भूसालले लिए केन्द्रीय सदस्यको शपथ

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेको उपाध्यक्षमा पराजित घनश्याम भूसाल केन्द्रीय सदस्यमा भने निर्वाचित भएका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीबाट केन्द्रीय सदस्यको शपथ ग्रहणसमेत गरे ।

एमालेको विधान अनुसार पदाधिकारीका उम्मेदवार स्वतः केन्द्रीय सदस्यको उम्मेदवार हुने प्रावधान छ। उपाध्यक्षमा ७२५ मत ल्याएका भूसालले केन्द्रीय सदस्यमा १२६५ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक विजय सुब्बाले जानकारी दिए ।

यस्तै, अध्यक्षमा पराजित भीमबहादुर रावल पनि केन्द्रीय सदस्यमा निर्वाचित भए । उनले ९०४ मत प्राप्त गरे तर शपथ लिएनन् ।

सचिवमा पराजित भीम आचार्यले १३९३ मत ल्याउँदै केन्द्रीय सदस्यमा निर्वाचित भए । सचिवमा आचार्यले ७८८ मत ल्याएका थिए । सचिवमा पराजित टंक कार्कीले केन्द्रीय सदस्यमा ९०५ मत ल्याउँदै निर्वाचित भएका छन् ।

प्रकाशित : मंसिर १४, २०७८ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्

१० वर्षअघि निर्माण थालिएको स्कुलको शौचालय अझै अधुरो

टीकाप्रसाद भट्ट

रामेछाप — मन्थली नगरपालिका-२ पिपलेस्थित गौरीशंकर आधारभुत विद्यालयमा १० वर्षअघि सुरु भएको शौचालय निर्माणको काम अझै अधुरो छ ।


तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सहयोगमा मार्फत् निर्माण थालिएको उक्त शौचालय पूरा नहुँदा स्कुले बालबालिकाहरू वर्षौंदेखि नजिकैको पाखामा शौच गर्न बाध्य छन् ।

शान्ति तथा पुनर्निर्माण मन्त्रालयको बजेटमा तत्कालीन जिल्ला प्राविधिक कार्यालयले उक्त विद्यालयमा शौचालय निर्माणको काम थालेको थियो । प्राविधिक कार्यालय संघीयता कार्यान्वयनमा आएसँगै खारेज भएको छ । खारेज भएको कार्यालयले सम्पादन गर्दैआएका विकासका कार्यक्रम अलपत्र छन् ।

विद्यालयका प्रअ रामकुमार अधिकारी अधुरो रहेको शौचालय पूरा गराउन विभिन्न निकायमा धाए पनि कसैले चासो नदिएको गुनासो गर्छन् । ‘प्राविधिक कार्यालयको जिम्मेवारी कता सरेको छ भन्ने कुराको जानकारीसमेत हामीलाई भएन’ अधिकारी भन्छन् – 'अधुरो रहेको शौचालय पूरा गर्न पाए बालबालिकाले सुरक्षित शौचालय प्रयोग गर्न पाउँथे ।'

उक्त शौचालय पूरा गर्न करिब ५ लाख रुपैयाँ भए पुग्ने अधिकारीको अनुमान छ । विद्यालयसँग आन्तरिक आय नभएकाले उक्त निर्माण सम्पन्न गर्न कठिन रहेको शिक्षकहरू बताउँछन् । वडा र नगरपालिकामा शौचालय पूरा गरिदिन अनुरोध गरेको तर बजेट विनीयोजन नभएको गुनासो प्रअले गरे ।

गौरीशंकर आधारभुत विद्यालयको शौचालय मात्र हैन, तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयले द्वन्द्वोत्तर शान्ति परियोजना मार्फत् थालेका जिल्लाका अन्य विकास निर्माणका आयोजनासमेत अधुरै छन् । खिम्तीको सहिद गेट जग मात्र निर्माण गरेर अलपत्र छाडिएको छ ।

यसैगरी भूजीको सहिद पार्क, बेथानको पानीघाट सहिद स्मृति पार्क, दोरम्बाको शान्ति पार्क बजेट र जिम्मेवारी नहुँदा अधुरै छन् । गाउँ विकास समितिका भवन र विद्यालयको समेत काम गर्ने उक्त परियोजनाले केही भवन पूर्ण नगरी बाहिरिएको थियो । जिल्लामा हाल उक्त आयोजनाहरूका बारेमा जानकारी खोज्दा कुनै निकायमा पाइँदैन ।

अधुरो रहेका केही योजना स्थानीय सरकारले आफ्नै ढुंगले पूरा गरेका छन् । माओवादीले थालेको जनयुद्धमा सबैभन्दा पहिलो फौजी आक्रमण भएको बेथान प्रहरी चौकीमा मारिएका ३ जना माओवादी नेताहरूको स्मृतिमा शालिक निर्माण र पार्कको काममा पालिकालेसमेत लगानी गरेको छ । निर्वाचन क्षेत्र विशेष कार्यक्रमको बजेट समेत परिचालन गरी अधुरो योजना सम्पन्न गरेको सुनापति गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : मंसिर १४, २०७८ २०:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×