पर्वत — नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पर्वतबाट सात जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । उम्मेदवारी मनोनयनको अन्तिम समयमा शनिबार साँझ उनीहरुले फरक फरक समूहबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
कांग्रेसको नेतृत्व चयनका लागि हुने चुनावमा पर्वतका पूर्व पार्टी सभापति नवराज गुरुङले आदीवासी–जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । महाधिवेशन प्रतिनिधि एवं पैयुँ गाउँपालिका अध्यक्ष खगेन्द्र प्रसाद तिवारी, महाधिवेशन प्रतिनिधि गंगाधर तिवारी र लोकगायक विमलराज क्षेत्रीले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
पूर्व महासमिति सदस्य एवं महाधिवेशन प्रतिनिधि वसन्तबहादुर सिकेले खस आर्यतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । महाधिवेशन प्रतिनिधि रेखा गुरुङले महिला तथा जनजातीतर्फबाट र महाधिवेशन प्रतिनिधि सनम बेगमले महिला तथा अल्पसंख्यकबाट उम्मेदवारी दर्ता गरेका छन् ।
तिवारी, सिके, गुरुङ र क्षेत्री शेखर कोइराल निकट हुन् । त्यस्तै, गुरुङ, तिवारी र बेगम सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । सबैले आफुखुशी उम्मेदवारी दर्ता गरेको भए पनि कुन कुन प्यानलबाट भन्ने खुलाएका छैनन् ।
यसअघि पर्वतबाट अर्जुन जोशी केन्द्रीय सदस्य बाहेक कांग्रेसमा केन्द्रसम्म कुनै नेता पुगेका छैनन् ।
