एमाले महाधिवेशन : मतदानमा सहभागी भएनन् ३९ प्रतिनिधि- समाचार - कान्तिपुर समाचार

एमाले महाधिवेशन : मतदानमा सहभागी भएनन् ३९ प्रतिनिधि

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)को दसौं महाधिवेशनअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ । नेतृत्व चयनका लागि भएको मतदानमा ३९ जना प्रतिनिधि अनुपस्थित भएका छन् ।

एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार २१५३ मतदातामध्ये २११४ जनाले मतदान गरेका हुन् ।

मंगलबार बिहान ४ बजे केपी शर्मा ओलीले विद्युतीय मतदान गरेपछि सुरु भएको मतदान प्रक्रिया केही बेरअघि सम्पन्न भएको हो । बिहान २ बजेदेखि चुनाव हुने बताइए पनि ४ बजेलाई सरेको थियो । एमाले दसौँ महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार करिब ३ घण्टामा पूर्ण नतिजा आइसक्ने छ ।

पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भएको हो । त्यस्तै, विभिन्न क्लस्टरका केन्द्रीय सदस्यमा पनि मतदान भइरहेको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका थिए ।

त्यस्तै, ६ जना उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको थियो भने ७ सचिवका लागि ९ नेताले उम्मेदवारी दर्ता गराएका थिए । एमालेका वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव सर्वसम्मत निर्वाचित भएका छन् । अधिकांश क्लस्टरबाट केन्द्रीय सदस्य निर्विरोध निर्वाचित हुँदा केहीमा मात्रै चुनाव हुने भएको छ ।

खुला सदस्य ८४ जनाका लागि १०५ जनाले उम्मेदवारी दर्ता गराएका थिए । त्यस्तै, प्रदेश १ खुला र महिला क्लस्टरमा निर्वाचन भएको हो । सुदूरपश्चिमको महिला क्लस्टरमा पनि निर्वाचन भएको छ । दलित खुला सदस्य, थारु खुला सदस्य, पिछडिएको क्षेत्र खुला सदस्यका लागि पनि निर्वाचन भएको छ ।

प्रकाशित : मंसिर १४, २०७८ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्

मासियो मौलिकता

भूकम्पपछिको पुनर्निर्माणका क्रममा जथाभावी कंक्रिटका घर बनाइँदा ‘सम्पदा बस्ती’ भनेर चिनिने दोलखा ‘कंक्रिट बस्ती’ मा परिणत
केदार सिवाकोटी

दोलखा — भूकम्पअघिसम्म प्राचीन दोलखा सहरमा मौलिक घरहरू प्रशस्तै थिए । २०७२ वैशाख १२ मा आएको भूकम्पले अधिकांश घर भत्किए । पुनर्निर्माण गरिँदा प्राचीनता मासेर आधुनिक शैली अपनाइयो । आधुनिक र कंक्रिटका मात्रै घर ठडिँदा ‘सम्पदा बस्ती’ भनेर चिनिने दोलखा ‘कंक्रिटको बस्ती’ मा परिणत भएको छ । 

यसअघि २०२१ मा भीषण आगलागी हुँदा यहाँका धेरै ऐतिहासिक घरहरू जलेर नष्ट भएका थिए । त्यतिबेला पनि ती घरको पुनर्निर्माणमा चासो दिइएको थिएन । अहिले ती घरहरूको भग्नावशेषसमेत भेटिँदैन । मल्लकालीन अभयपुर राज्यका राजा इन्द्रसिंह देवको जन्मघरसमेत पुनर्निर्माण हुन नसकेको स्थानीय जानकार तीर्थनारायण जोशी बताउँछन् । ‘लिच्छवि, मल्ल र शाहकालीन ऐतिहासिक सहर हो दोलखा,’ उनले भने, ‘यहाँका सबै प्राचीन सम्पदा र अवशेष लोप हुने अवस्थामा पुग्दै छन् ।’

