काठमाडौँ — नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।
जम्मा १६०० मत गणना गरिसक्दा शेरबहादुर देउवाले ९४० मत ल्याएका छन् भने शेखर कोइरालाले ६४८ मत ल्याएका छन् ।
रातको १२ बजेपछि राष्ट्रिय सभागृहमा मतगणना सुरु भएको हो । सभापतिका लागि तीनवटा ट्यांकीमा मत खसालिएको थियो । ती तीनवटै ट्यांकी राष्ट्रिय सभागृहमा राखेर मतगणना भइरहेको छ । रातभरमा मतगणना सम्पन्न भइसक्ने आकलन गरिएको छ ।
अरु पदाधिकारी र सदस्यहरूको मतगणना भने कांग्रेस पार्टी कार्यालय सानेपामा हुने बताइएको छ । यसका लागि सोमबार राति नै मतपेटिका सानेपा लगिएको थियो ।
पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि मंगलबार पुन: मतदान भएको हो । दिउँसो साढे ३ बजेपछि झन्डै ६ घण्टाको अवधिमा ४ हजार ५६२ जनाले मतदान गरेका छन् ।
महाधिवेशनमा कूल ४ हजार ७४३ मतदाता थिए । सोमबारको मतदानमा भने ४ हजार ६७९ प्रतिनिधिले मतदान गरे । दोस्रो चरणको निर्वाचनका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा छ ।
