काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सभापतिमा आफू हारेको सभापति नजित्नेले के देश चलाउँछ भन्दै होहल्ला हुन सक्ने बताएका छन् । उनले १४ औं महाधिवेशनबाट आफू सभापति चुनिएको खण्डमा सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने पनि बताए ।
आइतबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सभापति हारेको खण्डमा प्रधानमन्त्रीमा बस्न नमिल्ने भन्ने कुरा आइरहेकोले सभापति जित्नैपर्ने आवश्यकता रहेको बताए । उनले यो आफ्नो अन्तिम बेला भएको र सभापति हारेमा सभापति नजित्नेले के देश चलाउँछ भन्ने प्रश्न उठाउने भएकाले पनि जित्नै पर्ने दबाव रहेको बताए ।
प्रधानमन्त्री देउवाले भने, ‘ म पार्टी सभापति भएको खण्डमा यो सरकार टिकिरहनेछ । राष्ट्रिय चुनावसम्मका लागि । त्यसैले अहिले पार्टी सभापति हारेको खण्डमा शेरबहादुरको नैतिकताले प्रधानमन्त्री बस्न नै पाइँदैन भनेर होहल्ला गर्नेवाला छन् सबैले । त्यसकारण पनि महाधिवेशनमा सभापति जित्नु मेरो आवश्यक छ । पार्टी सभापति जितेन भने पार्टी सभापति नजित्नेले के देश चलाउँछ भन्छ, के प्रधानमन्त्री बन्न सक्छ भन्छ । त्यसैले अहिलेको बेला, मैले कसैलाई मेरो खिलाफ उठेकोमा मेरो विरोध होइन । तर मेरो यो अन्तिम बेला हो ।’
