्मेदवारी दिएका छन् । एमालेले साविक उम्मेदवार उदय राईलाई नै टिकट दिएपछि गुरुङले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएर उम्मेदवारी दर्ता गराएका हुन् । एमालेबाट धरान उपमहानगरको प्रमुख पदमा मन्जु भण्डारीको उम्मेदवारी परेको छ । तर वडा ९ का अध्यक्ष रत्न कटवालले बागी उम्मेदवारी दर्ता गराएका छन् ।

पाल्पामा टिकट वितरण पारदर्शी नभएको भन्दै विभिन्न स्थानमा बागी अघि सरेका छन् । रैनादेवी छहरा गाउँपालिकामा कांग्रेसबाट राजीनामा दिएर विष्णुप्रसाद पोखरेलले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी यसअघि रैनादेवी छहरा ४ का वडाध्यक्ष थिए । त्यस्तै एमालेमा जिल्ला सचिवालय सदस्य दमनसिं पाटाले निस्दी गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका छन् । अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्षमा एमालेका बालकृष्ण आचार्यले बागी उम्मेदवारी दिएका छन् । पार्टीले यसपालि दलबहादुर भट्टराईलाई उम्मेदवार बनाएपछि साविक अध्यक्ष आचार्य बागी बनेका हुन् ।

रुकुमपूर्वका ३ स्थानीय तहमध्ये २ मा माओवादी कार्यकर्ताले बागी उम्मेदवारी दिएका छन् । पुथाउत्तरगंगा गाउँपालिकाको अध्यक्षमा २ र भूमे गाउँपालिका उपाध्यक्षमा एक जनाले बागी उम्मेदवारी दिएका छन् । पुथाउत्तरगंगाको अध्यक्षमा माओवादीका पालिका इन्चार्ज जिताराम कामी र अर्का नेता महेन्द्र बुढाले बागी उम्मेदवारी दिएका हुन् । पुथाउत्तरगंगामा माओवादीले लुम्बिनी प्रदेश सदस्य तथा जिल्ला सचिव पुनिराज घर्तीलाई उम्मेदवार बनाएको छ । भूमे गाउँपालिका उपाध्यक्षमा नमिता पुनले बागी उम्मेदवारी दिएकी छन् । त्यहाँ पार्टीले सविना बुढालाई उम्मेदवार बनाएको छ । बाँकेको कोहलपुर नगरपालिका प्रमुखमा कांग्रेस कार्यकर्ताले बागी उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेस क्षेत्र नम्बर १ (ख) का सभापति बलराम शर्माले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । कांग्रेसले कोहलपुरको प्रमुखमा पूर्ण आचार्यलाई उम्मेदवार बनाएको छ ।

प्यूठानको झिमरुक गाउँपालिका अध्यक्षमा कांग्रेसका डेगेन्द्रविक्रम जिसीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । मल्लरानी गाउँपालिका अध्यक्षमा कांग्रेसका नवीनप्रकाश श्रेष्ठले पनि बागी उम्मेदवारी दर्ता गराएका छन् । गाउँपालिका उपाध्यक्षमा कांग्रेसकै रामबहादुर थापा र वडा नम्बर ४ मा वडाध्यक्षका लागि दिनेशविक्रम शाहले बागी उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस मल्लरानी गाउँपालिका सहसचिव नोमराज खनालले पनि वडा सदस्यमा बागी उम्मेदवारी दिएका छन् । झिमरुक–२ मा वडाध्यक्षमा पनि कांग्रेसका बलबहादुर एमसीले बागी उम्मेदवारी दिएका छन् । पार्टीले कृष्ण पोख्रेललाई उम्मेदवार बनाएपछि एमसीले स्वतन्त्रबाट बागी उम्मेदवारी दिएका हुन् ।

देउवाविरुद्ध विद्रोह गर्ने को हुन् मल्ल ?

प्रधानमन्त्री देउवाको गृह पालिकाको गन्यापधुरा (साविक गणेशपुर गाविसको चम्सालका) कर्णबहादुर मल्ललाई राजनीतिमा भने देउवाले नै ल्याएका हुन् । पुराना नेताहरूको मूल्यांकन नगरी देउवाले २०५४ को स्थानीय निर्वाचनमा मल्ललाई जिल्ला विकास समितिको उपसभापतिमा टिकट दिएपछि मल्ल चर्चामा आएका हुन् । यो चुनावमा हारे पनि मल्ल पछि प्रधानमन्त्री देउवाको स्वकीय सचिव भए । त्यसपछि मल्लको प्रभाव जिल्लाको राजनीतिमा विस्तार भएको थियो । कांग्रेस विभाजनपछि केही समय देउवासँगै रहेका मल्ल पछि राजनीतिक गतिविधिमा कम सक्रिय रहेको भन्दै देउवाकै निर्देशनमा कारबाहीमा परेका थिए । त्यतिबेला मल्ललाई देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसले साधारण सदस्यताबाट समेत निष्कासित गरेको थियो ।

लोकतन्त्र स्थापनापछि भने देउवा र मल्लबीच समन्वय पुनःस्थापना भएको थियो । कांग्रेस एकीकरणपछि २०६७ मा भएको पहिलो जिल्ला अधिवेशनमा मल्ल जिल्ला सभापति भए । महाधिवेशनमा सभापतिमा सुशील कोइरालासँग देउवा पराजित हुँदा पनि मल्ल प्रमुख सहयोगी नै थिए ।

तर डडेलधुरामा देउवाको छायामा आफ्नो अस्तित्व सधैं ओझेलमा परेपछि मल्ल टाढिन थालेका थिए । पछिल्लो स्थानीय निर्वाचनमा मल्ल समूहले कांग्रेसका आधिकारिक उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको थियो, तर देउवाले प्रदेशसभामा आफ्नो क्षेत्रबाट मल्ललाई नै टिकट दिए । उनले चुनाव जिते पनि देउवासँगको अन्तरविरोधको समाधान भएन । पछिल्लो कांग्रेस महाधिवेशनमा पनि डडेलधुरामा उनले देउवा पक्षलाई चुनौती दिएका थिए । सभापतिको ठाडो आदेशमा मल्ल पक्ष पाखा लगाइएको थियो ।

-डीआर पन्त (डडेलधुरा), कुम्भराज राई (ओखलढुंगा), रमेशकुमार पौडेल (चितवन), सुवास विडारी (हेटौंडा), नारायण शर्मा (नवलपरासी), गगनशिला खड्का (गुल्मी), लक्ष्मी गौतम (पाँचथर), विप्लव भट्टराई (इलाम), विनोद भण्डारी (विराटनगर), प्रदीप मेयाङ्बो (धरान), माधव अर्याल (पाल्पा), वीरेन्द्र केसी (अर्घाखाँची), हरि गौतम (रुकुम पूर्व), रूपा गहतराज (नेपालगन्ज) र शमशेरविक्रम जीसी (प्यूठान)

प्रकाशित : वैशाख १४, २०७९ ०६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?