छलफलमा अध्यक्ष ओली र नेता रावल

मंसिर १२, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेको जारी १०औं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिने आकांक्षीहरुको डेलिगेसन सकिएसँगै अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावल छलफल गर्दैछन् ।

नेकपा एमालेको जारी १०औं महाधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयनको प्रयास गरिरहँदा नेता भीम रावलले एक्लै भएपनि अध्यक्षको उम्मेदवारी दिने अडान राख्दै आएका छन् ।

आइतबार बन्दसत्र सुरु हुनुअघि नै उनका समर्थक प्रतिनिधिहरूले भीम रावलको पक्षमा भोट अपिल गर्दै पर्चासमेत बाँडिसकेका छन् । 

ओली समूहभित्र शीर्ष नेताहरूबीच वरिष्ठ उपाध्यक्ष, महासचिव लगायत पदमा आकांक्षा धेरै हुँदा कुरा नमिलेपछि बन्दसत्र सुरु हुन सकेको छैन ।

आइतबार मध्याह्न १२ बजेतिर नेता लेखराज भट्टसहित पूर्वमाओवादीको टोली अध्यक्ष ओलीसँग छलफल गरेर बाहिरिएको छ । बन्दसत्र सुरु हुनुअघि नै उनीहरूले आफ्नो पक्षका माग लिएर छलफलका लागि गएका हुन् ।

अध्यक्ष ओली र प्रदेशहरुका नेताबीचको छलफल सकिएको छ । केहीबेर अघि मात्रै सुदूरपश्चिम र प्रदेश २ का नेताहरु छलफलबाट बाहिरिएका छन् ।

केहीबेर अघि अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको थियो । 

त्यसभन्दा अघि ओली निकट नेताहरूले पनि ओलीसँग आइतबार बिहानै छलफल गरिसकेका थिए । विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल लगायत नेताहरूले ओलीसँग भेटेर आफ्नो अडान राख्दै आएका छन् ।

एमाले महाधिवेशनएमाले

कान्तिपुर

Link copied successfully