कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१
कांग्रेस महाधिवेशन

कस्तो बन्ला देउवा टिम ?

गच्छदार र खड्कालाई उपसभापति तथा महत, खाँण र कार्कीमध्ये दुई जनालाई महामन्त्रीमा उठाउने देउवाको तयारी, सिटौला उपसभापति बस्न तयार भए गच्छदार बाहिरै
कुलचन्द्र न्यौपाने

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र महामन्त्री पूर्णबहादुर खड्कामात्र आकांक्षी देखिएका छन् तर महामन्त्री र सहमहामन्त्री उठ्न चाहेको संख्या धेरै छ । 

कस्तो बन्ला देउवा टिम ?

सहमहामन्त्रीसमेत रहेका प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, केन्द्रीय सदस्यहरू एनपी साउद र रमेश लेखकले महामन्त्री ताकिरहेको संस्थापनका नेताहरू बताउँछन् । देउवाका मुख्य सारथि पनि उनीहरू हुन् । तर देउवाले मुख नखोल्दा उनीहरू कसैले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छैनन् । देउवा आफ्नो समूहका आकांक्षीलाई व्यवस्थापन गर्नेभन्दा पनि आफ्नो जोखिमलाई न्यून गर्ने रणनीतिमा अघि बढेका छन् ।

प्रारम्भिक तथ्यांकअनुसार २१ वर्षदेखि ४५ वर्षसम्मका महाधिवेशन प्रतिनिधि मात्रै ५० प्रतिशतभन्दा बढी छन् । परिवर्तनका पक्षमा रहेका युवाको भावना सम्बोधन गर्नुपर्ने दबाबमा पनि देउवा छन् । प्रतिस्पर्धाको जोखिमलाई कम गर्न देउवाले संस्थापन इतरपक्षका प्रभावशाली नेताहरूलाई आफूतिर तान्ने कसरत गरिरहेका छन् । केही समयअघिसम्म उनको प्रयास महामन्त्री शशांक कोइरालालाई आफ्नो टिमबाट उपसभापतिमा उम्मेदवार बनाउन सकिन्छ कि भन्नेमा केन्द्रित थियो । त्यो सम्भावना टरेपछि उनले अर्का आकांक्षी प्रकाशमान सिंहलाई तान्न खोजेका थिए ।

सरकारमा उपप्रधानमन्त्री बनाउनेदेखि कार्यवाहक सभापतिसम्मको प्रस्ताव देउवाले राखेको सिंहनिकट स्रोतले बतायो । त्यसलाई सिंहले इन्कार गरेपछि देउवा पछिल्लोपटक पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई आफ्नो टिमबाट उपसभापति बनाउने कसरतमा छन् । ‘सभापतिजीले उपसभापति बनाउँछु भन्दै आउनुभएको छ, तर सिटौलाजीले हुन्छ र हुन्न केही भन्नुभएको छैन । प्रदेश अधिवेशनपछि मात्रै निर्णय लिन्छु भन्नुभएको छ,’ संस्थापनपक्षीय एक केन्द्रीय सदस्यले भने, ‘संस्थापन पक्षको टिम पनि प्रदेश अधिवेशनपछि नै घोषणा हुन्छ ।’

१३ औं महाधिवेशनमा सिटौलाकै साथले देउवा सभापति निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा राप्रपासँग गठबन्धन गर्न देउवाले सिटौलालाई प्रत्यक्षतर्फ ‘टिकट’ नदिई समानुपातिकमा राखेका थिए । सिटौलाको क्षेत्रमा राप्रपा नेता राजेन्द्र लिङ्देनलाई सघाउने निर्णय देउवाले गरेका थिए । आफूलाई नसोधीकनै समानुपातिक सूचीमा राखिएको भन्दै विद्रोह गरेपछि सिटौला प्रत्यक्षमा चुनाव लड्न गए । झापामा रातारात राप्रपा नेता लिङ्देनले एमालेसँग गठबन्धन गरे । अन्ततः सिटौला हारे र लिङ्देनले जिते । त्यस बेलादेखि नै सिटौला देउवासँग असन्तुष्ट थिए । देउवाको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएर विरोधी कित्तामा पुगेका सिटौला पछिल्लो समय देउवाप्रति नरम छन् । झापासहित केही जिल्लाका अधिवेशनमा देउवा र सिटौलाबीच गठबन्धन पनि बनेको छ ।

