कांग्रेस महाधिवेशनको इतिहास : नेतृत्वका लागि सधैँ छिनाझपटी

पाँचौं महाधिवेशन २००९ जेठ १३ मा जनकपुरमा सम्पन्न भएको थियो । यातायात तथा वनमन्त्री भद्रकाली मिश्रले एकाएक ६ महिनाको लागि महाधिवेशन रोकिनुपर्ने भन्दै हिन्दीमा लेखिएको नेपाली कांग्रेसको विधान प्रस्ताव गरेपछि पण्डालभित्र बन्दसत्रका नेता/कार्यकर्ताबीच हात हालाहाल भएको थियो ।

मंसिर २६, २०७८

ध्रुव सिम्खडा

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनका लागि शनिबार सभापतिदेखि केन्द्रीय सदस्य सम्मले उम्मेदवारी दिएका छन् । सभापतिमा ६ जनाको उम्मेदवारी परेपछि कांग्रेसको महाधिवेशनको प्रतिस्पर्धा रोचक मोडमा छ ।

पार्टीभित्रका पुराना गुट भत्किर अहिल अहिले नयाँ गुट जन्मेका छन् । गुटबन्दीका कारण एकले अर्कालाई नछोड्ने भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल यसपटक प्रतिस्पर्धामै आएनन् । नेताहरूबीच नेतृत्वका लागि अहिले मात्र होइन विगतका महाधिवेशनमा पनि तीब्र प्रतिस्पर्धा हुने गरेको छ । स्थानपना कालदेखि नै कांग्रेस महाधिवेशनहरूमा नेताहरूको संघर्ष र रस्साकस्सी देखिन्छ ।

...

‍मातृकाप्रसाद कोइराला नेतृत्वको नेपाली राष्ट्रिय कांग्रेस र महेन्द्रविक्रम शाहले हाँकेको नेपाल प्रजातन्त्र कांग्रेस एक भई २००६ चैत २७ गते नेपाली कांग्रेसको जन्म भएको हो । दुवै पार्टीको निरन्तरताको हिसाबले २००६ सालमा सम्पन्न एकताको महाधिवेशन चौथौं भए पनि नेपाली कांग्रेसको हिसाबले चाहिँ त्यो नै पहिलो महाधिवेशन थियो । 

कांग्रेसले पहिलोदेखि चौथोसम्मका महाधिवेशनहरू भारत प्रवासकालमा गर्नु परेको थियो । २००७ सालमा मुलुकबाट राणा शासन हटेको दुई वर्षपछि अर्थात् २००९ सालदेखि मात्र कांग्रेस महाधिवेशन स्वदेशमा हुन थालेको हो ।

पाँचौं महाधिवेशन २००९ जेठ १३ मा जनकपुरमा सम्पन्न भएको थियो । उक्त महाधिवेशनमा बीपी र एमपी (बीपी कोइराला र मातृकाप्रसाद कोइराला) दुई भाइबीच सभापतिका लागि विवाद र छिनाझपटी भए पनि मातृकाले बीपीलाई छाडिदिने भद्र सहमति भएको थियो । तर त्यस महाधिवेशनमा पार्टीका केन्द्रीय सदस्य, यातायात तथा वनमन्त्री भद्रकाली मिश्रले एकाएक ६ महिनाको लागि महाधिवेशन रोकिनुपर्ने भन्दै हिन्दीमा लेखिएको नेपाली कांग्रेसको विधान प्रस्ताव गरेपछि पण्डालभित्र बन्दसत्रका नेता/कार्यकर्ताबीच हात हालाहाल हुनपुग्यो ।

मिश्रको प्रस्तावलाई मतदानमा लैजाने भन्दै महेन्द्रनारायण निधि, सरोजप्रसाद कोइरालाहरूले विवाद समाधानको उपाय निकालेपछि बन्दसत्र पुन: सुरू भएको थियो । महाधिवेशन प्रतिनिधिहरूले उनको प्रस्ताव अस्विकृत गरिदिए । जुन महाधिवेशनमा देशभरिबाट ५०० महाधिवेशन प्रतिनिधि र १०० जना पर्यवेक्षकहरू उपस्थित थिए ।

