सबैलाई समेटेर सर्वसम्मत गर्न सुझाव

मंसिर ७, २०७८

बबिता शर्मा

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले दसौं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको गृहकार्य गरिरहेका बेला अधिकांश नेता पनि सर्वसम्मतिकै पक्षमा देखिएका छन् । आगामी नेतृत्वलार्ई लिएर केही दिनयता व्यक्तिगत र सामूहिक परामर्श थालेका ओलीलाई भेट्ने धेरैजसो नेताले सबै पक्षलाई मिलाएर लैजान सुझाव दिएका छन् तर ओलीले कसैलाई पनि आश्वासन दिएका छैनन् । जसका कारण पदका आकांक्षी नेताहरू ‘तैं चुप मै चुप’ को अवस्थामा छन् ।

उनीहरूले पार्टीभित्रको शक्ति सन्तुलन (संस्थापन, दसबुँदे सहमतिका पक्षधर पूर्वमाओवादी समूह), नवौं महाधिवेशनमा पाएको जिम्मेवारी र नयाँ पुस्तालाई हेरेर सर्वसम्मत नेतृत्वमा जान सुझाएका छन् । 

सम्मानजनक सर्वसम्मत नभए नेतृत्व चयनलाई लिएर महाधिवेशनमा निर्वाचन हुने र त्यसमा शक्ति सन्तुलनका हिसाबले दसबुँदे सहमति पक्षधर र पूर्वमाओवादी समूहलाई धक्का लाग्न सक्ने नेताहरूको बुझाइ छ । ‘हामीले सम्मानजनक सर्वसम्मतिले मात्र पार्टीलाई बलियो बनाउँछ र एकताको सन्देश दिन्छ भन्ने सुझाव दिएका छौं, सर्वसम्मतिका नाममा कसैलाई पाखा र कसैलाई काखा लगाउँदा समस्या आउँछ,’ आइतबार ओलीलाई भेटेका एक पदाधिकारीले भने, ‘सम्मानजनक रूपमा सबैलाई समेट्न सकिएन भने असन्तुष्टले पार्टी छाडेर जान सक्छन् । त्यसले विभाजित भइसकेको एमालेलाई पुनः क्षति पुर्‍याउन सक्छ भनेर अध्यक्षलाई जानकारी गराएका छौं ।’ 

ओली आफूअनुकूलको सर्वसम्मत नेतृत्वमार्फत शक्तिशाली अध्यक्ष बन्ने योजनामा छन् । उनले आफ्नो नेतृत्वमा पार्टीलाई तीनै तहको चुनावमा पहिलो बनाउने महत्त्वाकांक्षी योजना तय गरेका छन् । पदाधिकारीसहित केन्द्रीय सदस्यका लागि समेत धेरै आकांक्षी देखिएपछि एमालेभित्र नेताहरूले सम्मानजनक सर्वसम्मतिमा जोड दिएका हुन् । अध्यक्ष ओलीकै चाहनामा अधिकांश वडा र पालिकामा सर्वसम्मत नेतृत्व चयन भएका छन् भने महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मतिबाटै छानिएका छन् । वडा, पालिका र प्रतिनिधि चयनमा सर्वसम्मत गर्दा धेरै ठाउँमा शक्ति सन्तुलनलाई ख्याल नगरिएको भन्दै अहिले सम्मानजनक सर्वसम्मतिको विषय उठेको हो ।

उपाध्यक्ष युवराज ज्ञवालीले पछिल्लो परिस्थितिमा सर्वसम्मति नै उपयुक्त विकल्प भएको सुझाव अध्यक्षलाई दिएको बताए । ‘सकेसम्म केन्द्रीय कमिटी, नभए पदाधिकारीमा भए पनि मापदण्ड बनाएर सहमति गरेर जाँदा स्थिति राम्रो हुन्छ । त्यसले पार्टी एकताबद्ध पनि हुन्छ भनेर सुझाव दिएको छु,’ उनले भने । ७० वर्षे उमेर हदका कारण ११ औं महाधिवेशनमा कार्यकारी पदबाट बाहिरिनुपर्ने भएकाले ज्ञवालीले यस पटक वरिष्ठ उपाध्यक्षमा चाहना राखेका छन् । तर, वरिष्ठ उपाध्यक्षमा महासचिव ईश्वर पोखरेलको बलियो दाबी रहेकाले सम्भव नहुँदा उपाध्यक्षमै दोहोरिन चाहेका छन् ।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि सम्मानजनक सर्वसम्मतिबाटै नेतृत्व टुंग्याउन सुझाव दिएकी छन् । हाल कायम १२ पदाधिकारीमध्ये महिला शाक्य मात्रै हुन् । शाक्यको चाहना वरिष्ठ उपाध्यक्षमा छ । तर, पदाधिकारी समावेशी देखाउन र दसबुँदे सहमतिको भावनालाई सम्बोधन गर्न ओलीले शाक्यलाई उपाध्यक्षमै दोहोर्‍याउने सम्भावना रहेको निकट नेताहरूले बताएका छन् । पूर्वमाओवादी नेताहरूले पनि सर्वसम्मतिका लागि ओलीलाई सुझाव दिएका छन् ।

स्थायी कमिटी सदस्य मणि थापाले पार्टीमा भएका सबै पक्षलाई समेटेर सर्वसम्मत रूपमा जाँदा एमाले एकताबद्ध हुने सुझाएका छन् । अर्का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पनि सर्वसम्मतिबाट नेतृत्व टुंगो लगाउनुपर्ने बताए । रायमाझी आफैं पदाधिकारीका आकांक्षी हुन् । उनी सके उपाध्यक्ष, नभए सचिवमा आउन चाहेका छन् । एमाले सचिव पृथ्वीसुब्बा गुरुङले सबै पक्षको प्रतिनिधित्व हुने गरी नेतृत्व छनोट गर्न प्रयास भइरहेको बताए । 

धेरै नेता सर्वसम्मतिको पक्षमा देखिए पनि हालका उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । सर्वसम्मतिको सन्देश दिन रावलको व्यवस्थापन ओलीका लागि बाध्यात्मक बनेको छ । केन्द्रीय सदस्य महेश बस्नेतले युवासहित सबै पक्षलाई समेटेर जान अध्यक्ष ओलीलाई आग्रह गरेको बताए । ‘मेरो प्रस्ताव मध्यमार्गी हो,’ उनले भने, ‘दसबुँदे सहमति गरेकादेखि अन्य पार्टीबाट आएकाहरूलाई पदाधिकारीमा मनोनयनको व्यवस्था गरौं, बाँकी पदाधिकारी प्रतिस्पर्धाबाट छानिँदा राम्रो हुन्छ भनेको छु,’ उनले भने । ओलीनिकट भनिएका बस्नेतले सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एमाले महाधिवेशनएमाले

बबिता शर्मा कान्तिपुर दैनिकमा राजनीतिक ब्यूरोमा कार्यरत छिन् ।

Link copied successfully