काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यतर्फको मतगणना भइरहेको छ । आइतबार दिउँसो ३ बजेसम्म दुई हजार ९ सय ९३ मतगणना भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । गत सोमबार भएको मतदानमा ४ हजार ६ सय ८० मत खसेको छ । आइतबार रातिसम्म गणना सकिने समितिको अनुमान छ ।
कांग्रेस कार्यालयका सचिव प्रकाश शर्माका अनुसार अहिलेसम्मको परिणाममा पूर्वमहामन्त्री शशांक कोइरालाले सबैभन्दा धेरै २ हजार ४४२ मत पाएका छन् । अहिलेसम्म गणना भएको आधारमा कोइरालालाई ८१ प्रतिशत महाधिवेशन प्रतिनिधिले भोट हालेका छन् ।
सभापतिका आकांक्षी रहेका कोइरालाले सभापतिको दाबी छाडेर केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । कोइरालालाई सभापतिका उम्मेदवारहरू शेरबहादुर देउवा र शेखर कोइराला दुवैले आफ्नो प्यानलका राखेका थिए । जसकारण कोइरालाले धेरै मत पाएका हुन् ।
खुलातर्फ ३५ जनाका लागि ९९ जना उम्मेदवार छन् । अहिलेसम्मको परिणामअनुसार खुला सदस्यमा देउवा पक्षका उम्मेदवार हाबी छन् । कोइराला समूहबाट पूर्वमहामन्त्री कोइराला, नेता अर्जुननरसिंह केसी, रामशरण महत, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु, बलबहादुर केसी, दिपक गिरी, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी लगायतमात्रै ३५ को सूचीमा अटाएका छन् । तर, देउवा पक्षबाट भने निर्माण व्यवसायी महासंघका पुर्वअध्यक्ष समेत रहेको ठेकेदार जीपछिरिङ लामा, मोहन आचार्य देखि गुन्डा नाइके गणेश लामासम्म सबैभन्दा धेरै मत प्राप्त गर्ने ३५ को सूचीमा अटाएका छन् । उनीहरूले बाँकी मतगणना हुँदा समेत यही आधारमा मत प्राप्त गरे कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुनेछन् ।
अहिलेसम्मको परिणामका आधारमा एनपी साउदले दोस्रो धेरै मत पाएका छन् । उनले एक हजार ८९६ मत पाएका छन् । त्यस्तै, गृहमन्त्री बालकृष्ण खाँणले एक हजार ८५१, उदयशमशेर राणाले एक हजार ८०८, रमेश लेखकले एक हजार ७८२, शंकर भण्डारीले एक हजार ७७१, रामहरि खतिवडाले एक हजार ७७०, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एक हजार ७६४, अर्जुननरसिंह केसीले एक हजार ७१० मत पाएका छन् ।
निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष समेत रहेका ठेकेदार लामा अहिलेसम्म १० औँ नम्बरमा छन् । उनले एक हजार ६७४ मत पाएका छन् । पूर्वउपसभापति गोपालमान श्रेष्ठले एक हजार ६४६, तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले एक हजार ५९६, पूर्वसहमहामन्त्री रामशरण महतले एक हजार ५७७, नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले एक हजार ५७१, पूर्वसहमहामन्त्री सुनिलबहादुर थापाले एक हजार ५६६, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले एक हजार ५४८, बलबहादुर केसीले एक हजार ५३८ मत पाएका छन् ।
त्यस्तै, गोविन्द भट्टराईले एक हजार ५३४, मोहनबहादुर बस्नेतले एक हजार ५२४, दिपक गिरीले एक हजार ४४८, कुन्दनराज काफ्लेले एक हजार ४२६, सुरेन्द्रराज पाण्डेले एक हजार ४१० र पद्यनारायण चौधरीले एक हजार ३७७ मत पाएका छन् ।
नेविसंघका अध्यक्ष राजिव ढुंगाना, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेल, सञ्जयकुमार गौतम, गुरु बराल, मदन अमात्य, दिनेश कोइराला, गुण्डा नाइके भनेर चिनिने गणेश लामा, प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, ठेकेदार मोहन आचार्य, उमेशजङ्ग रायमाझी, गोपाल दहित र कृष्णकिशोर घिमिरे पनि ३५ को सूचीमा अटाएका छन् ।
नेविसंघका पूर्वमहामन्त्री मनोजमणि आचार्य, उखु उद्योगी बीरेन्द्रकुमार कनौडिया, प्रदेश १ का मन्त्री केदार कार्की, त्रिविका पूर्व उपकुलपति तिर्थ खानियाँ लगायत ३५ को सूचीमा पर्न प्रयासरत छन् । सबैभन्दा धेरै मत प्राप्त गर्ने ३५ जना मात्रै केन्द्रीय सदस्यमा निर्वाचित हुनेछन् ।
