जनसमर्थन कोसँग छ भन्ने कुरा प्रकट भयो : ओली

मंसिर ११, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले जनताको समर्थन कोसँग छ भन्ने कुरा प्रकट भएको बताएका छन् । एमालेको १०औँ महाधिवेशनको बन्दसत्रलाई शनिबार सम्बोधन गर्दै ओलीले एमालेलाई सिध्याइयो भनेर खुसी मनाउनेहरूलाई चुनौती दिइएको बताए । 

महाधिवेशनको उद्घाटन कार्यक्रममा उपस्थित जनता र कार्यकर्ताले नेपालमा जनसमर्थन कोसँग छ भन्ने कुराको प्रकट भएको बताएका हुन् । 'एमाले कमजोर भयो, सिद्धियो । अब एमालेलाई सिध्याइयो भनेर खुसी मनाउनेहरूको खुसीलाई क्षणिक रूपमा परिवर्तन गरिदिने र उनीहरुको स्वप्न भंग गरिदिने जनसमर्थन कोसँग छ भन्ने कुरा अलिकति प्रकट गरिदिएका छौं,' उनले भने । 

बन्दसत्रले मुलुकलाई नेतृत्व गर्नका लागि पार्टीको नेतृत्व चयन गर्नुपर्ने ओलीको भनाइ थियो । उनले बन्दसत्रबाट विधान महाधिवेशनले तय गरेका नीति र कार्यक्रमको कार्यान्वयन गर्नुपर्ने पनि बताएका छन् । 'बन्दसत्रबाट विधान महाधिवेशनले पारित गरेका नीति र कार्यक्रम कार्यान्वयन गर्दै  देश बनाउनका निम्ति नेतृत्व गर्ने' निर्णय गर्नुपर्ने उनले बताए । 

नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, आन्तरिक रूपमा जनतालाई सचेत, संगठित र परिचालित गर्दै राजनीतिक समस्याहरूको समाधान ठीक ढंगले दिने नेतृत्व चयन गर्नुपर्ने ओलीको भनाइ थियो । उनले राजनीतिक समस्या समाधान नगरिए प्राप्त उपलब्धि र विकासका प्रयासलाई अलपत्र पारिने गरिएको बताए । 'अग्रगामी परिवर्तन, विकास, सुशासन, स्वच्छता, पारदर्शिताको लागि यस आन्दोलनलाई सही ढंगले अगाडि बढाउन यो महाधिवेशले नेतृत्व निर्माण गर्नुपर्छ जसले यी अभिभाराहरू एकताबद्ध भएर, अनुशासित पार्टी एकताबद्ध भएर चुनौतीको सामना गर्न सकोस् । विकृति, विसंगति र पथभ्रष्टतालाई निमिट्यान्न पार्न सकोस्,' उनले भने । 

आफूलाई असंवैधानिक तरिकाबाट सत्ताबाट बाहिर निकालिएको भन्दै ओलीले राज्यका अंगहरू दुरुपयोग हुन नदिनुपर्ने बताए । उनले भने, 'स्वतन्त्र न्यायालयको दुरुपयोग हुन थाल्यो भने, राज्यका अन्य अंगहरू दुरुपयोग हुन थाल्यो भने विकृत हुन्छन् र तिनले पहिले प्रक्रियागत हिसाबले अशक्त र असफल हुन्छ । त्यसको प्रभाव लोकतान्त्रिक प्रणालीमा पर्छ,' उनले भने । 

पार्टी विशेष परिस्थितिबाट अगाडि बढिरहेको ओलीको भनाइ थियो । उनले विपक्षीहरू असंवैधानिक र अलोकतान्त्रिक रूपमा अगाडि बढिरहेको आरोप पनि लगाएका छन् । 

एमाले महाधिवेशनएमाले

कान्तिपुर

Link copied successfully