काठमाडौँ — नेपाली कांग्रेसका नेता अर्जनुनरसिंह केसीले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीलाई विचार प्रदान गर्न आग्रह गरेका छन् ।
उनले पार्टीलाई व्यक्ति प्रधान नभएर नीति प्रधान बनाए मात्रै आफूहरुको सहयोग हुने बताए । 'पार्टीलाई तपाईं प्रधान हैन, नीति प्रधान बनाउनुहोस् अनि हामी सहयोग गर्छौं । विचार प्रदान गर्नुहोस् हामी सहयोग गर्छौं,' उनले भने ।
नेता केसीले देउवालाई शुभकामना दिँदै त्यो सफलता नेपाली कांग्रेसको सफलता बनाउन आग्रह गरे । उनले सभापति देउवालाई पार्टी सुदृढिकरण गर्न समेत सुझाव दिएका छन् ।
देउवालाई नेता केसीले झुन्डको मात्रै सभापति नभएर सिंगो पार्टीको सभापति बन्न पनि सुझाव दिए ।
'तपाईं मेरो समाकालिन साथी पनि हो तपाईंको सफलता म शुभकामना दिन चाहन्छु । त्यो सफलता नेपाली कांग्रेसको सफलता होस् । पार्टी सुदृढिकरण होस् । तपाईंको नजिकको झुन्डका मात्रै सफलता नहोस्,' उनले भने ।
