एमाले नेतृत्व चयनका लागि मतदान सम्पन्न- समाचार - कान्तिपुर समाचार

एमाले नेतृत्व चयनका लागि मतदान सम्पन्न

कान्तिपुर संवाददाता

चितवन — नेकपा (एमाले)को दसौं महाधिवेशनअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ । मंगलबार बिहान ४ बजे केपी शर्मा ओलीले विद्युतीय मतदान गरेपछि सुरु भएको मतदान प्रक्रिया केही बेरअघि सम्पन्न भएको हो ।

निर्वाचनका लागि २१५३ जनाको अन्तिम मतदाता नामावली प्रकाशित भए पनि २११४ मत मात्र खसेको केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले जनाएका छन् । बिहान २ बजेदेखि चुनाव हुने बताइए पनि ४ बजेलाई सरेको थियो । एमाले दसौँ महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान सकिएलगत्तै मतदान गणना हुनेछ ।

पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भएको हो । त्यस्तै, विभिन्न क्लस्टरका केन्द्रीय सदस्यमा पनि मतदान भइरहेको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका थिए ।

त्यस्तै, ६ जना उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको थियो भने ७ सचिवका लागि ९ नेताले उम्मेदवारी दर्ता गराएका थिए । एमालेका वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव सर्वसम्मत निर्वाचित भएका छन् । अधिकांश क्लस्टरबाट केन्द्रीय सदस्य निर्विरोध निर्वाचित हुँदा केहीमा मात्रै चुनाव हुने भएको छ ।

खुला सदस्य ८४ जनाका लागि १०५ जनाले उम्मेदवारी दर्ता गराएका थिए । त्यस्तै, प्रदेश १ खुला र महिला क्लस्टरमा निर्वाचन भएको हो । सुदूरपश्चिमको महिला क्लस्टरमा पनि निर्वाचन भएको छ । दलित खुला सदस्य, थारु खुला सदस्य, पिछडिएको क्षेत्र खुला सदस्यका लागि पनि निर्वाचन भएको छ ।

प्रकाशित : मंसिर १४, २०७८ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्

देउवाकै विश्वासपात्र ‘गुटबन्दी’ मा

सुदूरपश्चिम कांग्रेसका दुई नेता, जो केन्द्रमा एउटै समूहमा छन् तर जिल्लामा कट्टर विरोधी । आफू जित्नभन्दा पनि एक–अर्कालाई हराउन बढी लागिपर्छन् ।
भवानी भट्ट

कञ्चनपुर — कांग्रेस सभापति शेरबहादुर देउवाका दुई विश्वासपात्र हुन्– एनपी साउद र रमेश लेखक । सुदूरपश्चिममा उनीहरू देउवाका ‘दाहिने हात’ जस्तै हुन् । पार्टीमा हुने हरेक समस्या समाधानमा यी दुई नेता जहिल्यै देउवासँंगै हुन्छन् ।

कञ्चनपुरमा भने यी दुई नेता एक–अर्काका कट्टर विरोधीजस्तै छन् । दुवै नेता एक–अर्कामाथि हाबी हुन खोज्छन् । पार्टीको आन्तरिक र बाह्य प्रतिस्पर्धामा यी दुई फरक ध्रुवमै उभिने गर्छन् ।

पछिल्लो पटक कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत वडादेखि पालिका हुँदै प्रदेशसभा प्रतिनिधि, क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र जिल्ला समितिको अधिवेशनका क्रममा पनि यी दुई एकअर्काका प्रतिस्पर्धी नै देखिए । वडास्तरदेखि एक–अर्का निकटकालाई रोक्न दुवै पक्षले सक्दो प्रयास पनि गरे । स्थानीय तहको निर्वाचन होस् वा संसदीय निर्वाचन– दुवैलाई अन्तरघातको आरोप पनि लाग्ने गर्छ ।

