गाउँघरमा जाँदा नेतालाई कुन ‘चोर’ आयो भन्न थालिसके : राजेन्द्र लिङ्देन

‘सरकार सरकार जस्तो छैन, संसद् संसदजस्तो छैन, अदालत अदालत जस्तो छैन'

मंसिर २४, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले सबै राजनीतिक दलहरूले विश्वास गुमाएको बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा सम्बोधन गर्दै उनले  राजनीतिक आम जनताको दृष्टिकोणबाट हेर्दा लिक बाहिर गएको उल्लेख गरे ।

‘म यतिबेला सबै राजनीतिक दलहरुलाई आग्रह गर्न चाहन्छु । देशको  राजनीति अहिले आम जनताको दृष्टिकोणमा लिकबाट बाहिर गएको देखिन्छ’ उनले भने,‘‘सरकार सरकार जस्तो छैन, संसद् संसद्‌ जस्तो छैन, अदालत अदालत जस्तो छैन । यो सबलाई ठीक लगाउने कसले ? यसलाई ठीक लगाउने राजनीति हो । तर राजनीति ठीक छैन । यो राजनीति ठीक लगाउने नेताहरूले हो । तर नेताहरूले पूर्ण रुपमा विश्वास गुमाएको अवस्था छ ।’ 

उनले कांग्रेस महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै नेताहरूप्रति अहिले जनताको विश्वास गुमेको उदाहरण दिए । भने– ‘हाम्रो गाउँ घरतिर पार्टीको कार्यकर्ताले नेता आउँदा र छिमेकलाई आमन्त्रण गर्न जान्छ । तर नेताको नाम सम्झिदैनन् कुन चाँहि चोर आएछ आज भन्छन् । हाम्रो अवस्था यस्तो छ ।’

उनले महाधिवेशन एउटा औपचारिकता र वैधानिक पूरा गर्नेभन्दा पनि नेतृत्वको बिग्रेको छवि सुधार्ने अवसरको रुपमा लिनुपर्ने बताए । ‘२०४६ सालपछि बनेका कुनै पनि सरकारले पूरा कार्यकाल काम गर्न सकेनन् । नफुटेको पार्टी कुनै भएन । कहाँनेर त्रुटि भयो ? कहाँनेर हामी चुक्यौं ?’

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully