त्रासमुक्त शासनको प्रतिबद्धता

देउवाले भने, ‘ओली सरकार गएर म प्रधानमन्त्री भएको भोलिपल्ट सारा मान्छेले मुक्ति पाएको महसुस गरे, अब हामीले त्यसलाई बचाउने कि नबचाउने ?’

मंसिर २५, २०७८

कलेन्द्र सेजुवाल

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार राजधानीमा सुरु भएको छ । भृकुटीमण्डपमा आयोजित उद्घाटन समारोहमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा डर–त्रासमुक्त शासनको निरन्तरताका लागि महाधिवेशनले महत्त्वपूर्ण निर्णय गर्ने बताएका छन् । उनले आफू पुनः सभापति निर्वाचित भए यसको ग्यारेन्टी लिने र तीनै तहको निर्वाचनमा पार्टीलाई जिताउने दाबी पनि गरेका छन् ।

देउवाले कुनै पनि तानाशाह नआउने र डर–त्रासमुक्त समाज हुने निर्णय यस महाधिवेशनले गर्ने बताए । ‘ओली सरकार गएर म प्रधानमन्त्री भएको भोलिपल्ट सारा मान्छेले मुक्ति पाएको महसुस गरे, अब हामीले त्यसलाई बचाउने कि नबचाउने ?’ उनले भने । आफूलाई पुनः सभापतिमा जिताउन आग्रह गर्दै उनले यही सरकारले स्थानीय तह र संसद्को निर्वाचन गराउने पनि उल्लेख गरे ।

कांग्रेसलाई महाधिवेशनको शुभकामना दिने क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको रक्षा र संवर्द्धनका लागि कांग्रेससँग सहकार्य गर्ने बताए । एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीलगायत सत्ता साझेदार दलको चाहिँ उनले चर्को आलोचना गरे । ‘केही साना दललाई आ–आफ्ना स्वार्थको रोटी सेकाउनुपरेको छ, कांग्रेसले औंला समात्न दिएन भने सरकारबाट हट्नुपर्ला कि भन्ने पीर छ,’ उनले भने, ‘उहाँहरू सँगसँगै हिँड्नुपर्छ भन्नुहुन्छ, त्यो सरकारमा जानलाई हो कि देश बनाउनलाई हो ?’ देशको समृद्धिका सवालमा एमाले एक्लै हिँड्न नचाहेको उनको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक दलहरूले ठूल्ठूला क्रान्ति र आन्दोलनमा सफलता पाए पनि सत्तामा गएपछि आन्दोलनका बेला गरिएका प्रतिबद्धताबाट पछि हट्ने गरेको बताए । ‘ठूलो पार्टी भएर सरकारमा गएपछि कहीँ न कहीँ मनोगतवाद, दम्भ र अहंकार आउँदो रहेछ,’ उनले भने, ‘यसले जनतासँग टाढा हुने तीतो यथार्थ अब दोहोरिनु हुँदैन ।’ उनले कसैले एक्लै हिँड्ने कुरा गर्छ भने त्यसबाट अहंकार जन्मिने र उसको ओरालो यात्रा सुरु हुने बताए ।

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजाको सक्रियताप्रति इंगित गर्दै निरंकुशताले शिर ठाडो पार्न खोजेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भइसकेको अवस्थामा कसैले त्यस्तो दुस्साहस गरे सफल नहुने उनको भनाइ थियो । ‘बरु राजाले पनि नयाँ पार्टी खोले हुन्छ,’ उनले भने । 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेसलगायत विभिन्न आन्दोलनका उपलब्धिलाई सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने बताए । निर्वाचन प्रणाली, शासकीय स्वरूप र नागरिकतासम्बन्धी समस्या समाधान नभए पुनः आन्दोलन हुने उनको भनाइ थियो । ‘राज्यका सबै अंगमा समुदायगत समानुपातिक प्रतिनिधित्वले मात्र लोकतन्त्रलाई बलियो बनाउँछ,’ उनले भने, ‘यसका लागि सरकार र सबै दलको बेलैमा ध्यान जानुपर्छ ।’

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले वर्तमान संविधानप्रति तराई–मधेसको असहमति कायमै रहेको बताए । आन्दोलन र क्रान्तिलाई दबाइए ज्वालामुखी जस्तै हुने उनले चेतावनी दिए । महाधिवेशन उद्घाटनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, मालेका महासचिव सीपी मैनाली, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले पनि बोलेका थिए ।

कार्यक्रममा भारतीय जनता पार्टीका नेता हर्षबर्धनले एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देखेको भन्दै नेपाली राजनीतिक दलहरूको संस्कारको प्रशंसा गरे । ‘एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्रीहरू भारतमा पनि देखेको छैन,’ उनले भने, ‘यस्तो दृश्य दुनियाँमा मैले कतै देखेको छैन, सबै विचारधाराको मानिस अटाउन ठूलो छाती चाहिन्छ ।’ भारतीय राष्ट्रिय कंग्रेसका महासचिव मुकुल वासनिकले नेपाली कांग्रेस लोकतन्त्रको महत्त्वपूर्ण कडी रहेको बताए ।

कांग्रेस नेता चुनावकेन्द्रित

उद्घाटन समारोहमा कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरू पार्टीको निर्वाचनलाई केन्द्रमा राखेर प्रस्तुत भएका थिए । सभापति देउवाले आफूलाई पुनः सभापतिमा जिताउन आग्रह गरे । वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीको निरंकुशता अन्त्य गरे पनि देउवा सरकारले गति लिन नसकेको आरोप लगाए । ‘संघर्ष गरेर उपलब्धि हासिल गरे पनि लापरबाहीका कारण उपलब्धि व्यवस्थित हुन सकेको छैन, सरकार पनि गतिहीन छ,’ उनले भने, ‘हामीले पार्टीभित्र आन्तरिक लोकतन्त्र पनि बलियो बनाउन सकेनौं ।’

काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार आयोजित कांग्रेसको चौधौं महाधिवेशन उद्घाटन समारोहमा उपस्थित नेता–कार्यकता । तस्बिर : अंगद ढकाल/कान्तिपुर

उपसभापति विमलेन्द्र निधिले महाधिवेशनले हिमाल, पहाड र तराईलाई जोड्ने बताए । अर्का उपसभापति विजयकुमार गच्छदारले कांग्रेसले सबै जाति, समुदायको भावनाको कदर गर्नुपर्ने धारणा राखे । महामन्त्री शशांक कोइरालाले महाधिवेशनमा नेतृत्वको विषयमात्र चर्कोसँग उठेको बताउँदै नीतिको बहस गौण भएको टिप्पणी गरे । कांग्रेस र सरकारले कृषिमा जोड दिनुपर्ने उनको भनाइ थियो । अर्का महामन्त्री पूर्णबहादुर खड्काले गत निर्वाचनमा कांग्रेस सानो आकारमा खुम्चिए पनि ओली सरकारको सर्वसत्तावादसँग लड्दै कर्णाली प्रदेशबाट सत्तारोहण सुरु भएको बताए ।

कांग्रेस महाधिवेशन

कलेन्द्र

Link copied successfully