महाधिवेशन तयारीका लागि पौडेल, कोइराला र सिंह छलफलमा

मंसिर ४, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंह महाधिवेशनको तयारी छलफलमा जुटेका छन् । आसन्न महाधिवेशनमा सभापतिका आकांक्षी तीन नेता महाधिवेशनको तयारी, क्षेत्र र जिल्ला अधिवेशन तथा टिमबाट साझा उम्मेदवार तय गर्ने विषयमा छलफलमा जुटेका हुन् ।

यसअघि पौडेल समूहका दुई बैठकमा सिंह अनुपस्थित थिए । उनले समूहमा असन्तुष्टि जनाउँदैआएका छन् । पौडेल र कोइरालाले सिंहलाई घरमै पुगेर भेटेपछि सिंह शनिबार सामूहिक रुपमा भेट गर्न तयार भएका हुन् ।

तीन नेताहरूबीच महाराजगञ्जस्थित कोइराला निवासमा भेट तय भएको सचिवालयले जनाएको छ । ‘शेखर कोइराला काठमाडौं बाहिर हुनुहुन्छ । त्यसैले सभापतिका आकांक्षी तीन नेता मात्रै बसेर छलफल हुने भएको छ,’ स्रोतले बतायो ।

बुधबार विराटनगर गएर शुक्रबार बिहान काठमाडौं आएका शेखर शनिबार बिहान फेरि विराटनगर गइसकेका छन् । यसअघि गत शुक्रबार बसेको पौडेल समूहको बैठकमा नेता पौडेलले यथाशीघ्र सभापतिका आकांक्षीहरूबीच साझा उम्मेदार चयन गर्ने विषयमा छलफल गर्ने बताएका थिए ।

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully