कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

नेतृत्व छान्दै कांग्रेस पंक्ति

महाधिवेशन प्रतिनिधिले आज चयन गर्ने नेतृत्वले तीन तहका आगामी निर्वाचनमा कांग्रेसको अगुवाइमात्र गर्ने छैन, आगामी ५ वर्षसम्म देशकै राजनीति प्रभावित गर्नेछ 
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले सोमबार मतदान गर्दै छन् । उनीहरूको मतबाट सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् । यही टिमले आगामी तीन तहका निर्वाचनमा कांग्रेसको नेतृत्व गर्नेछ भने पाँच वर्षसम्म नेपाली राजनीतिलाई प्रभावित गर्नेछ । 

नेतृत्व छान्दै कांग्रेस पंक्ति

शीर्षस्थ नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । तर प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारीले प्रतिस्पर्धालाई पेचिलो बनाएको छ । सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच प्रतिस्पर्धा हुनेछ । त्यसैले सिंह र निधि पहिलो चरणलाई अनिर्णीत बनाउन सके दोस्रो चरणमा आफूहरूको भूमिका सार्थक हुनेमा आशावादी छन् ।

निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न देउवा र कोइरालाले धारिलो प्रचारप्रसार गरिरहेका छन् । प्रतिनिधिहरूले खाना खाइरहेकै स्थलमा पुगेर आइतबार देउवाले हात जोड्दै भोट मात्रै मागेनन्, प्लास्टिकको कुर्सीमा बसेर खाना खाए । अघिल्लो महाधिवेशनमा पनि उनले हरेक प्रतिनिधिलाई व्यक्तिगत रूपमा पत्र लेखेर मत मागेका थिए

तस्बिर : रासस

देउवाले कांग्रेसको निर्वाचनले देशको राजनीतिलाई नै मोड दिने भएकाले स्थायित्वका लागि मतदान गर्न प्रतिनिधिलाई आह्वान गरेका छन् । पार्टी नेतृत्वमा आफूले निरन्तरता पाए मात्रै वर्तमान सत्ता गठबन्धनले निरन्तरता पाउने र कांग्रेसले स्थानीय तहदेखि केन्द्रसम्ममा बहुमत ल्याउने दाबी उनको छ ।

‘सभापति र प्रधानमन्त्री एउटै नभए त्यसले पार्टी र सरकारभित्रै अस्थिरता ल्याउँछ, सभापतिमा हारेको प्रधानमन्त्रीको नेतृत्वमा निर्वाचनमा जाने होइन, जितेका प्रधानमन्त्रीको नेतृत्वमा उच्च मनोबलका साथ जानुपर्ने हुन्छ,’ उनको भनाइ छ, ‘फेरि केन्द्र, प्रदेश र स्थानीय तहमा सरकार बनाएर कांग्रेसलाई पुरानै अवस्थामा ल्याउन सफल हुनेछ ।’

देउवाको यो भनाइलाई प्रतिस्पर्धी कोइरालाले खरो प्रतिवाद गरेका छन् । उनले आफ्नो टिमले जितेपछि पनि वर्तमान गठबन्धन चुनावसम्मै बचाएर लग्ने प्रतिबद्धता व्यक्त गरे । ‘देशको प्रधानमन्त्री र पार्टीका सभापति यति निरीह हुनुहुन्छ भन्ने मैले कल्पनै गरेको थिइनँ । उहाँले हावादारी र गलत कुरा भनिरहनुभएको छ,’ कोइरालाले कान्तिपुरसँग भने, ‘देउवाको नेतृत्व अब जाँदै छ । हाम्रो टिमले जितेपछि यो सरकार, यो गठबन्धन अझै सुदृढ हुन्छ, गठबन्धनलाई हामी आगामी चुनावसम्मै लैजान्छौं ।’

नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत सोमबार हुने मतदानका लागि राष्ट्रिय सभागृहमा मतदानस्थल तयार गरिँदै । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

पहिलो चरणमा विजयी हुन नसके दोस्रो चरणमा झनै जोखिम हुने ठानेरै देउवाले मैदानमै उत्रिएर मत मागेको कांग्रेस नेताहरूको भनाइ छ । देउवालक कोइरालालाई पनि आफ्नो टिममा राख्न अन्तिमसम्म प्रयास गरेका थिए । उनको यो प्रयास असफल भए पनि सम्मानजनक स्थान दिएर सिटौलाको टिमलाई समेटेका छन् । देउवा टिमबाट महामन्त्रीका दाबेदार बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, रमेश लेखकले केन्द्रीय सदस्यमा मनोनयन दिएका छन् । ‘तपाईंहरूले मलाई महामन्त्रीका रूपमा हेर्नुभएको थियो । तर विविध कारणले हुन सकिनँ,’ कमलपोखरीको अग्रवाल हाउसमा आयोजित देउवा टिमको कार्यक्रममा खाँणले भने, ‘अब म केन्द्रीय सदस्य नै भएर काम गर्छु ।’ कार्यक्रममा साउद र लेखक भने उपस्थित थिएनन् । असन्तुष्टिबीच पनि सहयोगीहरूले सार्वजनिक रूपमा केही नभनेकाले देउवा जितप्रति विश्वस्त छन् ।

