कांग्रेस महाधिवेशन

देउवा-सिटौला मिले, अर्को पक्षलाई दबाब

कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेस सभापतिका प्रत्याशी शेरबहादुर देउवाले विजय सुनिश्चित गर्न तेस्रो धारका नेता कृष्णप्रसाद सिटौलासँग समीकरणको बाटो लिएका छन् । प्रतिस्पर्धी समूह भने साझा उम्मेदवार तय गर्न संघर्षरत छ । महामन्त्रीमा युवा नेता प्रदीप पौडेललाई उठाउने गरी देउवासँग सहमति भएको जानकारी सिटौलाले आफ्ना नेताहरूलाई दिएका छन् ।

शुक्रबार महाधिवेशन उद्घाटनपछि साँझ बन्दसत्र चलिरहेकै बेला एउटा कुनामा आफ्नो समूहका नेताहरूलाई बोलाएर उनले खानेपानीमन्त्रीसमेत रहेका उमाकान्त चौधरीलाई पनि थारू कोटाबाट सहमहामन्त्रीको उम्मेदवार बनाउन देउवा तयार भएको जानकारी दिएका थिए ।

‘शेरबहादुरजीसँग बिहान (शुक्रबार) भएको छलफलमा प्रदीपलाई महामन्त्री र उमाकान्तलाई सहमहामन्त्रीको उम्मेदवार बनाउने सहमति भएको छ, सदस्यको विषयमा छलफल चलिरहेको छ’ सिटौलाको भनाइ उद्धृत गर्दै नेविसंघ महामन्त्री बलदेव तिमिल्सिनाले भने । सिटौलाको दाबीमा देउवा अडिग रहे महामन्त्रीमा गगन थापा र प्रदीप पौडेलबीच पनि प्रतिस्पर्धा हुनेछ, यद्यपि कांग्रेसमा दुई महामन्त्रीको व्यवस्था छ । महामन्त्रीमा संस्थापनबाट प्रकाशशरण महत, बालकृष्ण खाँणको दाबी छ भने इतरसमूहबाट मीनेन्द्र रिजालको सम्भावना छ । त्यस्तै देउवानिकट एनपी साउदले पनि उपसभापति वा महामन्त्रीमध्ये एकमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

सिटौलासँग संवाद गरेर आफ्नो उम्मेदवारीलाई बलियो बनाए पनि देउवाले आफ्नै समूहका आकांक्षीहरूलाई कहाँ/कहाँ राख्ने भन्नेबारे मुख खोलेका छैनन् । उनले महाधिवेशनको उद्घाटन मञ्चबाटै आफ्ना पक्षमा भोट माग्दा उनकै टिमबाट पदाधिकारी उठ्न खोज्ने नेताहरू भने प्रतिनिधिहरूमाझ अलमलमा परेका थिए । ‘को–को उपसभापति हुने, को–को महामन्त्री र सहमहामन्त्री हुने भन्ने निर्णय देउवाले आफ्नो समूहका कसैलाई पनि सुनाएका छैनन् । आकांक्षीहरूलाई अन्तिमसम्म बाँधेर राख्ने र असन्तुष्ट भए पनि अर्को समूहमा जान समय नै नदिने रणनीति उनले लिएका छन् ।

देउवा र सिटौलाको समीकरणले चुनौती बढाएपछि प्रतिस्पर्धी समूहले साझा उम्मेदवार बनाउन शुक्रबार मध्यरातसम्म छलफल गरेको थियो । बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको बैठकमा रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाएर अन्य आकांक्षीलाई पदाधिकारीमा राख्ने गरी समझदारी जुटाउने प्रयत्न पनि भएको थियो । ‘पौडेललाई राष्ट्रपति वा प्रधानमन्त्रीमा व्यवस्थापन गर्ने गरी अन्य आकांक्षीलाई आफ्नो टिममा आउन प्रकाशमानजीको आग्रह थियो, मेरो टिममा बस्न कसैलाई आपत्ति हुन्न, मेरो नाममा सहमति हुन्छ भने ठीक छ । हुन्न भने म उम्मेदवारी दिन्छु भन्दै उहाँ हिँड्नुभयो,’ बैठकका सहभागी एक नेताले बताए । उता शेखरले भने ‘प्रकाशमानजी तयार भएको भए मलाई आपत्ति छैन । तर प्रकाशमानजीले मान्नुभएन भने तपाईं (पौडेल) ले मलाई समर्थन गर्नुपर्छ भन्ने शेखरजीको भनाइ थियो,’ ती नेताले भने ।