युवा नेता प्रदीप पौडेलका अनुसार सिटौलाका सामान्य तीन विकल्प छन्– आफैं सभापतिको उम्मेदवार बनेर प्रतिस्पर्धा गर्ने, सभापति देउवाको टिममा गएर चुनाव लड्ने र बाहिर बसेर आफ्नो समूहका नेताहरूलाई अघि बढाउने । ‘देउवासँग गइसक्नुभयो भन्ने कुरा सत्य होइन । जिल्लामा पनि देउवासँग मिलेर प्रतिस्पर्धा भएको छैन,’ सिटौलानिकट नेता पौडेलले भने, ‘प्रदेश अधिवेशन सकिएपछि सबै परिस्थिति मूल्यांकन गरेर निर्णय लिने कुरा होला ।’

सिटौलाले उपसभापतिमा प्रतिस्पर्धा गर्ने निर्णय गरे देउवालाई अहिले आकांक्षी रहेका उपसभापति गच्छदार र महामन्त्री खड्कामध्ये कसलाई कहाँ व्यवस्थापन गर्ने भन्ने चुनौती रहन्छ । ललिता निवास प्रकरणसम्बन्धी भ्रष्टाचार मुद्दा विचाराधीन रहेकै अवस्थामा देउवाले गच्छदारलाई बाहिर राखेर खड्का र सिटौलालाई उपसभापतिमा अघि बढाउन सक्ने देउवानिकट नेताहरू बताउँछन् । भ्रष्टाचार मुद्दा लागेपछि गच्छदारको सांसद पद निलम्बनमा छ । मुद्दाबाट सफाइ नपाए उनले आगामी निर्वाचनमा उम्मेदवार बन्न पनि पाउँदैनन् । पार्टीमा भने छुट छ । देउवाले महामन्त्रीमा महत, खाँण र कार्कीमध्येबाट दुई जनालाई अघि सार्ने योजना बनाएका छन् ।

संस्थापन पक्षमा देखिने युवा अनुहारको खडेरी छ । देउवाका लागि देखाउने अनुहार एनपी साउद र विश्वप्रकाश शर्मा हुन् । शर्माले केही दिनअघि महामन्त्रीको उम्मेदवार घोषणा गरिसकेका छन् । देउवाको कसरत सहमहामन्त्रीको संख्या थपेर भए पनि शर्मालाई आफ्नै टिममा ल्याउन केन्द्रित छ । तर शर्मा तयार छैनन् । शर्मा संस्थापन पक्षमै अडिने सम्भावना कम हुनुका पछि नेता सिटौला पनि कारण बनेका छन् । सिटौला देउवासँग जोडिए शर्मा संस्थापन पक्षबाट अलग हुने उनीनिकट नेताहरू बताउँछन् । जिल्ला राजनीतिदेखि नै सिटौला र शर्मा दुई विपरीत ध्रुवमा छन् ।

सुशील कोइराला सभापति छँदै शर्मा झापा जिल्लाको सभापति बन्न खोजेका थिए । सिटौलाको असहयोगकै कारण उनी पराजित भए । कोइरालाले आफ्नो कार्यकालमा नेविसंघका अधिकांश केन्द्रीय अध्यक्षलाई पार्टीको केन्द्रीय सदस्यमा मनोयन गर्दा शर्मालाई पारेनन् । त्यसमा पनि सिटौलाकै हात रहेको बुझाइ शर्माको छ । त्यसपछि नै उनी कोइराला समूह छाडेर देउवा कित्तामा पुगेका थिए । शर्मा देउवा कित्तामा पुग्दा सिटौला बाहिरिएका थिए । सिटौला भित्रिने संकेत पाएदेखि नै शर्मा देउवा कित्ताबाट टाढिँदै गएका छन् ।

साउदले देउवालाई भेटेरै महामन्त्री र उपसभापतिमध्ये एकमा दाबी रहेको बताएका छन् । साउदलाई पदाधिकारीमा राख्दा अर्का नेता रमेश लेखकलाई व्यवस्थापन गर्न कठिनाइ छ । साउद र लेखक सुदूरपश्चिमको राजनीतिमा प्रतिस्पर्धी हुन् । साउदलाई पदाधिकारी बनाउँदा लेखक असन्तुष्ट हुन सक्ने भय देउवामा छ । लेखकलाई अघि सार्दा साउद संस्थापन पक्षबाटै बाहिरिने पो हुन् कि भन्ने त्रास अर्कातिर छ । साउदलाई उपसभापति वा महामन्त्रीमा लडाउन संस्थापनइतर खेमाबाट नेता शेखर कोइरालाले चाहिरहेका छन् । पदाधिकारी व्यवस्थापन गर्न नसक्दा असन्तुष्टहरूलाई विमलेन्द्र निधिले समेट्न सक्ने चिन्ता पनि देउवालाई छ । महाधिवेशनलाई असर गर्ने डरले प्रधानमन्त्री नियुक्त भएको साढे चार महिनासम्म देउवाले निजी सचिवालयमा कसैलाई नियुक्ति गरेका छैनन् ।

प्रकाशित : मंसिर १६, २०७८ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?