सभापतिका प्रत्याशी कोइरालाले पनि जितप्रति उत्तिकै विश्वास व्यक्त गरेका छन् । कांग्रेस पंक्तिले देउवाको कार्यकाल भोगिसकेकाले अब युवा जोस र जाँगर भएको आफ्नो टिम स्वाभाविक जिम्मेवारीमा आउनेमा उनको भनाइ छ । यद्यपि देउवाको विकल्प खोज्नुपर्छ भन्ने समूहबाट सिंहको उम्मेदवारीले आफ्नोमात्र होइन, देउवाको पनि मत घट्ने उनको आकलन छ । ‘काठमाडौंमा अहिले प्रकाशमानलाई जाने भोट उनी नउठेको भए देउवालाई पनि जान्थ्यो, त्यसैले प्रकाशमानको उम्मेदवारीले घाटामात्र भएको छैन,’ उनको टिमको यही निष्कर्ष छ ।

आफ्नो समूहबाट साझा उम्मेदवार तय गर्न नसकिएको भन्दै चित्त दुखाएका रामचन्द्र पौडेल निवासमा बसिरहेका छन् । शेखरले भने पौडेललाई उम्मेदवार बनाउन आफू तयार हुँदा पनि प्रकाशमानका कारण सम्भव नभएको बताएका छन् । ‘म त तयार नै थिएँ, तर प्रकाशमानजीले किन मान्नु भएन, थाहा भएन,’ उनले भने, ‘मबाट अन्यथा भएको भए माफी माग्न चाहन्छु । रामचन्द्रजी हाम्रो सम्मानित नेता हो । अहिले उहाँसँग कुरा गर्न पनि मलाई अप्ठ्यारो लागिरहेको छ,’ कोइरालाले भने ।

देउवाले पार्टी नेतृत्वमा आफूले निरन्तरता पाए मात्रै वर्तमान सत्ता गठबन्धनले निरन्तरता पाउने र कांग्रेसले स्थानीय तहदेखि केन्द्रसम्ममा बहुमत ल्याउने दाबी गरेका छन् । सभापति र प्रधानमन्त्री एउटै नभए त्यसले पार्टी र सरकारभित्रै अस्थिरता ल्याउने पनि उनको भनाइ थियो । ‘सभापतिमा हारेको प्रधानमन्त्रीको नेतृत्वमा निर्वाचनमा जाने होइन, जितेका प्रधानमन्त्रीको नेतृत्वमा उच्च मनोबलका साथ जानुपर्ने हुन्छ, हाम्रो विधानले सभापतिको दुई कार्यकालको व्यवस्था पनि गरेको छ,’ उनले भने, ‘अब निर्वाचनपछि फेरि केन्द्र, प्रदेश र स्थानीय तहमा सरकार बनाएर कांग्रेसलाई पुरानै अवस्थामा ल्याउन सफल हुनेछ । त्यसका लागि सभापतिमा मलाई र मेरो टिमलाई जिताउनुहोस् । मेरो टिममा परिपक्व नेता पनि छन् । युवा पनि छन् । यसलाई जिताएर जानुपर्छ ।’

पौडेल र शशांक आफ्नै कित्तामा रहेको उनको दाबी छ । ‘यो टिम उहाँहरूकै मार्गदर्शनबाट बनेको हो, यसलाई जिताउन रामचन्द्रजी र शशांक दुवै जुट्नुभएको छ,’ उनले भने, ‘कार्यकर्ताको उत्साह देख्दा पहिलो चरणमै आफ्नो टिम विजयी हुने मैले देखिरहेको छु ।’ देउवा र कोइराला पहिलो चरणमा विजयी हुने कोसिसमा रहेका बेला सभापतिकै प्रत्याशी निधिले भने पहिलो चरणमा कसैले पनि जित्न नसक्ने दाबी नै गरेका छन् ।

‘पहिलो चरणमा कसैले पनि प्रतिशत पुर्‍याउन सक्दैन, दोस्रो चरणको चुनावमा म, शेखर र प्रकाशमान मिलेर नयाँ नेतृत्व चयन हुन्छ । हामीमध्ये जो बने पनि संस्थापनइतर समूहकै नेता सभापति बन्ने हो,’ भृकुटीमण्डपमा मत मागिरहेका निधिले सञ्चारकर्मीसँग भने । सिंहले भने सभापतिका लागि दोस्रो चरणको निर्वाचन भए कसलाई समर्थन गर्ने मुख खोलेका छैनन् ।

प्रकाशित : मंसिर २७, २०७८ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?