इतिहास शिरोमणि बाबुराम आचार्यले उल्लेख गरेअनुसार १६ औं शताब्दीमा नेपालको पहिलो सिक्का निष्कासन गरी विनियम गरेको टक्सार घर एक पाखो भूकम्पले भत्काएर खण्डहरजस्तै बनेको छ । कुनै पनि बेला उक्त घर भत्कन सक्ने जोशी बताउँछन् । उनका अनुसार भूकम्पकै कारण भग्नावशेष बनेको कप्तान धनमान सिंहको डोकुलुङ्गा पुरान्छे, भीमसेनथान नजिकैको श्रेष्ठ खलकहरूको पुरान्छे पनि टक्सारकै अवस्थामा छन् । ‘दोलखा नेवार बस्ती हो, सबै घरहरू साझा छन्,’ उनले भने, ‘साझा घरहरू इतिहास बोकेका छन् । तर अहिले भागबन्डामा कुरा नमिल्दा यस्ता घरहरू भग्नावशेष हुने खतरामा छन् ।’

टक्सार, कुमारी, इन्द्रसिंह देव जन्मेको घरलगायत धेरै घरहरू साझा व्यक्तिका घरहरू हुन् । इतिहास बोकेका यस्ता धेरै घरहरू खण्डहर बनेका छन् । तर अझै पुनर्निर्माण अभावमा बजारक्षेत्रमै यस्ता धेरै घरहरू छन् । जोशी यहाँको सम्पदा र मौलिकता मासिँदै गएकोमा स्थानीय तहलाई जिम्मेवार मान्छन् । ‘विगतमा आगलागीले ऐतिहासिक घरहरू ध्वस्त भए, फेरि बनाइएन,’ उनले भने, ‘भूकम्पपछि बाँकी मौलिक घर तथा सम्पदा निर्माण स्थानीय तहले गर्नुपर्ने हो ।’

स्थानीयले आफूखुसी घर बनाउँदै गएपछि कंक्रिटका घर मात्रै बनेका हुन् । यसले यहाँको मौलिकता मासिँदै गएको उनको गुनासो छ । राजारानीको दरबार भएको राजकुलेश्वरमा अहिले पिलर हालेर कंक्रिटको घर बनेको छ । केही वर्षयता दर्जनभन्दा बढी पाटी संरक्षण अभावमा ढलेका छन् । हाल ती स्थानमा व्यक्तिका घरआँगन छन् । किराँत, मल्ल र शाहकालीन मठमन्दिर नासिए भने धारा र ढलहरू पुरिएका छन् । यी स्थानमा अहिले व्यक्तिका निजी संरचना छन् ।

भूकम्पपछि बजारको बाटोसमेत मिचिने क्रम बढेको स्थानीय बताउँछन् । जात्रा पर्व चलाउनै मुस्किल पर्छ । आँखैअगाडि यहाँका धेरै सम्पदा मासिएको स्थानीय भरत प्रधान बताउँछन् । ‘मूर्तिहरू, सहरका कला, संस्कृति, इतिहास बोकेका घरहरूसमेत मासिँदै गए,’ उनले भने, ‘सम्पदा बस्ती भनिएको छ तर इतिहास मासिँदा सबै चुप छन् ।’

दोलखाका बजारका अधिकांश घरहरू इँटा र कंक्रिटले बनाएर रातो जस्ता लगाइएका छन् । बाहिरबाट हेर्दा झलक्क राम्रो देखिन्छ । तर मौलिकताविहीन छन् । भूकम्पले भत्काएका त्रिपुरासुन्दरी, तलेजु, कुमारी घर, नाटेश्वरी, मच्छिन्द्रनाथलगायत पुरातात्त्विक महत्त्वका मठमन्दिर र जात्रा निकाल्ने घरहरू भने पुरानै शैलीमा पुनर्निर्माण गरिएको छ ।

प्रकाशित : मंसिर १४, २०७८ ११:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×