काठमाडौँ — नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि शेखर कोइरालाले प्यानलसहित उम्मेदवारी दिएका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा साझा उम्मेदवार खडा गराउन नसेकपछि कोइराला आफैं अघि सरेका हुन् । कोइरालाले सभापतिमा उम्मेदवारी दिएका छन् भने उनको प्यानलको उपसभापति पदका लागि धनराज गुरुङ र चन्द्र भण्डारीले उम्मेदवारी दिएका छन् ।
यस्तै महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजालले उम्मेदवारी दिएका छन् । सहमहामन्त्री देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त रामृष्ण यादव तेजुलाल चौधरी र वकिल मियाँ उम्मेदवार बनेका छन् ।
चालिसे खसआर्यबाट, लामा जनजाति, पन्त महिला, यादव मधेसी, चौधरी थारु समुदायबाट र मियाँ मुस्लिम समुदायबाट उम्मेदवार बनेका हुन् ।
यसअघि विश्वप्रकाश शर्मालाई महामन्त्री पदमा उम्मेदवार बनाउने भने पनि अन्तिम घडीमा रिजालले आफू महामन्त्री नछोड्ने भन्दै अडान लिएपछि शर्मा पछि हटेका थिए । शर्मा सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंहको प्यानलमा महामन्त्रीका उम्मेदवार बनेका छन् ।
सभापति शेरबहादुर देउवा समूहबाट प्रदीप पौडेल महामन्त्रीमा उम्मेदवार बनेपछि कांग्रेस प्रवक्ता समेत रहेका शर्मा असन्तुष्ट बन्दै सिंह प्यानलमा उभिएका हुन् ।
