कांग्रेस दूरबिन लगाएर खोज्नुपर्ने अवस्थामा पुगेको छ : सिंह

मंसिर २५, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको केन्द्रीय कार्यसमितिको सभापतिमा उम्मेदवारी घोषणा गरेका प्रकाशमान सिंहले आन्दोलन, महाधिवेशन र निर्वाचनका बेलामा मात्र पार्टी देखिने बताएका छन् । शनिबार रामशाहपथस्थित यलम्बर पार्टी प्यालेसमा आयोजित उम्मेदवारी घोषणासभामा सिंहले महाधिवेशनपछि कांग्रेस दूरबिन लगाएर खोज्नुपर्ने अवस्थामा पुगेको बताएका छन् ।

सिंहले आफ्नो घोषणापत्रमा भनेका छन्, ‘नेपाली कांग्रेस आन्दोलन, महाधिवेशन र निर्वाचनका वेलामा मात्र देखिन्छ अरू वेला कांग्रेस कहाँ हुन्छ ? आम जनताले अनुभूति गर्न सक्दैनन् । महाधिवेशनन सकिएपछि कांग्रेस कहाँ छ भनेर दूरबिन लगाएर खोज्नु पर्ने हुन्छ ।’ सिंहले कांग्रेसभित्र देखिएको गुटबन्दीले पार्टीको अवस्था कमजोर भएको पनि बताएका छन् । उनले अगाडि भनेका छन्, ‘एकातर्फ नेपाली कांग्रेस भेटिन्न केवल गुट भेटिन्छ, ‘ए’ कांग्रेस, ‘बी’ कांग्रेस ‘सी’ कांग्रेस । कार्यकर्ता पनि गुटकै भेटिन्छ तर नेपाली कांग्रेसका कार्यकर्ता त कहाँ हो कहाँ !’

त्यस्तै कार्यकर्ता तयार नगरी कोरा रूपमा पार्टी कब्जा गर्ने मनोविज्ञानबाट क्रियाशील सदस्यता वितरण गरिएको पनि सिंहको आरोप छ । ‘सक्रिय सदस्यताको औचित्य पार्टी अधिवेशनमा भोट हाल्नका लागि मात्र हो ? पार्टीलाई परेका वेला, आन्दोलन र निर्वाचनका वेला सक्रिय नहुने क्रियाशील सदस्यको औचित्य छैन । पार्टीमा यति लाख सदस्य पु¥यायौं भनेर गौरव गरेर मात्र हुँदैन । हामीले सदस्यता त दियौं तर तीनलाई कति कांग्रेस बनाएका छौं ? यो महत्वपूर्ण कुरा हो ।’ 

पार्टीको नेतृत्व कब्जा गर्नका लागि अराजक भीड जम्मा गर्दैमा कांग्रेस बलियो पार्टी नहुने सिंहको भनाइ छ । सिंह भन्छन्,  ‘कांग्रेसको सदस्यता बढ्दैछ तर काँगे्रस कमजोर बन्दैछ । सिद्धान्तनिष्ठ, सदाचार र आदर्श कार्यकर्ता पंक्ति थोरै भए पनि पार्टी बलियो र लोकप्रिय हुन्छ । क्रियाशील सदस्यताको नाममा अराजक भीड जम्मा गर्दैमा पार्टी बलियो हुँदैन । अब यसरी नेपाली कांग्रेस चल्न सक्दैन ।’  

यस्तो छ प्रकाशमान सिंहको उम्मेदवारी घोषणापत्र

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully