कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

प्रतिनिधिले जानेको, नेताले नछानेको व्यक्ति हुँ : बिन्दा पाण्डे

'पुरूष भएर जन्मँदा उत्कृष्ट, महिला भएर जन्मँदा त्योभन्दा अलि तल, लैंगिक अल्पसंख्यकको पहिचान बनाउँदा अमानवीय व्यवहार गर्ने व्यक्ति नेतृत्व तहमा अझै हाम्रो पार्टीमा हुनुहुन्छ ।'

काठमाडौँ — एमाले महाधिवेशनमा एकतिहाइ महिला सहभागिता हुनुपर्ने माग गरिरहेका महिला नेताहरुमा उत्साह घटेको छ । सहमतिका नाममा पदाधिकारीमा महिला सहभागिता अपेक्षित नभएको गुनासो आइरहेकै बेला नेता बिन्दा पाण्डेसँग गरिएको कुराकानी :

प्रतिनिधिले जानेको, नेताले नछानेको व्यक्ति हुँ : बिन्दा पाण्डे

पदाधिकारीमा एकतिहाइ महिलाको दाबी थियो, त्यो त भएन नि ?

निर्वाचनमा जाने स्थितिमा एकतिहाइ उम्मेदवारी दिने तयारी थियो तर जान पाएनौं । हलले सूची तयार गर्ने सर्वाधिकार अध्यक्षलाई दियो । उहाँले जोजो सहज हुन्छन्, उनीहरूलाई टिममा राख्नुभयो । त्यसको विपक्षमा जानुको खास अर्थ थिएन । हलमा प्रस्तुत भएको सूचीमा अरूले फाराम भर्ने भनेको असहमति देखाउन हो । हामीले जुन सहभागिताको कुरा गरेका थियौं, त्यो असहमति देखाउन होइन । त्यो पदमा रहेर काम गर्न सक्छौं भनेर दाबी गरेका हौं । सबै क्षेत्रमा काम गर्ने महिलामा एकता गरौं भनेका थियौं, त्यो भएन । त्यो

कमजोर पक्ष पनि रह्यो । महाधिवेशन स्थलमा आइसकेपछि जुन दाबी गरेका थियौं, अधिकांश प्रतिनिधिले ठीक गर्नुभयो भनेका थिए । निर्वाचन भएको भए हामी सफल हुन्थ्यौं । कसरी ?

तीन साताअघि महिला सहभागिताको कुरा के छ भनेर शीर्ष नेतालाई सोधेका थियौं । क्लस्टरमा ७३ जना थियो, २ जना पुगेन । निर्वाचन आयोगका साथीहरूले ७५ पुर्‍याउनुपर्छ भन्नुभयो । त्यसबेला एक जना पदाधिकारीमा आउनुहुन्छ भन्नुभएको थियो । हामीले दाबी गर्नुपर्छ, काम गर्न सक्छौं भनेर पार्टीले थाहा पाउनुपर्छ । महाधिवेशनबाट जिम्मेवारी लिएर काम गर्नुपर्छ भनेर हामीले दाबी गर्‍यौं । त्यो कुरा पार्टीभित्र र बाहिर सन्देश थियो ।

अध्यक्ष केपी शर्मा ओलीले हलमा सूची प्रस्तुत गर्दा किन विरोध गर्नु भएन ?

मैले जुन पद (उपमहासचिव) दाबी गरेको थिएँ, निर्वाचन गरे त्यसमा प्रतिस्पर्धा गरेर राम्रै परिणाम निकाल्छु भन्नेमा म ढुक्कै थिएँ । हामीले सूची बनाउँदा आउँछ भन्ने अपेक्षा थिएन । निर्वाचन भएको भए पाँच जनाले उम्मेदवार दिने तयारी गरेका थियौं, पाँचै जना प्रतिस्पर्धामा जान्छौं भन्नेमा हामीलाई विश्वास थियो ।

तपाईं पदाधिकारीमा किन पर्नु भएन ?

प्रतिनिधिले जानेको, नेताले नछानेको व्यक्ति हुँ म । अधिकांश प्रतिनिधि साथीको पछि नहट्नुस् भन्ने सन्देश थियो । तीन जना महासचिवमध्ये मैले उम्मेदवारी दिन पाएको भए नतिजा सकारात्मक आउँथ्यो ।

तपाईंलाई अन्याय भएको जस्तो लाग्दैन ?

म अन्यायविरुद्ध जुझ्ने भनेर आन्दोलनमा लागेको हुँ । जुन समुदायको कुरा उठाउँछु, त्यो समुदायले हाम्रो प्रतिनिधित्व गर्नुपर्छ है भनेर भनिराख्छ नि । पुरुष भएर जन्मँदा उत्कृष्ट, महिला भएर जन्मँदा त्योभन्दा अलि तल, लैंगिक अल्पसंख्यकको पहिचान बनाउँदा अमानवीय व्यवहार गर्ने व्यक्ति नेतृत्व तहमा अझै हाम्रो पार्टीमा हुनुहुन्छ । पितृसत्ताको जडलाई हाम्रो नेतृत्व तहले हटाउन सकेको छैन । एकतिहाइ महिला सहभागिताको कुरा उठायौं, शीर्ष नेतृत्व तहले महिला साथीहरूलाई ‘धेरै महिलावादी नहोऔं’ भन्ने अभिव्यक्ति दिँदा उहाँहरूको पितृसत्तामा धक्काचाहिँ लागेको छ । तर जुन तहको धक्का लाग्नुपर्थ्यो, हाम्रो आन्दोलनले दिन सकेको छैन ।

नेताहरूको चाकरी गर्ने रोग महिलाहरूमा पनि सरेको हो र ?

योचाहिँ समाजको एक खालको प्रवृत्ति हो । यसलाई लिंग छुट्याएर हेर्न हुँदैन । तर अहिलेको संस्कार वरिपरि घुमिराखेर झुकेर नमस्कार गरिदिएदेखि, प्रतिकार नगरिदिएदेखि, नेतृत्वले जे भन्छ, त्यसलाई हस् हजुर भनेपछि ती व्यक्ति नजिकको कार्यकर्ता हुने देखिन्छ । ती व्यक्तिले दिएको जिम्मेवारीको काम गर्छ भन्ने मान्यता स्थापित भएको छ ।

अझै महिला सहभागिता बढ्ने सम्भावना छ ?

महाधिवेशन हलको अनुमतिअनुसार अध्यक्षले आफूलाई काम गर्न सहज हुने टिम बनाउनुभयो । नवौं महाधिवेशनदेखि नै यो टिम भयो भने मलाई काम गर्न सहज हुन्थ्यो भनेर अघि बढाइएको तर त्यतिबेला सफलता नपाएका साथीलाई अहिले तत्तत् ठाउँमा समावेश गरे टिम बनाउनुभएको छ । स्थायी र पोलिटब्युरो बनाउँदा आफ्नो सहजताका आधारमा टिम बनाउनुस् तर परिणाम निकाल्नुस् भन्छु म ।

प्रकाशित : मंसिर १४, २०७८ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?