सर्वोच्च अदालतको बेथितिप्रति एमाले महाधिवेशनबाट खेद प्रस्ताव पारित- समाचार - कान्तिपुर समाचार

सर्वोच्च अदालतको बेथितिप्रति एमाले महाधिवेशनबाट खेद प्रस्ताव पारित

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतमा उत्पन्न विवादप्रति एमालेको १०औं महाधिवेशनले खेद प्रस्ताव पारित गरेको छ । एमालेको घोषणा तथा शपथग्रहण सभामा पार्टीका तर्फबाट नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले राखेको प्रस्तावलाई महाधिवेशनले पारित गरेको हो ।

नेतृत्वका लागि भएको निर्वाचनपछि मंगलबार साँझ ज्ञवालीले महाधिवेशनको बन्दसत्रमा विभिन्न १७ प्रस्ताव पेस गरेका थिए । अदालतबारे उक्त प्रस्तावमा भनिएको छ, 'सर्वोच्च अदालत परिसरभित्र हाल देखा परेका बेथिति, अराजकता र जनताको न्याय पाउने हकको हननप्रति महाधिवेशन खेद व्यक्त गर्दछ । निश्चित समूहको स्वार्थ पूर्तिका लागि न्यायालयलाई बन्धक नबनाउन खबरदारी गर्दै यो महाधिवेशन न्याय पाउने नागरिकहरूको हकको प्रत्याभूति गर्न र न्यायालयलाई भ्रष्टाचारमुक्त, स्वच्छ एवं सक्षम बनाउन यो महाधिवेशन सम्बन्ध सबै पक्षसँग आह्वान गर्दछ ।'

एमाले महाधिवेशनले प्रतिनिधिसभाको दोस्रो विघटनविरुद्ध संवैधानिक इजलासले २०७८ असार २८ गते जारी गरेको परमादेशको पनि आलोचना गरेको छ । उक्त परमादेशका कारण नै अहिले सर्वोच्च अदालतमा विवाद उत्पन्न भएको एमालेको ठहर छ ।

'२‍०७८ असार २८ को परमादेश सत्ता गठबन्धनका स्वार्थका लागि न्यायालय र राजनीतिक पक्षबीच भएको सेटिङको परिणाम र राजनीतिक उद्देश्यले प्रेरित फैसला थियो भन्ने कुरा सर्वोच्च अदालतभित्र देखा परेका पछिल्ला घटनाक्रमहरूले पुष्टि गरेका छन्,' महाधिवेशनले पारित गरेको प्रस्तावमा भनिएको छ, 'त्यही फैसलाकै सहउत्पादनका रूपमा समस्या झांगिँदै गएर आज हजारौं नागरिक न्याय पाउनबाट बञ्चित मात्रै भएका छैनन् बन्दी प्रत्यक्षीकरणजस्तो संकटकालमा पनि रोक्न नपाइने मौलिक अधिकार को समेत हनन भएको छ ।'

सर्वोच्च अदालतमा कात्तिक ८ गतेदेखि न्यायाधीशहरूले इजलास बहिस्कार गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायालयको नेतृत्व गर्न असक्षमता देखाएकाले राजीनामा गर्नुपर्ने भन्दै सबै न्यायाधीशले इजलास बहिस्कार गर्दै आएका थिए । नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायी पनि विरोध प्रदर्शन गरिरहेका छन् । प्रधानन्यायाधीशले भने राजीनामा नगर्ने अडान राखिरहेका छन् । यसै विषयमा एमालेले महाधिवेशनबाट खेद प्रस्ताव पारित गरेको हो ।

प्रकाशित : मंसिर १४, २०७८ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्

महोत्तरीबाट लागूऔषधसहित बालक पक्राउ 

सुनिता बराल

महोत्तरी — महोत्तरीको सम्सीबाट लागूऔषधसहित बालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका ६ बस्ने १३ वर्षीय शनी नेपाली रहेका महोत्तरी प्रहरीले जनाएको छ ।

जिल्लाको भारतीय सीमानाका सम्सीबाट गौशाला बजारतर्फ सवार अटो रिक्सालाई जाँच गर्ने क्रममा किशोरले कम्बरमा लगाएको पेटीभित्र कालो प्लास्टिकमा लुकाएको लागूऔषध भेटिएपछि उनलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए । उनका अनुसार बालको साथबाट ४ पत्ता नाइट्रोभेट (६० पिस) र २ पत्ता स्पास्मो प्रोक्सिभन (१६ पिस) टेबलेट बरामद भएको छ ।

अस्थायी प्रहरी पोष्ट कठ्ठुधारबाट खटिएको प्रहरीले शंकाको आधारमा उनलाई जाँच गरेको प्रहरीले जनाएको छ । उनी अहिले प्रहरीकै नियन्त्रणमा रहेको र थप अनुसन्धान जारी रहेको डिएसपी विष्टले बताए ।

प्रकाशित : मंसिर १४, २०७८ १८:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×