काठमाडौँ — नेपाली कांग्रेसको सभापतिमा पराजित शेखर कोइरालाले आफ्नो राजनीतिक यात्रा नयाँ ढंगबाट सुरु भएको बताएका छन् । सभापतिको निर्वाचनमा आफूलाई प्राप्त मतको कदर गर्दै कहिल्यै बिर्सन नसक्ने उनले बताए ।
'प्रतिनिधि साथीहरुले अत्यन्त मिहनेत जुझारूपन देखाउनुभएको । तपाईंहरुले जुन मिहनेत गर्नुभयो, मलाई माया, सम्मान, इज्जत दिनुभयो त्यो कहिल्यै पनि बिर्सन सक्ने छैन । यही मायाले मेरो राजनीतिक यात्रा नयाँ ढंगले सुरु गर्छु,' उनले भने ।
कोइरालाले १४औं महाधिवेशनमा आफ्नो समूहको राजनीतिक मुद्दा र एजेन्डा स्थापित भएको पनि बताए । उनले आफू नेपाली कांग्रेस रुपान्तरणमा लागिसकेको बताउँदै हरेक सदस्यहरुको घरदैलोमा पुग्ने बताए । 'म निरन्तर रुपमा तपाईंहरुको घरदैलोमा पुग्नेछु । आगामी अधिवेशनमा सफलता प्राप्त गर्ने भन्ने विश्वास छ ।'
