अध्यक्ष पदबाट विश्राम लिन थापालाई लिङ्देनको आग्रह- समाचार - कान्तिपुर समाचार

अध्यक्ष पदबाट विश्राम लिन थापालाई लिङ्देनको आग्रह

'म अध्यक्ष बन्दा कसैले अपमानित महसुस गर्नु पर्दैन'
कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका पूव महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनले अध्यक्ष कमल थापालाई अध्यक्ष पदबाट विश्राम लिन आग्रह गरेका छन् । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा लिङ्देनले समयको पद्चाप बुझेर एकपटक 'स्टेपडाउन' गर्न भन्दै विश्राम लिन आग्रह गर्दै आफू अध्यक्ष बन्दा कसैले अपमानित महसुस गर्नु नपर्ने बताएका हुने ।

उनले भने, ‘श्रद्धेय कमल थापा, उहाँलाई पनि आग्रह गर्न चाहान्छु, समयको पदचापलाई बुझ्नुहोस् । कार्यकर्ताको आवाजलाई बुझ्नुहोस् । राप्रपाभित्रका यी दुई, चार हजार प्रतिनिधि मात्र होइन, देश बाहिरका, राप्रपा बाहिरका लाखौंलाख राप्रपाका शुभेच्छुकहरु के भनिराखेका छन्, के चाहिराखेका छन्, कार्यकर्ताको त आवाज छदैछ, एकचोटी विश्राम गर्नुस् । एकचोटी स्टेपडाउन गर्नुस् । तपाईं राप्रपा छोडेर भाग्नोस् भन्ने होइन । तपाईं राजनीतिबाट भाग्नोस् भन्ने होइन, म बन्नुमा तपाईंको पनि लगानी छ । तपाईंको पनि मेहनत छ । राजेन्द्र लिङ्देन अध्यक्ष बन्दाखेरी कसैले अपमानित महशुस गर्नुपर्दैन ।’

उनले पार्टीभित्रको मात्रै नभई देशकै अपरिहार्य आवश्यकताले आफूले पार्टीको नेतृत्व लिन चाहेको बताए । नेता लिङ्देनले देश र धर्म बचाउनका लागि राप्रपा बलियो बनाउनुपर्ने बताए ।

मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनी पार्टीको आगामी महाधिवेशनमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका नेता राजेन्द्र लिङ्देनको पक्षमा रहेको भन्दै पत्रकार सम्मेलन गरेका थिए । सोही कार्यक्रमा लिङ्देनले अध्यक्ष थापालाई अध्यक्षबाट विश्राम लिन आग्रह गरेका हुन् ।

उक्त कार्यक्रममा अध्यक्ष लोहनीले पार्टीको नेतृत्व नयाँ पुस्तालाई दिनु पार्टी र देशको हितमा आवश्यक भएको बताएका थिए । उनले पार्टीभित्र नयाँ नेतृत्वले ठाउँ पाउनुपर्छ भन्ने आफ्नो भनाई र विश्वास रहेको उल्लेख गर्दै राप्रपाको नयाँ नेतृत्वमा राजेन्द्र लिङ्देनको पक्षमा उभिएको बताए ।

प्रकाशित : मंसिर १४, २०७८ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्

तलेजु भवानीलाई भित्र्याइयो हनुमानढोका

रसस

काठमाडौँ — गुह्येश्वरी जात्राका लागि निकालिएको तलेजु भवानीको मूर्तिलाई दुईदिने जात्रा समापन गरेसँगै हुनमानढोका दरबार क्षेत्रको मूल मन्दिरमा भित्र्याइएको छ ।


दुईदिने जात्राका लागि भवानीको मूर्ति आइतबार पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमा लगिएको थियो । आइतबार गुह्येश्वरी मन्दिरमा रातभर बलिसहित तान्त्रिक र गुप्ति पूजा गरिएको थियो । सोमबार बिहान गुह्येश्वरी र तलेजु भवानीको विशेष पूजापछि पशुपति क्षेत्रका विभिन्न स्थानमा गुह्येश्वरीको खट जात्रा गरिएको थियो । जात्रा सकी सोमबार राति मूर्ति तलेजु मन्दिरमा राखिएको पुजारी उद्धव कर्माचार्यले जानकारी दिनुभयो ।

