न्यायालयमा देखिएको बिडम्बनाको जिम्मेवार कोही छैन जस्तो देखियो : पूर्वप्रधानमन्त्री चन्द- समाचार - कान्तिपुर समाचार

न्यायालयमा देखिएको बिडम्बनाको जिम्मेवार कोही छैन जस्तो देखियो : पूर्वप्रधानमन्त्री चन्द

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतमा देखिएको विवादबारे मुलुक सञ्चालक गरिरहेका नेताहरू जिम्मेवार नदेखिएको भन्दै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले असन्तुष्टि जनाएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनलाई बुधबार सम्बोधन गर्दै चन्दले सर्वोच्च अदालतमा देखिएको बेथितिप्रति प्रधानमन्त्री शेरबहादुर देउवाअगाडि नै असन्तुष्टि व्यक्त गरेका हुन् । 'अहिले न्यायालयमा बिडम्बना देखिएको छ । तर कोही जिम्मेवार छैन जस्तो अवस्था आएको छ,' चन्दले भने ।

सर्वोच्च अदालतको विवाद यसरी नै समाधान गर्नुपर्छ भन्ने आफ्नो धारणा नरहेको चन्दको भनाइ छ । उनले भने, 'यस्तै हुनुपर्छ भन्ने होइन तर निकास हुनुपर्छ ।' मुलुकमा अहिले देखिएको अवस्थाले कुनै न कुन‌ै स्वरुपको राजतन्त्रको आवश्यकता रहेको चन्दको भनाइ थियो ।

सर्वोच्च अदालतमा कात्तिक ८ गतेदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका छन् ।

नेपाल बारको नेतृत्वमा कानुन व्यवसायी देशभर विरोधमा उत्रिएका छन् । उनीहरूले प्रधानन्यायाधीश जबराले राजीनामा दिनैपर्ने अडान राखेका छन् । जबरा भने कोरोना संक्रमित भएर अस्पताल भर्ना हुँदा पनि बिदा नबसेर कुनै पनि हालतमा राजीनामा नदिने अडान राख्दै आएका छन् ।

प्रकाशित : मंसिर १५, २०७८ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्

विदेशबाट आउँदा के ल्याउन पाइन्छ, के पाइँदैन ?

नुमा थाम्सुहाङ

काठमाडौँ — गत सोमबार विदेशबाट नेपाल आएका ४ सय १५ जना यात्रुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २१ केजी सुन बरामद भयो । उनीहरुले प्रतिव्यक्ति ५०– ६० ग्रामसम्म सुन ल्याएका थिए । पछिल्लो समय विदेसिएकाले फर्कंदा ल्याउने सामानमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले कडा निगरानी गर्न थालेको छ ।

‘हामीले मंसिरको पहिलो साता नै सूचना निकालेर सचेत गराएका थियौं, हाल तीन सिफ्टमा करिब ५० कर्मचारी सामानको निगरानीका लागि खटाएका छौं’ विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक महेश भट्टराईले भने । विदेशबाट नेपाल आउने यात्रुलाई अपरिचित वा सामान्य परिचित व्यक्तिले सामान आफन्तकोमा पुर्‍याइदिन भन्दै अनुरोध गर्ने र विमानस्थलमा भन्सार जाँचका क्रममा ‘अवैध’ हुने गरेको गरेको भन्सार कार्यालयले सूचनामा जनाएको छ ।

आफन्तले ल्याइदिने मालसामानमा अन्य कुनै अवैध वस्तु लुकाइको छैन भन्ने सुनिश्चित नभएसम्म अरु कसैको मालवस्तु नलिन र नल्याउन भन्सार विभागले सूचनामार्फत अनुरोध गरेको छ । विदेशबाट त्रिभुवन विमानस्थल हुँदै नेपाल आउने यात्रुहरुले प्रचलित कानूनले दिएको सुविधाभन्दा बढी परिमाण र स्वरुपमा सुन, सुनका गहना, मोबाइल फोन, ल्यापटप तथा मदिराजन्य पदार्थ ल्याउन पाउँदैनन् ।

भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) अनुसार यात्रुले विदेशबाट आउँदा आफ्नो साथमा के के सामान ल्याउन पाउँछन् ?

- व्यक्तिगत प्रयोगको सुनको गहना ५० ग्रामसम्म

- चाँदीको गहना पाँच सय ग्रामसम्म

- एक लाख रुपैयाँसम्मको जवाहिरात जडित सुनका वा चाँदीका साथमा ल्याएको गहना गुरिया

- ट्याबलेट, ल्यापट, डेस्कटप कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर मोबाइल फोन, पेनड्राइभ एक/एक थान

- सात किलोसम्म खाद्य सामग्री

- एक लिटरसम्मको एक बोतल मदिरा

- लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान

- उपचार गराई फर्केका बिरामीले ल्याएका औषधि

- शारीरिक रुपमा अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान

- पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक/एक थान । जस्तै : डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, खेलाडीको खेलकुदसम्बन्धी फुटबल, भलिबल र ब्याटमिन्टन सेट ।

कति परिमाणभन्दा कुन सामान ल्याउन पाउँदैनन् ?

विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको एक सय ग्रामसम्मको सुनमा भन्सार महसुल बुझाई लैजान सक्छन् । सोभन्दा बढी परिमाणमा सुन ल्याएमा जफत समेत हुनेछ ।

ल्याएको सुनमा पहिलो ५० ग्रामसम्म प्रति दस ग्राम नौ हजार पाँच सय रुपैयाँ भन्सार शुल्क तिर्नुपर्छ भने पचास ग्रामभन्दा बढी थप पचास ग्रामसम्म प्रति दस ग्राम १० हजार पाँच सय रुपैयाँ शुल्क लाग्छ ।

विदेशबाट फर्केका यात्रुले सुनको गहनाको हकमा भने ५० ग्रामसम्म ल्याउँदा कुनै शुल्क लाग्दैन । ५० ग्रामभन्दा बढी एक सय ग्रामसम्म ल्याएमा प्रति दश ग्राम १० हजार पाँच सय रुपैयाँका दरले र सो परिमाणभन्दा बढी थप एक सय ग्रामसम्म सुनका गहनामा प्रति दश ग्राम १२ हजार रुपैयाँका दरले भन्सार महसुल बुझाई लैजान सक्छन् ।

विदेशबाट फर्केका नेपाली नागरिकले व्यक्तिगत प्रयोजनका उल्लेखित सामान भन्सार महसुल तिरी ल्याउन सक्छन् :

- टेलिभिजन, म्युजिक सिस्टम, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा, रेडियो एक/एक थान

- शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक्स धेरैमा १५ थान

- घरायसी प्रयोगका सामान्य किसिमका उपकरण जस्तै : मिक्सचर, जुसर, सिलाई, मेसिन, कुकर जस्ता सामान दुई/दुई थान

- दस किलोसम्म खाद्य परिकार

- व्यवसायिक पेशामा लागेका यात्रुको दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान दुई/दुई थान

- यी सामान बाहेक घरमा आवश्यक पर्ने वस्तु बढीमा दुई/दुई थान ।

विदेशबाट आउँदा के ल्याउन पाइन्छ, के पाइँदैन (विस्तृतमा)

प्रकाशित : मंसिर १५, २०७८ १४:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×