काठमाडौँ — नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना सुरु भएको छ । मध्यरातको १२ बजेदेखि प्रारम्भिक मतपरिणाम पनि आउन थालेको छ ।
प्रारम्भिक मतपरिणाम अनुसार देउवाले अग्रता कायम गरेका छन् । राष्ट्रिय सभागृहमा जारी मतगणनाको क्रममा ३०० मत गनिसक्दा शेरबहादुर देउवाले १७४ मत ल्याएका छन् भने शेखर कोइरालाले १२४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
सभापतिका लागि तीनवटा ट्यांकीमा मत खसालिएको थियो । ती तीनवटै ट्यांकी राष्ट्रिय सभागृहमा राखेर मतगणना भइरहेको छ । रातभरमा मतगणना सम्पन्न भइसक्ने आकलन गरिएको छ ।
अरु पदाधिकारी र सदस्यहरूको मतगणना भने कांग्रेस पार्टी कार्यालय सानेपामा हुने बताइएको छ । यसका लागि सोमबार राति नै मतपेटिका सानेपा लगिएको थियो ।
पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि मंगलबार पुन: मतदान भएको हो । दिउँसो साढे ३ बजेपछि झन्डै ६ घण्टाको अवधिमा ४ हजार ५६२ जनाले मतदान गरेका छन् ।
महाधिवेशनमा कूल ४ हजार ७४३ मतदाता थिए । सोमबारको मतदानमा भने ४ हजार ६७९ प्रतिनिधिले मतदान गरे । दोस्रो चरणको निर्वाचनका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा छ ।
