काठमाडौँ — नेपाली कांग्रेसका नेता गगन थापाले कम्युनिष्ट पार्टीहरु नमिले मात्रै कांग्रेस पहिलो पार्टी बन्ने अवस्था रहेको बताएका छन् । महाधिवेशन प्रतिनिधिहरुका लागि आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा बुधबार बोल्दै नेता थापाले भने,' हामी निर्वाचन निर्वाचन भन्छौं । अबको एक वर्षमा मंसिरभित्रमा चुनाव हुन्छ । त्यो निर्वाचनमा कांग्रेस कम्युनिष्ट पार्टीहरु मिलेनन् भने मात्रै चुनाव जित्छ । मधेशका पार्टी मिलेनन् भने मात्रै चुनाव जित्छ । '
कम्युनिष्ट पार्टीहरुसँग कांग्रेसले भर पर्न नहुने बताउँदै उनीहरुले जुनसुकै समयमा कांग्रेस विरुद्ध मोर्चाबन्दी गर्न सक्ने बताए ।
'हिजो कांग्रेसकै सरकारमा सामेल भएका कम्युनिष्ट पार्टीहरु अर्को कम्युनिष्ट पार्टीसँग गठबन्धन गरेर चुनाव लडे । कसैले जिम्मेवारी लिन सक्छ कम्युनिष्ट पार्टीहरु मिल्दैनन् भनेर ? हिजो हामीसँग सरकारमै थिए । कसरी रातारात मोर्चाबन्दी गरे ?,' नेता थापाले भने ।
उनले कांग्रेसलाई कम्युनिष्ट पार्टीहरु मिल्दा पनि जित्न सक्ने बनाउनका लागि नयाँ मतदाताहरु आकर्षित गर्नुपर्ने बताएका थिए ।
