कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
एमाले महाधिवेशन

पदाधिकारी ‘लुम्बिनीमय’, कर्णाली शून्य

१९ सदस्यीय पदाधिकारीमा सातजना लुम्बिनीका मात्र छन् ।

काठमाडौँ — एमालेको १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीमा अधिकांश लुम्बिनी प्रदेशका परेका छन् । १९ सदस्यीय पदाधिकारीमा सातजना लुम्बिनीका मात्र छन् । उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवमा लुम्बनीकै नेताहरू छन् । ६ जना उपाध्यक्षमध्ये दुईजना लुम्बिनीका छन् ।

पदाधिकारी ‘लुम्बिनीमय’, कर्णाली शून्य

उपाध्यक्ष विष्णु पौडेल रुपन्देहीका हुन् भने अर्का उपाध्यक्ष युवराज ज्ञवालीमा दाङका हुन् । पौडेल यसअघि उपमहासचिव थिए । ज्ञवाली उपाध्यक्षमै दोहोरिएका हुन् । दाङबाटै प्रतिनिधित्व गर्ने शंकर पोखरेल महासचिव बनेका छन् । उनी यसअघिको नवौं महाधिवेशनमा उपमहासचिव पदमा हारेका थिए । यसपटक अध्यक्ष ओलीको विश्वास जितेपछि उनी सिधै महासचिव बन्ने मौका पाए ।

उपमहासचिव बनेका प्रदीप ज्ञवालीमा पनि लुम्बिनी प्रदेशकै हुन् । गुल्मीबाट प्रतिनिधित्व गर्ने उनी यसअघि सचिव थिए । गुल्मीकै गोकर्ण विष्ट सचिव बनेका छन् । उनी नवौँ महाधिवेशनमा सर्वाधिक मत ल्याएर सचिव बनेका थिए । यसपटक उनी सचिवमै दोहोरिएका हुन् । रुपन्देहीका छविलाल विश्वकर्मा पनि सचिव बनेका छन् । उनी यसअघि एमाले स्थायी कमिटी सदस्य थिए । पूर्वमाओवादी समूहबाट एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी पनि सचिव बनेका छन् । उनी अर्घाखाँचीका हुन् । तत्कालीन माओवादी केन्द्रमा सचिवसम्म भइसकेका रायमाझी अहिले एमालेको दसौं महाधिवेशनमा सचिव बन्ने अवसर पाएका हुन् ।

पदाधिकारीमा निर्वाचितहरूमध्ये दाङ, रुपन्देही र गुल्मीका दुई–दुई जना परेका छन् । रुपन्देहीबाट उपाध्यक्ष पौडेल र सचिव विश्वकर्मा परेका छन् । दाङबाट उपाध्यक्ष ज्ञवाली र महासचिव पोखरेल छन् । गुल्मीबाट प्रदीप ज्ञवाली र विष्ट परेका छन् ।

केन्द्रीय आयोगको मुख्य पदमा पनि लुम्बिनी छुटेको छैन । अनुशासन आयोगको उपाध्यक्षमा रुपन्देहीका नेत्र पन्थी चयन भएका छन् । त्यस्तै केन्द्रीय लेखा आयोगको उपाध्यक्षमा कपिलवस्तुका विष्णु पन्थी चयन भएका छन् ।

कर्णाली प्रदेशबाट पदाधिकारीमा कोही पनि परेका छैनन् । वाग्मती प्रदेशबाट वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षमा रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे, उपमहासचिवमा विष्णु रिमाल छन् । त्यस्तै, प्रदेश नम्बर १ बाट अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवास नेम्बाङ र सचिवमा योगेश भट्टराई छन् । प्रदेश २ मा सचिव रघुवीर महासेठ र गण्डकी प्रदेशमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिव पद्मा अर्याल छन् । सुदूरपश्चिमबाट लेखराज भट्ट सचिव छन् ।

प्रकाशित : मंसिर १४, २०७८ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?