त्यसपछि बहुमत महाधिवेशन प्रतिनिधिहरूले मिश्रले पार्टी फुटाउन षडयन्त्र गर्दैछन्, त्यसकारण उनलाई पार्टीबाट हटाउनुपर्छ भनी माग गरे । बन्दसत्र अगाडि बढ्न नसकेपछि सभापति मातृकाप्रसाद कोइरालाले सम्झाउने प्रयास गरे । केही सीप नलागेपछि बहुमत महाधिवेशन प्रतिनिधिहरूले मिश्रलाई पार्टीबाट निष्कासन गर्ने मत जाहेर गरे र मिश्र कांग्रेसबाट निष्कासित भए ।

त्यस महाधिवेशनमा सभापतिका लागि बीपी कोइराला, मातृकाप्रसाद कोइराला, गणेशमान सिंह, गोपालप्रसाद भट्टराई र केदारमान व्यथितले उम्मेदवारी दर्ता गराए । चुनावमा जाँदा पार्टी विखण्डनमा जानसक्छ भन्दै सुवर्ण, कृष्णप्रसाद, गणेशमान, सूर्यप्रसाद उपाध्याय, गोपालप्रसाद भट्टराई, महेन्द्रनारायण निधिहरूले सर्वसम्मत सभापति छनोटको प्रयासलाई तीव्र पारे ।

मातृकाले बीपीलाई सभापति बनाउने पूर्व सहमति तोडेर उम्मेदवारी दिएकाले आफूहरूले उम्मेदवारी दिएको सिंह र भट्टराईको दलिल थियो । मातृकाले आफ्नो नाम झिक्ने हो भने आफूहरू पनि सभापतिको उम्मेदवार नबन्ने ती दुईजनाले बताएपछि मातृकाले उम्मेवारी फिर्ता लिएको घोषणा गरेका थिए । त्यसपछि बीपी र केदारमानमात्रै उम्मेदवार रहे ।

तर बन्दसत्रमै बालचन्द्र शर्मा, केदारमान व्यथित र भरतमणि शर्माले ‘नेपाली कांग्रेसको निमित्त लाकेतान्त्रिक समाजवादी घोषणापत्र’ भन्दै प्रस्ताव ल्याएपछि त्यसलाई महाधिवेशनको बहुमतले अस्विकृत गरिदिएको थियो । अनि भद्रकाली मिश्रको सानो समूहजस्तै शर्माको समूहले पनि महाधिवेशनस्थल वहिष्कार गरेर निस्केको थियो । महाधिवेशनमा ४९८ प्रतिनिधिहरू सहभागी थिए । तीमध्ये २९२ जनाले बीपी र २ जनाले मात्र केदारमानलाई मत दिएका थिए । मातृकालगायत ६८ जना मतदाता भने तटस्थ बसेका थिए ।

नेपाली कांग्रेसको विधान २००९ अनुसार पार्टीमा तीन तहका सदस्य रहन्थे । साधारण सदस्य, क्रियाशील सदस्य र प्रतिनिधि सदस्य । साधारण सदस्यता प्राप्त गरी ३ महिनासम्म कमसेकम दिनको ३ घण्टा पार्टीमा काम गर्ने साधारण सदस्यहरूमध्येबाट चुनिएर क्रियाशील सदस्य बन्न पाउने र प्रत्येक क्रियाशील सदस्यबाट एकजना प्रतिनिधि सदस्य छान्ने विधानमा व्यवस्था थियो ।

२०१२ माघ ९–१३ गतेसम्म वीरगञ्जमा छैठौं महाधिवेशन सम्पन्न भएको थियो । उक्त महाधिवेशनमा सुवर्ण शम्शेर र गणेशमान सिंहबीच सभापतिमा प्रतिस्पर्धा भएको थियो । सुवर्णशम्शेर २३६ मत ल्याएर विजयी भए भने गणेशमान १७२ मत पाएर पराजित भए । महाधिवेशनमा ६०० प्रतिनिधिहरू मतदाताका रूपमा सहभागी थिए । बीपीलगायत शीर्षनेताहरू सुबर्णको पक्षमा लागेका थिए भने गणेशमानलाई गिरिजाप्रसादले खुलेरै साथ दिएका थिए ।

