काठमाडौँ — नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गतको चुनावमा शेखर कोइराला प्यानलबाट महामन्त्री पदका लागि गगन थापा र मीनेन्द्र रिजाललाई उम्मेदवार बनाइएको छ । रामचन्द्र पौडेल पक्षबाट कोइरालालाई सभापतिको उम्मेदवार घोषणा गरिएसँगै प्यानल पनि बनाइएको छ ।
कोइरालाको प्यानलमा उपसभापतिमा धनराज गुरुङ, चन्द्र भण्डारी यस्तै महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजाललाई उम्मेदवार बनाइएको छ । यसअघि विश्वप्रकाश शर्मालाई महामन्त्रीको उम्मेदवार बनाउने तयारी गरिएको भएपनि मीनेन्द्र रिजालले आफू महामन्त्री नछाड्ने बताएपछि शर्मालाई हटाइएको छ ।
यस्तै सह-महामन्त्री खसआर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, जनजातितर्फबाट विकास लामा, महिलाबाट कमला पन्त, मधेसीबाट रामकृष्ण यादव, आदिवासी तर्फबाट तेजुलाल चौधरी र मुस्लिमबाट वकिल मियाँलाई उम्मेदवार बनाइएको छ ।
कांग्रेसमा दुइ महामन्त्री हुने प्रावधान छ । पौडेल पक्षको बैठकले दुइ महामन्त्री पदका लागि थापा र रिजाललाई आधिकारिक उम्मेदवारको रुपमा अघि सारेको हो।
यसअघि शर्मा सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बन्ने चर्चा थियो । कृष्णप्रसाद सिटौलानिकट प्रदीप पौडेललाई सभापति शेरबहादुर देउवाले महामन्त्रीमा उम्मेदवार बनाउने निर्णय गरेपछि उक्त समूहभित्र असन्तुष्टि बढेको थियो ।
* शेखर कोइराला प्यानलका महामन्त्री मीनेन्द्र र गगन हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । - सम्पादक
