काठमाडौँ — नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी हितिवरुद्ध कुनै काम भए संघर्ष हुने बताएका छन् । उनले महाधिवेशन प्रतिनिधिहरुका लागि शेखर कोइरालाले आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै नवनिर्वाचित सभापति देउवालाई चेतावनी दिएका हुन् ।
उनले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले हरेक मतदातासँग मत माग्नु परेको विवसताबारे पनि बोले । 'उहाँको मनमा हार्छु भनेर डर रहेछ नि ! कोटमा कोट लगाएर रातिसम्म हरेक मतदातासँग मत माग्नुभयो । एक जना पनि छाड्नुभएन ।'
यस्तै, थापाले पार्टीलाई मजबुद बनाउने कुरामा देउवासँग सहकार्य हुने र पार्टी हितविरुद्ध हुने कार्यमा संघर्ष हुने बताए । उनले भने,' मैले दुई पटककै निर्वाचनमा मैले शेरबहादुर देउवालाई मत हालिनँ । निर्वाचित हुनुभयो अब हामी सबैको सभापति बन्नुभएको छ । पार्टीलाई मजबुत बनाउने कुरामा तपाईंलाई सहयोग हुन्छ । पार्टी हितविरुद्ध केही काम भए तपाईंसँग संघर्ष हुन्छ ।'
उनले नारायणी किनारमा एमालेको अधिवेशन नभएर ओलिवेशन नै भएको बताएका छन् । प्रधानमन्त्रीले मत माग्न समेत सडकमा आएकाले पनि आफूहरुको पार्टीको अधिवेशन भएको बताएका हुन् ।
नारायणी किनारमा पनि एउटा अधिवेशन भएको थियो । त्यहाँ एक जनाले रिसोर्टमा बसेर लिस्ट निकाल्नुभयो अनि भन्नुभयो । हाम्रोमा बहालवाला प्रधानमन्त्री पनि सडकमा आउनुभयो । फरक यहाँ छ । त्यो ओलिवशेन थियो, हाम्रो अधिवेशन ।'