गुह्येश्वरी जात्राका क्रममा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण नवमीको राति गुह्येश्वरी मन्दिरमा बलिसहित तान्त्रिक र गुप्ति पूजा गर्ने गरिन्छ । नवमीदेखि दुई दिनसम्म पशुपति क्षेत्रमा गुह्येश्वरी जात्रा सञ्चालन गरिन्छ । यो जात्रामा गुठी संस्थान र गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा समेबजीलगायत तान्त्रिक विधिले पूजा गर्दा चढाइने चिजबिज चढाएर पूजा आराधना गरिन्छ ।

गुह्येश्वरी र तलेजुलाई दिदीबहिनीका रूपमा पूजिने भएकाले दुवै मूर्ति उस्तै छन् । गुह्येश्वरीलाई दिदी र तलेजुलाई बहिनीका रूपमा पूजिने पुजारी जैन कर्माचार्यले बताए । मूर्ति तलेजु भवानीको मन्दिरबाट गुह्येश्वरी लैजाने सबै विधि तान्त्रिक प्रक्रियाबाट नै पूरा गरिने उनले बताए ।

गुह्येश्वरी मन्दिर क्षेत्रमा तलेजु भवानीलाई लैजानुअघि नै त्यहाँ ३२ हातको लिङ्गो ठड्याइएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले बताइन् । जात्राका लागि लिङ्गो पशुपति क्षेत्रस्थित भण्डारखालबाट सालको रुख काट्ने गरिन्छ । गत वर्ष कोरोना महामारीका कारण यो जात्राको विधिमात्र पूरा गरिएकामा यस वर्ष भव्यरूपमा जात्रा मनाइएको छ । तान्त्रिक विधिपूर्वक पूजा सकेपछि जात्राका लागि पशुपति सिर्जनशील युवा क्लबलाई जिम्मा दिइएको थियो । क्लबले गुह्येश्वरीको खटलाई पशुपति मन्दिर परिक्रमा गराई पशुपतिनाथका मूलभट्टबाट विधिपूर्वक पूजा गराउने परम्परा छ ।

पशुपतिनाथ मूल मन्दिरबाट अमालकोट कचहरीको डबलीमा लगेर पूजा गरिन्छ । त्यहाँबाट जयवागेश्वरीको नवालीटोलमा लगेर विधिवत् पूजा आराधना गरिन्छ । पशुपति क्षेत्रका विभिन्न स्थानमा हुने पूजा आराधनामा भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ । जात्राका लागि नेपाली सेनाको गुरुजुको पल्टनसमेत सहभागी हुने प्राचीनकालदेखिको परम्परा छ । नेपाली सेना, संस्थान, अमालकोट कचहरीलगायतले विधिपूर्वक छुट्टाछुट्टै पूजा गर्छन् । नवाली टोलमा निजी गुठीका गुठियारले पनि पूजा गर्ने अवसर पाउँछन् । नवालीटोलको पूजापछि रथलाई सिफल–ज्ञानेश्वर–कमलपोखरीमा पनि विशेष पूजा आराधना गरिन्छ ।

कमलपोखरीको विशेष पूजापछि कृष्ण पाउरोटी–तीनधारा पाठशाला–जमल–असन हुँदै सोमबार बेलुकी तलेजु भवानीको मन्दिरमा मूर्तिलाई लगिएको संस्थानले जनाएको छ । आइतबार यही मार्गबाट मूर्तिलाई गुह्येश्वरी मन्दिर लगिएको हो । उक्त जात्राका क्रममा धिमे बाजा, नायखी, बाँसुरी वादन गरिन्छ । जात्रामा नियमित भजनकीर्तन गर्ने समूहका सदस्य पनि सहभागी हुने गर्छन् । जात्रा सकिएसँगै सोमबार बेलुकी ६ बजे गुह्येश्वरीमा ठड्याइएको लिङ्गो ढालिएको थियो ।

जयप्रकाश मल्लको पालादेखि सुरु भएको यो जात्रा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण नवमी र दशमीमा हनुमानढोका दरबारबाट पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिरसम्म गरिन्छ । पशुपति क्षेत्रमा सञ्चालन हुने दर्जनौँ जात्रामध्ये एक गुह्येश्वरी जात्रा एक हो ।

प्रकाशित : मंसिर १४, २०७८ १४:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×