अध्यक्षको शपथ ग्रहणपछि ओलीले भने - हाम्रो पार्टीलाई बाह्य र आन्तरिक हमला भइरहेको छ


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई आन्तरिक र बाह्य हमला भइरहेको जिकिर गरेका छन् । १०औं महाधिवेशनको क्रममा विरोधीहरूले पार्टीका नेताहरूलाई उक्साएको र भड्काउन खोजे पनि सफल हुन नसकेको उनले बताए ।

'विरोधीहरूले भड्काइरहेका थिए, उक्साइरहेका थिए । शान्त र एकताबद्ध माहोल भएपछि यस्ता हुतिहाराहरू भन्दै उक्साउँदै थिए । तर हाम्रो कार्यकर्ता पंक्ति हल्का फुल्का गैरजिम्मेवार रुपमा चल्दैन,' उनले भने । तर, कार्यकर्ता पंक्तिले इमान्दारिता देखाएको भन्दै त्यसको प्रशंसा गरे ।
साथै, पार्टीलाई जोगाउँदै अझ बलियो बनाएर जनतासँग एकीकृत बनाउनुपर्ने उनले बताए । अध्यक्ष ओलीले मंगलबार महाधिवेशन समापन समारोहको क्रममा शपथ ग्रहणपछि यस्तो बताएका हुन् ।
उनले अबको ३ महिनासम्म पार्टी प्रवेश अभियान चलाउने बताएका छन् । पार्टी एकीकरणको अभियान सञ्चालन गर्ने उनको भनाइ थियो । विभिन्न पार्टीबाट कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने अभियान नै चलाउने उनले बताए ।
महाधिवेशन सफलतापूर्वक समापन गराएकोमा स्यवंसेवक, कार्यकर्तासहित सहयोगी र सहभागी सबैलाई उनले धन्यवाद दिएका थिए । अध्यक्ष ओलीले आगामी मंसिर २५ गते नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक बस्ने पनि जानकारी दिएका छन् ।
नेकपा एमालेको १०औं महाधिवेशन ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै चितवनको सौराहामा मंगलबार राति औपचारिक रुपमा सम्पन्न भएको छ । साथै, महाधिवेशनले १९ सदस्यीय पदाधिकारी चयन गरेको छ।
प्रकाशित : मंसिर १४, २०७८ २०:१२