प्रकाशमानले भने अडान बदलेनन् । ‘पौडेलको नेतृत्वमा टिम बनाएर जाँदा सबै अटाउन सक्ने प्रस्ताव आएको थियो, त्यसमा सहमत गराउन शशांकले पनि प्रयास गर्नुभयो । शेखर सकारात्मक भए पनि प्रकाशमान आफ्ना कुरा राखेर बाहिरिएपछि बैठक अघि बढ्न सकेन,’ सहभागी अर्का नेताले भने । अब भने यो समूहबाट एक मात्र उम्मेदवार हुने सम्भावना कम रहेको नेता बलबहादुर केसीले बताए । ‘तर शनिबार बिहान पनि हामी प्रयास गर्छौं,’ उनले भने । शनिबार बिहान १० देखि अपराह्न ५ बजेसम्म नामांकन दर्ता गर्ने समय छ । त्यस्तै नाम फिर्ता लिन आइतबार दिनभरको समय हुनेछ । मतदान भने सोमबार मात्र हुने हो ।

शेखर र प्रकाशमान दुवैले उम्मेदवारी दिएमा देउवालाई सहज हुनेछ । शेखरसँग युवाहरूको ठूलो पंक्ति जोडिन खोजेको छ । उनीहरू सबै शेखरको नेतृत्वमा पदाधिकारीमा युवा बाहुल्य रहने गरी टिम बनाउने गृहकार्यमा जुटेका छन् । ‘हामी कोही छिन्नभिन्न हुन्नौं, एकै ठाउँमा हुन्छौं’ युवा नेता गुरु घिमिरले भने, ‘यसले पार्टीमा नेतृत्व हस्तान्तरणको मुद्दालाई पनि सघाउँछ ।’

शेखरले महामन्त्रीमा गगनसहित पदाधिकारीमा चन्द्र भण्डारी, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, सरिता प्रसार्इं, किरण यादवलगायतका युवा पंक्तिलाई अघि सार्ने तयारी गरेका छन् । ‘मनोनयन गर्नुअघिसम्म सभापतिमै पनि सहमति गर्न सकिन्छ कि भन्ने झिनो आस छ, मिले भने राम्रो, नभए युवा जमात एउटै टिममा बसेर चुनाव लड्छ,’ घिमिरेले भने ।

प्रकाशमानले पनि टिमसहित शनिबार ११ बजे नै मनोनयन गर्ने तयारी अघि बढाएको बताए । उनको टिममा को–को बस्छन् भन्ने रातिसम्म यकिन भएको छैन । ‘बिहान टिमको टुंगो लाग्छ, त्यसपछि सभापतिमा किन उठ्दै छु भन्ने अवधारणा सार्वजनिक गरेर मनोनयनमा जान्छु,’ उनले भने ।

प्रकाशित : मंसिर २५, २०७८ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्

अमृत योन्जनको ‘तामाङ ताम’ सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — भाषा विज्ञानका अध्यता, मातृभाषा तथा बहुभाषिक शिक्षाका अभियन्ता अमृत योन्जन तामाङको ‘तामाङ ताम’ तामाङ भाषा सिक्ने हाते पुस्तक सार्वजनिक भएको छ ।

शुक्रबार बौद्धस्थित तामाङ भवनमा लेखक योन्जनसहित मानवशास्त्री मुक्त सिं तामाङ, नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङ लगायतको उपस्थितिमा जापानका लागि पूर्व नेपाली राजदूत गणेश योन्जनले पुस्तकको लोकार्पण गरे । पुस्तक तामाङ भाषाका व्याकरणिय कोशीय मूल शब्दमा आधारित छ ।

तामाङ भाषा सिक्न चाहनेहरुका लागि पुस्तक निकै उपयोगी हुने लेखक योन्जनले बताए । उनका अनुसार स्वयं शिक्षण विधिबाट तयार गरिएकोले जो कोहीले यसबाट आफै तामाङ भाषा सिक्न सक्छन् । ‘स्वदेश तथा विदेशमा तामाङ भाषा सिकाएको मसँग अनुभव थियो’ उनले भने,‘भाषा कक्षामा सहभागीले तामाङ भाषा सिक्ने पुस्तक लेख्न अनुरोध गरेकाले सिकाइलाई स्थायित्व दिन पठन सामग्रीको रुपमा पुस्तक तयार गरिएको हो ।’ तामाङ भाषा नजानेकालाई मात्र होइन जानेकाहरुलाई पनि विभिन्न क्षेत्रमा सोही भाषा प्रयोग गर्ने गरेकालाई समेत पुस्तक उपयोगी हुने योन्जनको दाबी छ । भाषाले मानिसलाई जोड्ने काम गर्ने बताउँदै योन्जनले तामाङ समुदायमा सेवा प्रदायकको हातहातमा पुस्तक पुग्न जरुरी रहेको सुनाए ।

प्रकाशित : मंसिर २४, २०७८ २२:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×