कांग्रेस महाधिवेशन : भवानीपुरदेखि भृकुटीमण्डपसम्म

मंसिर २४, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबार राजधानीमा सुरु हँदैछ । कांग्रेसको प्रथम महाधिवेशन कोलकाताको भवानीपुरमा २००३ साल माघ १२ र १३ गतेमा भएको थियो । महाधिवेशनमा टंकप्रसाद आचार्य सभापति र बीपी कोइराला कार्यवाहक सभापति भएका थिए । 

दोस्रो महाधिवेशन बनारसमा २००४ साल माघ २० र २१ गते भएको थियो । यसैगरी तेस्रो महाधिवेशन भारतकै दरभंगामा २००५ साल फागुन १८ देखि २० गतेसम्म भएको थियो । भारतकै कोलकातामा २००६ साल चैत २६ र २७ गते भएको चौथो महाधिवेशनमा सभापतिमा मातृकाप्रसाद कोइराला सभापति बनेका थिए ।

कांग्रेसको पाँचौं महाधिवेशन जनकपुरमा भएपछि बीपी कोइराला पुन: सभापतिमा निर्वाचित भएको कांग्रेसको इतिहास छ । वीरगञ्जमा २०१२ साल माघ ९ देखि १३ गतेसम्म भएको छैटौं महाधिवेशनमा सुवर्ण शम्शेर  राणा सभापति भएका थिए । सोही अवधिमा २०१४ साल जेठ १० देखि ११ गते विराटनगरमा भएको विशेष महाधिवेशनमा बीपी कोइराला सभापति निर्वाचित भए ।

 २०१७ वैशाख २५ देखि ३१ गतेसम्म काठमाडौंमा भएको सातौं महाधिवेशनमा बीपी नै सभापतिमा निर्वाचित भएका थिए । २०४८ साल फागुन १ देखि ३ गतेसम्म झापामा भएको आठौं महाधिवेशनबाट कृष्णप्रसाद भट्टराई सभापतिमा निर्वाचित भएका थिए । 

यसैगरी २०५३ साल वैशाख २६ देखि ३० गतेसम्म काठमाडौंमा भएको नवौं महाधिवेशन, २०५७ माघ ६ देखि १० गतेसम्म पोखरामा भएको १०औं महाधिवेशन र काठमाडौंमै २०६२ भदौ १ देखि ४ गतेसम्म भएको ११औं महाधिवेशनमा गिरिजाप्रसाद कोइराला लगातार तीनपटक सभापति भएका थिए । 

कांग्रेसको २०६७ असोज १ देखि ५ गतेसम्म काठमाडौंमा भएको १२औं महाधिवेशनबाट सुशील कोइराला सभापतिमा निर्वाचित भएका थिए भने वर्तमान पार्टी सभापति शेरबहादुर देउवा २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौंमै भएको १३औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए ।

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully