एमाले महाधिवेशन

ओली दोस्रो पटक एमाले अध्यक्षमा विजयी

ओलीले यसअघिको नवौं महाधिवेशनमा नेता माधवकुमार नेपाललाई ४६ मतले हराएर विजयी बनेका थिए ।
कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेको १० औं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । सर्वसम्मत हुने ओलीको आंकाक्षामा भीम रावलले चुनौती खडा गरेपछि उनी महाधिवेशनमा मंगलबार भएको मतदानबाट बहुमतले विजयी भएका हुन् ।

उनले अहिलेसम्म १८३७ मत ल्याएका छन् । रावलले २२३ मत पाएका छन् । स्रोतका अनुसार गणना गरेको मतको रुजु भइरहेकोले प्राप्त मतको संख्या बढ्न सक्नेछ ।

२०७१ सालमा भएको एमालेको नवौं महाधिवेशनबाट पहिलो पटक अध्यक्ष बनेका ओली २०७५ सालमा माओवादी केन्द्रसँग भएको पार्टी एकतापछि पनि निरन्तर अध्यक्ष नै थिए । एमाले र माओवादी केन्द्रको एकता गत वर्ष फागुनमा अदालतको आदेशका कारण भंग भएपछि एमालेले १०औं महाधिवेशन गरेको हो ।

यो महाधिवेशनमा ओली सर्वसम्मत अध्यक्ष बन्न चाहन्थे । पार्टीभित्र विभिन्न मनोविज्ञानका नेताहरू रहेकाले तीनलाई व्यवस्थापन गर्न भन्दै ओलीले केन्द्रीय कमिटी नै आफूले प्रस्तावित गरे ।

तर, उनको प्रस्ताव रावललगायतका नेताले अस्वीकार गरेपछि एमाले महाधिवेशनमा चुनावको अवस्था सिर्जना भएको हो । ओलीको गत आइतबार घोषणा गरेको सूचीअनुसार धेरै नेताहरू निर्वाचनमा सर्वसम्मत चयन भए । तर, ओलीको आफू सर्वसम्मत हुने इच्छा भने पूरा भएन । उनले नेता भीम रावलसँग प्रतिस्पर्धा गरे ।

ओलीले यसअघिको नवौं महाधिवेशनमा नेता माधवकुमार नेपाललाई ४६ मतको अन्तरमा हराएर विजयी बनेका थिए । यसपटक रावलसँग भने उनको फराकिलो मतअन्तर भयो । ओलीले आफूलाई निर्विकल्प ठानेका थिए ।

यसअघि गोदावरीमा भएको विधान महाधिवेशनबाटै ओलीलाई निर्विकल्प नेतृत्वको माहोल बनाइएको थियो । निर्विकल्प बन्ने नाममा पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा समेत अंकुश लगाउने कोसिस भएपछि ओलीविरुद्ध उम्मेदवारी पर्ने स्थिति देखा परेको हो ।

माधव नेपाल समूहमा रहेका रावल १० बुँदे सहमति गरेर एमालेमै बस्ने निर्णय गरेका थिए । त्यसपछि पार्टीभित्रको विगतको संरचना अनुसार आफूले भूमिका पाउनुपर्ने माग गर्दै आएका थिए । तर ओलीले त्यसअनुकूल भूमिका नदिएपछि रावल चिढिंदै आएका थिए । रावलको असहमतिको त्यही स्वर अहिले ओलीका लागि महाधिवेशनमा चुनौतीको रुपमा प्रकट भएको हो ।

यो महाधिवेशनबाट ओलीले आफूअनुकूलको केन्द्रीय कमिटी तयार गरेका छन् । तर, उनको यो प्रयासलाई आलोचकहरूले एमालेले वर्षौंदेखि गर्दै आएको लोकतान्त्रिक अभ्यासमा लागेको कालोधब्बाको रुपमा पनि चित्रण गरिरहेका छन् ।

प्रकाशित : मंसिर १४, २०७८ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्

सिन्धुलीमाडीको आगलागी ५ घण्टापछि नियन्त्रणमा

राजकुमार कार्की

सिन्धुली — ५ घण्टाको लगातार प्रयासपछि सिन्धुलीको कमलामाई नगरपालिका ६ रातमाटामा रहेको शाह आयरन एण्ड इलेक्ट्रिक सेन्टरमा मंगलबार बिहानदेखि भएको आगलागी नियन्त्रणमा आएको छ ।

छिमेकी जिल्ला रामेछाप, दुधौली नगरपालिका र कमलामाई नगरपालिकाको गरी तीनवटा दमकलकबाट पानी छर्किएर आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ५ घण्टासम्म आगलागी हुँदा हार्डवेयर पसलको करोडौंको धनमाल जलेर नष्ट भएको बताइएको छ ।

प्रहरीका अनुसार हर्डवेयरको गोदाममा प्रज्वलनशील सामान तथा पाइप, प्लाष्टिक, प्लाइउड लगायत आगोले चाँडै टिप्ने सामान भएकाले आगलागी पूरै नियन्त्रण लिन समय लागेको हो । तीनवटा दमकलले तीन तिरबाट पानी छ्यापेपछि बल्ल नियन्त्रणमा आएको सिन्धुली प्रहरीका एसपी गोविन्द थपलियाले बताए । सेना, सशस्त्र र जनपद, नगर प्रहरी, स्थानीयले संयुक्त रुपमा आगोले नभेटेको सामान जोगाउन स्वयंसेवी भई काम गरेका थिए ।

ईम्यानुयल कन्ट्रक्सको ट्यांकरबाटसमेत पानी ओसारिएको थियो । हार्डवेयर, विद्युत, प्लाइ लगायतका सामान गोदाममा भण्डारण गरिएको थियो । हार्डवेयरसँगै रहेको कनिस्का ईन्टरप्राइजेजको गोदाममासमेत आगलागीबाट क्षति भएको छ ।

कनिस्काको हार्ड तथा सफ्ट मदिरा, चाउचाउ, विस्कुट, पेय पदार्थ, लगायतको गरी एक करोडभन्दा बढीको सामान आगलागीमा परी नष्ट भएको छ । आगलागी भएपछि मानिसको भीड बढेर अवरुद्ध भएको बीपी राजमार्गसमेत खुलेको छ । विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ ।

सिन्धुलीमाडीमा आगलागी

प्रकाशित : मंसिर १४, २०७८ १५:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×