यद्यपि, पार्टी पंक्तिमा डा. तुलसी गिरिले गणेशमानलाई भित्रभित्रै उक्साएको आरोप पनि लगाएका थिए । यसै महाधिवेशनबाट कांग्रेसले प्रजातान्त्रिक समाजवादी धारणा पारित गरेको थियो । यो निर्वाचन पनि २००९ सालकै पार्टी विधानअनुसार सम्पन्न भएको थियो । त्यसबेला निर्वाचन महाधिवेशन उद्घाटन हुनुभन्दा पहिलै सम्पन्न भइसक्थ्यो । अहिलेजस्तो सबै मतदातालाई महाधिवेशनस्थलमा भेला गराएर निर्वाचन हुँदैनथ्यो । जिल्ला–जिल्लाबाट निर्वाचन सम्पन्न भएर परिणाममात्र आउँथ्यो । महाधिवेशनका बेला त खालि प्रस्तावहरू पारित गर्ने र नवनिर्वाचित सभापतिले मन्तव्य दिने कार्य गरिन्थ्यो । यसोगर्दा महाधिवेशन तडकभडकपूर्ण र खर्चिलो नहुने पार्टी नेताहरूको ठहर थियो ।

सुरूमा यो महाधिवेशन पुस १५ मा काठमाडौंमा गर्ने निर्णय भएकोमा काठमाडौंमा धेरै जाडो हुने र प्रतिनिधिहरूको बसाइ सकसपूर्ण हुने भन्दै मुलुककै प्रवेशद्वारको रूपमा रहेको वीरगञ्जमा माघसम्मका लागि महाविधेशन सारिएको थियो ।

२०१२ मंसिरमा बसेको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौंमा गर्ने भनिएको महाधिवेशन वीरगञ्ज सारिएकोबारे यस्तो निर्णय गरेको थियो, ‘पौष महिनामा काठमाडौंमा ज्यादै जाडो र खर्चसमेत ज्यादा पर्नेछ र वर्तमान अवस्थामा जिल्ला–जिल्लाहरूबाट यो खर्च बहन गर्न असमर्थता प्रकट गर्दै वीरगञ्जमा अधिवेशनको स्थान निर्धारित होस् भनी लेखी पठाएको हुनाले र वीरगञ्जका कार्यकर्ताहरूले पौष १५ गतेदेखि महाधिवशेन गर्ने हो भने हामी तयार हुनसक्ने छौँ भनेको हुनाले आगामी अधिवेशन वीरगञ्जमा माघ ९ गतेदेखि आरम्भ गर्ने निर्णय भयो ।’ वीरगञ्जमा सुवर्ण शम्शेरको निवास पनि थियो ।

पार्टी दुई तिहाइ मतसहित सरकारमा भएका बेला कांग्रेसको सातौं महाधिवेशन काठमाडौंको बालुवाटारस्थित लक्ष्मीनिवास (सुवर्ण शम्शेरको दरबार) मा सम्पन्न भएको थियो । २०१७ साल बैशाख २५–३१ गते सम्पन्न उक्त महाधिवेशनले बीपी कोइरलालाई सभापतिमा निर्वाचित गरेको थियो । बीपी ५ हजार ९ सय ७३ मत ल्याएर सभापतिमा विजय भए भने उनका प्रतिद्वन्द्वी डा. भूदेव राईले ८६५ मत ल्याएका थिए । कांग्रेस विरोधी र बीपीलाई नचाहनेहरूले त्यसबेला राईलाई निकै महत्व दिएर समाचारहरू प्रकाशित गरेका थिए ।

२०१७ सालको शाही ‘कू’ पछि कांग्रेसको आठौं महाधिवेशन एकैचोटी २०४८ साल फागुन पहिलो साता झापाको कलबलगुडीमा भएको थियो । २०१७ सालको पार्टी विधान (संशोधित) अनुसार महाधिवेशनमा २०५ निर्वाचन क्षेत्रबाट ७ जनाका दरले महाधिवेशन प्रतिनिधिहरू सहभागी थिए ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सर्वोच्च नेता गणेशमान सिंहबीच विवाद निकै चर्केका बेला त्यो महाधिवेशन भइरहेको थियो । त्यसैले पनि हुनुपर्छ गिरिजाप्रसाद पनि सभापतिमा कृष्णप्रसाद भट्टराईको विरुद्वमा देखिएनन् । अनि भट्टराई सर्वसम्मत सभापतिमा निर्वाचित भए ।

