सभापतिका लागि निधिको घोषणा–पत्र सार्वजनिक

मंसिर ९, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस उपसभापति विमलेन्द्र निधिले आसन्न महाधिवेशनमा सभापतिमा आफूले दिने उम्मेदवारीका कारणहरू खुलाउँदै घोषणा पत्र सार्वजनिक गरेका छन् । निधिले आफ्नो नेतृत्वमा कांग्रेसले आगामी तीनै तहका निर्वाचनमा बहुमत हासिल गर्न सक्ने दाबी गरेका छन् ।

कांग्रेसको महाधिवेशनमा मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ । निधिले बिहीबार बानेश्वरस्थित सचिवालयमा एक कार्यक्रम मार्फत सभापति पदको उम्मेदवारीका लागि आफ्ना एजेण्डासहितको  प्रतिबद्धता र योजनासहितको घोषणा पत्र सार्वजनिक गरेका हुन् । 

निधिले जनतामा संघीय लोकतान्त्रिक गणतन्त्र र त्यस प्रणालीको परिणाम तथा सुशासनको अनुभूति दिलाउन र देशको भौगोलिक विविधता,हिमाल, पहाड, तराई–मधेस, पश्चिमदेखि पूर्वका सबै जनताको भावनात्मक रुपमा जोड्ने कांग्रेस बनाउन आफूलाई सभापतिमा निर्वाचित गर्न आग्रह गरेका छन् । 

उनले अहिले कांग्रेसमा रुपान्तरण, पुस्ता हस्तान्तरण र पुस्तान्तरणमा सहजीकरण गर्ने नेतृत्व चाहिएको भन्दै त्यसकालागि आफू तयार रहेको बताएका छन् ।

‘नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र कांग्रेसप्रति आकर्षित गर्दै सक्रिय रूपमा सहभागी गराइ नेतृत्व विकास गर्न, राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, मिश्रित निर्वाचन, धर्म निरपेक्षता, अहिंसा र शान्तिका मान्यतासहित बनेको संविधान र प्रणालीलाई जनताको हित एवं चाहनाअनुसार सफल कार्यान्वयन गर्न,’ निधिले आफ्नो उम्मेदवारी किन भन्दै सार्वजनिक गरेको घोषणा पत्रमा लेखिएको छ, ‘जनतामा संघीय लोकतान्त्रिक गणतन्त्र र त्यस प्रणालीको परिणाम तथा सुशासनको अनुभूति दिलाउन, जातीय, साँस्कृतिक र धार्मिक विविधतायुक्त समाजभित्रका महिला, दलित, आदिवासी–जनजाति, मधेशी, मुस्लिम, थारू, खस–आर्य, अल्पसंख्यक, अपांगता भएका, पिछडिएका क्षेत्र तथा तेस्रोलिंगी लगायत सबैलाई सम्मानका साथ नेपाली कांग्रेसमा सक्रिय गराउन र समुदायका बीच सद्भाव कायम गर्न ।’

निधिले पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र जनसम्पर्क समितिलाई व्यवस्थित, मर्यादित समयानुकूल, विधिसम्मत, संगठित र सशक्त बनाउँदै देश र जनताको सेवामा विशेष सक्रिय गराइ वर्तमान राजनीतिक परिवर्तनलाई सबल एवं सफल गराउन आफूलाई सभापतिको उम्मेदवारका रुपमा उभ्याएको दाबी गरेका छन् ।

विस्तृतमा पढ्नुहोस् : 

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully