काठमाडौँ — एमाले महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक एवं नेता रामबहादुर थापाले पार्टीको विधान महाधिवेशनले एमालेलाई सबैभन्दा ठूलो, अनुशासित र एकताबद्ध पार्टी भएको सन्देश दिएको बताएका छन् । १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा स्वागत गर्दै नेता थापाले विधान महाधिवेशनले ‘जबज’ सही छ भन्ने पुनः पुष्टि गरेको बताए ।
‘दुई महिना पहिले एमालेले पहिलो विधान महाधिवेशन गर्यो । प्रतिगामीहरूको डिजाइन बमोजिम नेकपालाई तीन टुक्रामा विभाजन गरपनि विधान महाधिवेशनले नेकपा एमाले नै सबैभन्दा ठूलो, अनुशासित र एकताबद्ध पार्टी भएको सन्देश दियो,’ थापाले भने, ‘विधान महाधिवेशनले नेपाल संघीय लाकतान्त्रिक गणतन्त्रको स्थापना भएकाले जननेता मदन भण्डारीद्धारा प्रतिपादित नीति एवम् सिद्धान्त सही भएको पुनः पुष्टि गर्यो । विधान महाधिवेशनले विभाजनबाट पार्टीको वैचारिक, राजनीतिक एवम् सांगठनिक शुद्धिकरण र सुदृढिकरण भएको स्पष्ट सन्देश दियो । समाजवादको आधार निर्माण गर्न सिद्धान्त, नीति तथा कार्यक्रमको श्रृंखला प्रस्तुत गर्यो, सार तः जबज लाई पुनः पुष्टि गर्यो ।’
उनले विधान महाधिवेशनले तत्कालिन विषम परिस्थितिलाई सामना र समाधान गर्न ठोस् कार्यक्रम तथा कार्यभार निर्माण गरेको र यो महाधिवेशनले त्यसलाई कार्यान्वयन गर्न सक्ने नेतृत्व चयन गर्नुपर्ने बताए ।
‘जबजको मार्गदर्शनमा समाजवादको अधार निर्माण गरौँ भन्ने मूल निष्कर्षलाई तीन वटा ऐतिहासिक दस्तावेजको रुपमा सर्वसम्मतिले पारित गरेको छ,’ उनले भने, ‘यो महाधिवेशनबाट त्यसको कार्यान्वयन गर्न सक्ने कुशल नेतृत्व चयन गर्नुपर्नेछ ।’