२०५३ बैशाख २७–३१ गतेदेखि काठमाडौं नयाँबानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित नवौं महाधिवेशनमा गिरिजाप्रसाद कोइराला, चिरञ्जिवी वाग्ले र रामहरि जोशी सभापतिका प्रत्यासी थिए । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतको साथ र सहयोगमा वाग्ले सभापतिको उम्मेदवार बनेका भए पनि उक्त महाधिवेशनमा कोइराला भारी मतले विजयी भए । कोइरालाले १ हजार १ सय ४४ मत पाएका थिए भने वाग्लेले २५४ मत । जोशीले १२ मतमात्र पाएका थिए ।

२०५७ माघ ६–१० गतेसम्म पर्यटकीय नगरी पोखरामा सम्पन्न दसौं महाधिवेशनमा कोइरालासित शेरबहादुर देउवाले प्रतिस्पर्धा गरेका थिए । त्यसपटक पनि रामहरि जोशीले सभापतिमा उम्मेदवारी दिएका थिए । उक्त महाधिवेशनमा कोइरालाले ९३६ मत र देउवाले ५०७ मत ल्याएका थिए । जोशीले भने १० मतमात्र पाए । यसै महाधिवेशनदेखि सभापतिमा विजयी हुन खसेको मतको ५० प्रतिशत कटाउनुपर्ने विधानमा व्यवस्था गरिएको छ ।

२०५९ असारमा देउवाको समूह पार्टीबाट अलग भएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेर अगाडि बढेको अवस्थामा एघारौं महाधिवेशन भएको थियो । २०६२ भदौ १४–१७ मा सम्पन्न एघारौं महाधिवेशनमा गिरिजाप्रसाद कोइरालालाई अर्का नेता नरहरि आचार्यले सभापतिमा चुनौती दिएका थिएन । उक्त महाधिवेशनमा कोइरालाले १२१५ र आचार्यले १६५ मत ल्याएका थिए । १४७२ मतदाता रहेकामा १४०२ मत खसेको थियो ।

२०६७ असोजमा काठमाडौँमा सम्पन्न बार्‍हौं महाधिवेशनमा सुशील कोइराला र शेरबहादुर देउवा सभापतिका प्रत्यासी थिए । त्यसमा कोइरालाले १,६५२ र देउवाले १,३१७ मत पाएका थिए । अर्का प्रत्यासी भीमबहादुर तामाङले ७८ मत ल्याएका थिए । यस महाधिवेशनदेखि पार्टी क्लस्टर अनुरूप समावेशी ढाँचामा गएको थियो ।

तेर्‍हौं महाधिवेशन २०७२ फागुन २१–२५ गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो । सुशील कोइरालाको निधन भएकाले कार्यबाहक सभापति रामचन्द्र पौडेलले उक्त महाधिवेशन उद्घाटन गरेका थिए । ३ हजार १ सय ८८ महाधिवेशन प्रतिनिधि सहभागी उक्त महाधिवेशनमा सभापतिका लागि पौडेल, देउवा र कृष्णप्रसाद सिटौलाले प्रतिस्पर्धा गरेका थिए ।

८५ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि ६४ पदमा निर्वाचन भएको थियो भने बाँकी मनोनित गर्ने व्यवस्था थियो । सभापतिको उम्मेदवारले खसेको मतको ५० प्रतिशत कटाउनुपर्नेमा कुनै पनि उम्मेदवारले उक्त प्रतिशत पुर्‍याउन नसकेकाले दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणमा देउवाले १ हजार ८ स २२ र पौडेलले १ हजार २ सय ९६ मत पाएका थिए । अर्का उम्मेदवार सिटौला भने पहिलो चरणबाटै ‘रिङ आउट’ हुन पुगेका थिए । उनले ३२४ मत पाएका थिए ।

कांग्रेस महाधिवेशन

ध्रुव

Link copied successfully