राप्रपाको र मेरो राष्ट्रवाद उस्तै हो : दाहाल- समाचार - कान्तिपुर समाचार

राप्रपाको र मेरो राष्ट्रवाद उस्तै हो : दाहाल

'राप्रापसँग मत, विचार र दर्शन मिल्दैन तर गोत्र मात्रै मिल्छ'
कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जस्तै राष्ट्रवादी भएको बताएका छन् । बुधबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा बोल्दै अध्यक्ष दाहालले आफ्नो राष्ट्रवाद र राप्रपाको राष्ट्रवाद उस्तै भएको टिप्पणी गरेका हुन् ।

उनले राप्रपा र आफ्नो पार्टीको मत भने नमिल्ने स्पष्ट पारे । तर पनि राप्रपाले संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्न सघाएर भिन्न परिस्थितिमा भिन्न खालको देशभक्ति देखाएको अध्यक्ष दाहालको तर्क थियो ।

अध्यक्ष दाहालले राप्रपाले ईतिहासतिर फर्केर राष्ट्रवादको कुरा उठाउने गरेको उल्लेख गर्दै आफूहरुले नेपाली जनतालाई राष्ट्रवादको मुख्य आधार बनाएर अघि बढेको दाबी समेत गरे । उनले भने, ‘हाम्रो मत त मिल्दैन । म गणतन्त्रवादी, धर्म निरपेक्षतावादी । तर म पनि तपाईंहरुजस्तै राष्ट्रवादी । राष्ट्रवादको व्याख्या गर्दा दुईटा आधारभूत कुरा छन् । एउटा राष्ट्रवाद भन्ने बित्तिकै अघि बढी हिजोको इतिहासमा भएका सकारात्मक र गौरवपूर्ण कुराहरुलाई आधार बनाएर अहिले पनि इतिहासतिरे फर्कने राष्ट्रवाद । एउटा, नेपालको सम्पूर्ण जनतालाई राष्ट्रवादको आधार मान्दै जनतातिरै फर्कन खोज्ने राष्ट्रवाद ।'

अध्यक्ष दाहालले राजनीतिक विचारधारा फरक भएर पनि राप्रपाका नेता, कार्यकर्ताहरुले मुलुकमा राजनीतिक अस्थिरता हुन नदिनका लागि संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणमा साथ दिएको विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा दाहालले राप्रपासँग आफ्नो मत, विचार र दर्शन नमिले पनि राष्ट्रिय भावना,स्वाधिनताको विषयमा मिल्ने बताए । उनले राष्ट्रियताको सवालमा मत मिल्नै भएकाले राप्रपालाई आफूले उस्तै उस्तै गोत्र भएको उल्लेख गरे ।

प्रकाशित : मंसिर १५, २०७८ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्

न्यायालयमा देखिएको बिडम्बनाको जिम्मेवार कोही छैन जस्तो देखियो : पूर्वप्रधानमन्त्री चन्द

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतमा देखिएको विवादबारे मुलुक सञ्चालक गरिरहेका नेताहरू जिम्मेवार नदेखिएको भन्दै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले असन्तुष्टि जनाएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनलाई बुधबार सम्बोधन गर्दै चन्दले सर्वोच्च अदालतमा देखिएको बेथितिप्रति प्रधानमन्त्री शेरबहादुर देउवाअगाडि नै असन्तुष्टि व्यक्त गरेका हुन् । 'अहिले न्यायालयमा बिडम्बना देखिएको छ । तर कोही जिम्मेवार छैन जस्तो अवस्था आएको छ,' चन्दले भने ।

सर्वोच्च अदालतको विवाद यसरी नै समाधान गर्नुपर्छ भन्ने आफ्नो धारणा नरहेको चन्दको भनाइ छ । उनले भने, 'यस्तै हुनुपर्छ भन्ने होइन तर निकास हुनुपर्छ ।' मुलुकमा अहिले देखिएको अवस्थाले कुनै न कुन‌ै स्वरुपको राजतन्त्रको आवश्यकता रहेको चन्दको भनाइ थियो ।

सर्वोच्च अदालतमा कात्तिक ८ गतेदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका छन् ।

नेपाल बारको नेतृत्वमा कानुन व्यवसायी देशभर विरोधमा उत्रिएका छन् । उनीहरूले प्रधानन्यायाधीश जबराले राजीनामा दिनैपर्ने अडान राखेका छन् । जबरा भने कोरोना संक्रमित भएर अस्पताल भर्ना हुँदा पनि बिदा नबसेर कुनै पनि हालतमा राजीनामा नदिने अडान राख्दै आएका छन् ।

प्रकाशित : मंसिर १५, २०७८ १४:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×