उम्मेदवारी फिर्ता लिँदै विश्वकर्माले भने- 'उक्त पदमा उम्मेदवारी दिने मेरो मनसाय छैन'

मंसिर २६, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत चुनावी प्रतिस्पर्धाका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका मीनबहादुर विश्वकर्माले उम्मेदवारी फिर्ता लिएका छन् ।

आइतबार बिहान विज्ञप्ति जारी गर्दै नेता विश्वकर्माले आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गर्न इच्छुक नरहेको भन्दै उक्त पदबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।

सहमहामन्त्री पदका आकांक्षी विश्वकर्मा सभापति शेरबहादुर देउवा निकट नेताको रुपमा चिनिन्छन् । तर देउवा समूहको प्यानलमा विश्वकर्मा नपरेपछि असन्तुष्ट देखिँदैआएका छन् ।

नेता विश्वकर्माले आफ्नो उम्मेदवारी नै अरु कसैले दर्ता गराइदिएको आशय व्यक्त गरेका छन् । 'केन्द्रीय सदस्यमा मेरो पनि नाम केन्द्रीय सदस्यमा दर्ता भएको देखिएकोमा उक्त पदमा उम्मेदवारी दिने मेरो कुनै मनसाय नरहेकोले उक्त पदको उम्मेदवारी फिर्ता लिएको अनुरोध साथ मेरो नाम उक्त सूचीबाट हटाइदिनुहुन यो लिखित निवेदन पेश गरेको छु,' विश्वकर्माले भनेका छन् ।

देउवा प्यानलको केन्द्रीय सदस्यको सूचीमा विश्वकर्माको पनि नाम आएपछि उनले विज्ञप्ति जारी गर्दै नाम फिर्ता लिएका हुन् । जस अनुसार उनले आफ्नो सहमति बिना नै अरु कसैले उम्मेदवारी दर्ता गरिदिएको आशय व्यक्त गरेका छन् ।


कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully