काठमाडौँ — राष्ट्रिय जनमोर्चा पार्टीकी उपाध्यक्ष दुर्गा पौडेलले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा चुनिने नयाँ पदाधिकारीहरू देशमा विद्यमान समस्याहरूलाई सम्बोधन गर्न सक्ने खालको हुनुपर्ने बताएकी छिन् । शुक्रबार महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै उनले कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम हुनेमा आफू ढुक्क भएको बताएकी छिन् ।
उनले नेपाली कांग्रेसले लोकतन्त्रलाई जोगाउन इतिहासदेखि नै लडाइँ लडिरहेको र आफूहरुले पनि त्यसमा साथ दिएको दुर्गाले बताइन् । 'हामीले ०६२/०६३ को आन्दोलनदेखि नै सहकार्य गर्दै अगाडि बढ्यौं । अहिले प्रतिगमनलाई चिर्न हामीले गठबन्धन बनाएर अगाडि बढेका छौं,' उनले भनिन्, 'अहिले पनि विभिन्न रूपमा प्रतिगमन देखा परिरहेकै छ । त्यसलाई परास्त गर्नका लागि सहकार्य आवश्य छ ।'
उनले १४ औं महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारीहरुले नेपालमा विद्यमान समस्याहरुको सम्बोधन गर्न झनै सशक्त रुपमा आउनेमा आफूलाई विश्वास रहेको बताएकी थिइन् ।