महाधिवेशन प्रतिनिधिको निर्वाचनमा लेखक र साउदको गुटबन्दीका कारण जिल्ला सभापतिदेखि पार्टीका पुराना नेतासमेत पराजित भए । दुवैले आफ्नो वर्चस्व भएको क्षेत्रमा एकअर्कालाई निषेधजस्तै गरे । ‘दुवैले व्यक्तिगत राजनीतिलाई व्यवस्थापन गर्न खोज्दा अन्तरद्वन्द्व जस्तै भएको छ,’ दुई कार्यकाल पार्टीको जिल्ला सचिव भइसकेका भोजराज बोहराले भने, ‘पार्टी र कार्यकर्ताको भन्दा पनि भावी राजनीतिको चिन्ता हो ।’

दुई नेताबीचको द्वन्द्वको असर स्थानीय तह र संसदीय निर्वाचनमा पनि देखिने उनले बताए । दुवै नेतालाई देउवाको उत्तराधिकारीका रूपमा हेरिन्छ । यही कारणले पनि एकअर्कोलाई कमजोर पारेर मात्रै राजनीतिक उचाइ लिन सकिने उनीहरूको बुझाइ रहेको कांग्रेसकै नेताहरू बताउँछन् । ‘दुवैलाई आफू शक्तिशाली देखाउनुपरेको छ,’ कांग्रेसका पुराना नेता गोपालसिंह गुरुङले भने, ‘तर कार्यकर्तालाई काम विभाजित गरेर कसले शक्ति आर्जन गर्न सक्छ, त्यही सफल राजनीति हो ।’

शनिबार सम्पन्न जिल्ला अधिवेशनमा पनि यी दुई नेताले गुटगत प्यानल खडा गरे । लेखकले पदम बोगटीको नेतृत्वमा प्यानल खडा गरे भने साउदले बहादुरसिंह थापाको नेतृत्वमा । साउदलाई संस्थापनइतरका नेता दिवन विष्टले पनि साथ थिए । विष्ट र साउदले पालिकादेखि प्रदेशसभा प्रतिनिधि, क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र जिल्ला अधिवेशनसम्म सहकार्य गर्दै आएका छन् ।

सभापतिमा लेखकनिकट बोगटी निर्वाचित भए । उपसभापति र सचिवमा साउदनिकट उम्मेदवारहरू विजयी भए । सहसचिवमा लेखक र साउदका एक/एक जना विजयी भए । ‘आफ्ना कार्यकर्तालाई सबैले जोगाउन र माथि उठाउन खोज्छन्,’ गुरुङले भने, ‘यसकै असर अहिले विभिन्न तहको अधिवेशनमा देखियो ।’ दुई नेताको गुटबन्दीले महाधिवेशन प्रतिनिधिमा पार्टीका जिल्ला सभापति हरिप्रसाद बोहरा नै पराजित भए । उनी अर्को कार्यकाल सभापतिको तयारीमा थिए । बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि उनको विकल्पमा लेखकले बोगटीलाई उम्मेदवार बनाएका हुन् । जबकि जिल्ला अधिवेशनको अघिल्लो दिनसम्म उनी साउदकै खेमामा थिए ।

महाधिवेशन प्रतिनिधिमा दुवैले आफ्नो निर्वाचन क्षेत्रमा एक–अर्काका उम्मेदवारलाई पराजित गर्न लागिपरे । लेखकको पुर्ख्यौली घर बैतडी हो । साउदको डडेलधुरा । दुवै नेताले पार्टीभित्र बैतडी र डडेलधुराका सेन्टिमेन्टसमेत क्यास गर्दै आएका छन् । ‘दुई नेताको जुँगाको लडाइँमा युवा कार्यकर्ता पेलिँदै छन्,’ कांग्रेस नेता तर्कराज भट्टले भने, ‘कार्यकर्ताको भर्‍याङ उक्लेर कांग्रेसलाई खेलमैदान बनाए ।’ अहिले देखिएको गुटबन्दीले भविष्यमा दुवै नेता आफू जित्नेभन्दा पनि एकअर्कालाई हराउन लागिपर्ने उनले बताए ।

प्रकाशित : मंसिर १४, २०७८ १०:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×