दोस्रो चरणको मतदान सम्पन्‍न

मंसिर २८, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ । दिँउसो साढे ३ बजेपछि सुरु भएको मतदान राति साढे ९ बजे सम्पन्न भएको हो ।

महाधिवेशनमा कूल चार हजार ७४३ मतदातामध्ये चार हजार ५६२ जनाले मतदान गरेको निर्वाचन समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए । सोमबारको मतदानमा भने चार हजार ६७९ प्रतिनिधिले मतदान गरेका थिए । मतदानमा कूल ७६ मत बदर भएको थियो । 

पहिलो चरणको निर्वाचनमा सभापति पदका उम्मेदवार कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भएको हो । 

पहिलो चरणमा भएको मतदानमा देउवाले दुई हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य उम्मेदवार प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।

पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्ने विधानको व्यवस्था छ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।

मंगलबार भएको दोस्रो चरणको मतदानअघि नै सभापतिका उम्मेदवारहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरिसकेका थिए । मंगलबार राति नै राष्ट्रिय सभागृहमा मतगणना गर्ने बताइएको छ । पदाधिकारी र सदस्यहरूको मतगणना भने सभापतिको मतगणना सकिएपछि सानेपामा गरिनेछ ।

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully