२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

उम्मेदवार छान्न देउवाले पनि बोलाए गुटको बैठक

काठमाडौँ — कांग्रेस महाधिवेशनका लागि तीन दिनमात्रै बाँकी छ । तर अहिलेसम्म उम्मेदवारको टुंगो लागेको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा उम्मेदवारका विषयमा रस्साकस्सी चलिरहेका बेला सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफ्नो टिम बनाउने कसरत थालेका छन् ।

उम्मेदवार छान्न देउवाले पनि बोलाए गुटको बैठक

देउवाले बुधबार बिहान ९ बजे बालुवाटारमा आफ्नो गुटको बैठक बोलाएका छन् । सभापतिमा देउवाको उम्मेदवारी निश्चित छ । तर उनको टिमबाट को–को उम्मेदवार बन्ने भन्ने टुंगो लागेको छैन ।

उम्मेदवारीबारे निर्णय गर्न ढिला हुँदा प्रचार प्रसार गर्न नपाइएको भन्दै नेताहरूले गुनासो गर्दैआएका छन् । ‘उम्मेदवारीबारे छलफल त भइरहेको छ, तर टुंगो लागेको छैन,’ एक नेताले इकान्तिपुरसँग भने, ‘सभापतिज्यूले बुधबार बिहान ९ बजेका लागि बैठक बोलाउनुभएको छ ।’

देउवा गुटमा रहेका उपसभापति विमलेन्द्र निधिले यसअघि नै सभापतिमा उम्मेदवारी घोषणा गर्दै देउवाको साथ छाडिसकेका छन् । आकांक्षी धेरै भएकाले देउवालाई पनि उम्मेदवार छान्न सकस परेको छ ।

देउवा पक्षबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का आकांक्षी छन् । यस्तै महामन्त्रीमा प्रकाशशरण महत, बालकृष्ण खाँण, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखक आकांक्षी देखिएका छन् । सहमहामन्त्रीका लागि भने थुप्रै नेताले दाबी गर्दैआएका छन् । उनीहरूमध्ये धेरैजसो नेताहरू उक्त बैठकमा सहभागी हुने बुझिएको छ ।

देउवा पक्षका प्रवक्ता विश्वप्रकाश शर्माले पनि यसअघि महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् भने अर्का नेता एनपी साउदले अनामनगरमा सम्पर्क कार्यालय नै खोलेर प्रचार प्रसार थालेका छन् ।

पौडेल समूहबाट सभापतिका आकांक्षी रहेका वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिमा साझा उम्मेदवार छान्ने कसरत गरिरहेका छन् ।

प्रकाशित : मंसिर २१, २०७८ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?